आयोगको ‘निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र’ उद्घाटन

निर्वाचन आयोगले केन्द्रलाई पहिलेको तुलनामा थप बृहत् बनाउँदै शुक्रबार नयाँ स्वरूपमा उद्घाटन गरेको हो ।

पुस ११, २०८२

कान्तिपुर संवाददाता

Inauguration of the Commission's 'Election Information Communication and Coordination Center'

काठमाडौँ — निर्वाचन आयोगले आफ्नो ‘मिडिया सेन्टर’लाई ‘निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र’ मा रूपान्तरण गरेको छ ।

आयोगले केन्द्रलाई पहिलेको तुलनामा थप बृहत् बनाउँदै शुक्रबार नयाँ स्वरूपमा उद्घाटन गरेको छ । नयाँ व्यवस्था अनुसार केन्द्रअन्तर्गत तीन वटा मुख्य इकाईहरू रहने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई जानकारी दिए । 

केन्द्रमा सूचना सदाचार प्रवर्धन इकाई, मिडिया सेन्टर र विद्युतीय मतदाता शिक्षा इकाई रहेका छन् । ‘सूचना सदाचार प्रवर्धन इकाईले विशेषगरी निर्वाचनका बेला हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको मनिटरिङ गर्नेछ,’ प्रवक्ता भट्टराईले भने, ‘त्यस्ता गलत सूचनाहरूको तथ्य जाँच गर्ने र निर्वाचन प्रभावित हुन नदिन नियामक निकायहरूसँग सहकार्य गर्ने जिम्मेवारी पाएको छ ।’ 

यसका लागि आयोगले मेटा (फेसबुक) जस्ता डिजिटल प्लाटफर्महरूसँग पनि समन्वय र सहकार्य गर्ने योजना बनाएको र छलफल अघि बढिसकेको उनले जानकारी दिए । आयोगले २०७९ को स्थानीय तहको निर्वाचनमा पनि प्रविधि कम्पनीहरूसँग सहकार्य गरेको थियो । मेटा र टिकटकसँग समन्वय र सम्झौतापत्र नै बनाएर आचारसंहिता पालना, विज्ञापन नियन्त्रण र सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रयास गरेको थियो ।त्यही बेलादेखि फेसबुकले आफ्नो एड लाइब्रेरीमा नेपाललाई समावेश गरी यहाँबाट हुने राजनीतिक, सामाजिक र निर्वाचनसम्बन्धी विज्ञापन, त्यसमा गरिएको खर्चलगायत विवरण उपलब्ध गराउन थालेको हो ।

इलेक्ट्रोनिक भोटर प्रमोसन युनिटले मतदाता शिक्षासँग सम्बन्धित अडियो-भिजुअल सामग्री बनाउनेदेखि अन्य आधुनिक प्रविधिको प्रयोग गरी मतदाताहरूलाई सुसूचित गराउने लक्ष्य राखेको छ । साथै, मिडिया सेन्टरले  साबिकको प्रेस अफिसले गर्दै आएका सञ्चार समन्वय र सूचना प्रवाहका नियमित कार्यहरूलाई निरन्तरता दिने आयोगले जनाएको छ । 

आयोगका अनुसार यो नयाँ केन्द्रमा २६ जना कर्मचारीहरू रहनेछन् । केन्द्रमा छापा माध्यम, टेलिभिजन,  सूचना प्रविधि, सुरक्षा निकायका विज्ञहरूको सहभागिता रहने आयोगले जनाएको छ । केन्द्रले हरेक हप्ता मिडिया ब्रिफिङ पनि गर्ने भएको छ ।

कान्तिपुर

Link copied successfully