मन्त्रिपरिषद्को शुक्रबारको बैठकले नेपाल सरकार र जापान सरकारबीच भएको 'जीआईटीसीओ' अन्तर्गत जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०६६ खारेजको निर्णय पनि गरेको छ ।
काठमाडौँ — मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ । सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार नेपाल नागरिकता नियमावली संशोधनको निर्णय गरेको हो ।
प्रवक्ता तथा मन्त्री खरेलले भने, 'नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।' यसका अलवा सरकारले प्रत्येक वर्षको पुस १५ लाई राष्ट्रिय च्याउ दिवस घोषणा गरेको छ । 'प्रत्येक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय भएको छ,' उनले भने ।
सरकारले 'गृह मन्त्रालय अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने' निर्णय पनि गरेको छ । त्यस्तै, देशका विभिन्न ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय भएको छ । ती स्थानहरूमा ताप्लेजुङको सिरिजंगा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, डोटीको बीपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको, मेलौली र संखुवासभाको हिदानागढी रहेका छन् ।
मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार र जापान सरकारबीच भएको 'जीआईटीसीओ' अन्तर्गत जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०६६ खारेजको निर्णय पनि गरेको छ ।
सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशको प्रमुख सचिवमा सहसचिव कमलप्रसाद भट्टराईलाई कायममुकायम तोक्ने निर्णय पनि गरेको छ ।
