हात्ती महोत्सवलाई अन्यथा लिन हुँदैन : मुख्यमन्त्री बानियाँ

हात्ती महोत्सवको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हात्तीको संरक्षण मानिसले नै गर्ने भएकाले अन्यथा नलिन आग्रह गरे ।

पुस ११, २०८२

राजु चौधरी

Elephant Festival should not be viewed in any other way: Chief Minister Baniya

What you should know

सौराहा,चितवन — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हात्ती महोत्सवलाई अन्यथा नलिन पशु अधिकारकर्मीहरुलाई अनुरोध गरेका छन् । 

हात्ती महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले लोकतन्त्रले सबैले आ–आफ्नो विचार राख्न पाउने स्वतन्त्रता रहेको भन्दै हात्तीको संरक्षण मानिसले नै गर्ने भएकाले अन्यथा नलिन आग्रह गरे । पछिल्ला समय पशु अधिकारकर्मीहरूले हात्तीमाथि ज्यादती गरेर महोत्सव आयोजना गरेको भन्दै विरोध गर्दै आइरहेका छन् । विरोधका बाबजुद सुरु भएको महोत्सवको उद्घाटनमा मुख्यमन्त्री बानियाँले महोत्सवको बचाउ गर्दै त्यसको प्रवर्द्धनमा जोड दिए । ‘पशु अधिकारकर्मीहरूले हात्तीमाथि मानव सभ्यताले आक्रमण गर्‍यो कि भन्नुहुन्छ त्यसो होइन, हात्ती हाम्रो साथी हो । जंगलमा खुला रूपमा हिँड्न र बाहिर पनि सँगसँगै प्रवर्द्धन गरेर जानपर्छ,’ मुख्यमन्त्री बानियाँले भने । 

उनले सौराहालाई बागमती प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा लिएको भन्दै यसको प्रवर्द्धनमा प्रदेश सरकार लागि परेको बताए । उनले जिप सफारी चल्ने सवारी साधन मोडिफाई (आकार परिवर्तन) गर्दा व्यवसायीले झमेला व्यहोर्नुपरेको भन्दै त्यसलाई अन्त्य गर्न बागमती प्रदेश यातायात मन्त्रालयमार्फत समस्या समाधान गर्न प्रदेश सरकार अघि बढेको बताए । उनले पर्यावरणसँग जोडिएका वातावरण प्रभाव मूल्यांकन (ईआईए) नगरी बनाइएका पुराना होटलहरुलाई अहिले नयाँ प्रावधानले समस्या परेको जानकारीमा आएको भन्दै त्यसलाई प्रदेश सरकारले सहजीकरण गरिरहेको बताए । मुख्यमन्त्री बानियाँले भारतबाट धेरै पर्यटकहरू नेपाल आउने गरेको भन्दै अन्तरदेशीय सम्बन्ध राखेर भएपनि बागमती प्रदेश सरकार पर्यटन प्रवर्द्धन गर्न तयार रहेको बताए । 

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओम पाण्डेले हात्तीलाई कुनै दुःख नदिइकन कार्यक्रम समापन गरिने बताए । उनले सौराहाको पर्यटन नै हात्तीसँगै जोडिएको भन्दै हात्तीको संरक्षणका लागि पर्यटन व्यवसायीहरू सचेत रहेको बताए । कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरू, मुख्य सचिव, पर्यटन सचिव, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायतले हात्ती महोत्सवले पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए । 

राजु चौधरी चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully