‘आत्मविश्वासका साथ अगाडि बढ्नुहोस् । बाटो सजिलो हुनेछ भनेर हैन कि बरु तपाईंसँग त्यो बाटोमा हिँड्ने शक्ति मिल्छ ।’
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा नोबेल पुरस्कार विजेता जापानी भौतिकशास्त्री प्रा. डा. ताकाकी काजिताले विद्यार्थीहरूलाई सम्बोधन गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना भइरहेको कार्यक्रममा काजिताले जीवनमा सफलता प्राप्त गर्न उद्देश्य, लचिलोपन र करुणा अँगाल्न विद्यार्थीहरूलाई प्रेरित गरे । उनले आफ्नो वैज्ञानिक यात्राको संघर्षपूर्ण अनुभव सुनाउँदै सफलता रातारात नमिल्ने र यसका लागि धैर्य आवश्यक हुने बताए ।
न्युट्रिनोको खोजका लागि सन् २०१५ मा नोबेल पुरस्कार जितेका उनले आफ्नो विद्यावारिधिपछिको १० वर्ष लामो अनुसन्धानको स्मरण गरे । ‘सन् १९८६ मा पीएचडी गरेपछि मैले न्युट्रिनोको अध्ययन सुरु गरेँ, जसमा धेरैले मलाई शंका गर्थे । उनीहरू अर्कै सजिलो बाटो रोज्न सल्लाह दिन्थे,’ उनले भने, ‘तर मैले हार मानिनँ । फलस्वरुप १० वर्षपछि सन् १९९८ मा हामीले न्युट्रिनोमा द्रव्यमान हुने तथ्य पत्ता लगायौँ, जसले भौतिकशास्त्रको बुझाइ नै बदलियो ।’
काजिताले विद्यार्थीहरूलाई शुभकामना दिँदै भने, ‘आत्मविश्वासका साथ अगाडि बढ्नुहोस् । बाटो सजिलो हुनेछ भनेर हैन कि बरु तपाईंसँग त्यो बाटोमा हिँड्ने शक्ति मिल्छ ।’
समारोहमा स्नातकदेखि विद्यावारिधि (पीएचडी) सम्मका ८९ हजार १ सय ९१ विद्यार्थी दीक्षित हुँदैछन् । समारोहमा प्रत्यक्ष सहभागी हुन भने १६ हजार ३ सय ८० विद्यार्थीले आवेदन दिएका थिए ।
