त्रिविको ५१ औं दीक्षान्त समारोहमा सौरभलाई सुमन रिजाल पदक प्रदान गरिएको थियो । पदक लिएपछि उनले कान्तिपुरसित भने, ‘विदेश जाने सोच छैन । आफ्नो योग्यता र क्षमताअनुसार देशमै अवसर खोज्छु ।’
What you should know
काठमाडौँ — गोरखा नारेश्वरका सौरभ कोइराला कामले आर्किटेक्चर इन्जिनियर हुन् तर उनले त्रिभुवन विश्वविद्यालयको एमए समाजशास्त्रमा सर्वोत्कृष्ट नतिजा ल्याएका छन् । उनी एमए समाजशास्त्र केन्द्रीय विभागबाट ३.७० जीपीए ल्याएर सर्वोत्कृष्ट भएका हुन् ।
‘डिजाइन/प्लानिङ गर्दा समाज बुझ्न पर्दो रहेछ । समाज सुहाउँदो अध्ययन आवश्यक ठानें,’ उनले भने, ‘समाज बुझ्न मन लागेर समाजशास्त्र रोजेको हुँ । अब समाजलाई इन्जिनियरिङसँग जोड्ने काम गर्छु ।’
स्कुलदेखि नै सौरभ पढाइमा अब्बल थिए । विन्ध्यबासिनी सामुदायिक विद्यालयबाट उनले ८० प्रतिशत अंक ल्याएर एसईई गरे । २०६७ मा एसईई गरेपछि छात्रवृत्ति पाएर विज्ञान विषयमा भर्ना भए । कक्षा १२ पूरा गरेपछि थापाथली इन्जिनियरिङ कलेजबाट आर्किटेक्चर इन्जिनियरिङमा स्नातक गरे ।
‘आंशिक समय इन्जिनियरिङको काम गर्दै पूरा समय समाजशास्त्र पढें । काम गर्दै जाँदा समाजलाई इन्जिनियरिङमा कसरी जोड्ने विषय खड्कियो,’ उनले भने । देशमै बस्ने र यी दुई क्षेत्रमा अध्ययन, अनुसन्धानमा केन्द्रित हुने लक्ष्य रहेको उनले सुनाए ।
त्रिविको ५१ औं दीक्षान्त समारोहमा सौरभलाई सुमन रिजाल पदक प्रदान गरिएको थियो । बिहीबार पदक लिएपछि उनले कान्तिपुरसित भने, ‘विदेश जाने सोच छैन । आफ्नो योग्यता र क्षमताअनुसार देशमै अवसर खोज्छु ।’
कुनै पनि विषयमा गहिरो गरी अध्ययन गरे सोचेजस्तो सफलता मिल्ने उनको सुझाव छ । ‘पढ्ने स्पेसल तरिका छैन । पाठ्यक्रमअनुसार पढ्ने हो । राम्रोसँग गहिरो गरी अध्ययन गरे अंक पनि उत्कृष्ट आउने रहेछ,’ उनले भने ।
सरकारी सेवा र सरकारसँग सम्बन्धित काममा अनुसन्धान गरेर सहयोग गर्ने इच्छा रहेको पनि उनले सुनाए । ‘अनुसन्धान क्षेत्रमा काम गर्ने चाहना छ- समाजशास्त्र र इन्जिनियरिङलाई समायोजन गरेर । सरकारी सेवा र सरकारसँग सम्बन्धित काम गर्ने विचार छु,’ सौरभले भने ।
