गिद्धको गुँडमा सीसीटीभी नजर

गिद्धले बच्चा कसरी कोरल्छ, बच्चा कसरी हुर्किन्छ, दुस्मन के-के हुन सक्छन्, के-कस्ता संरक्षण कार्यक्रम जरुरी छ भन्ने पहिल्याउन गुँड नजिकै सीसीटीभी क्यामेरा जडान गरिएको छ।

पुस १०, २०८२

दीपक परियार

CCTV footage of a vulture's nest

What you should know

पोखरा — पोखरा–३३ बागमाराको ठूल्ढुंगामा सिमलको रुखका हाँगा हातका औंलाजसरी फिँजिएका छन् । त्यही रुखमा अति संकटापन्न सानो खैरो गिद्धको गुँड छ । गुँड निगरानी गर्न रुखको पारिपट्टि घरमा सीसीटीभी क्यामेरा जोडिएको छ ।

संरक्षणकर्मी हेमन्त ढकालले विगत चार वर्षदेखि यो गुँडको अनुगमन गरिरहेका छन् । पछिल्लो समय भने स्थानीय मन्त्रीलाल पौडेलको घरको छतबाट सीसीटीभी क्यामेराले गिद्धको दैनिकी कैद गरिरहेको छ ।

ढकाल घरमै बसेर मोबाइल स्क्रिनमा गिद्धको चालढाल नियाल्छन् । पोखरा पन्छी समाजका सचिव रहेका उनी सानो खैरो गिद्धको पारिस्थितिकी र संरक्षण सम्बन्धमा विद्यावारिधि गरिरहेका छन् । गिद्धको गुँड अनुगमन गर्न नेपालमै पहिलोपल्ट सीसीटीभी क्यामेरा जडान गरिएको उनले बताए । 

सानो खैरो गिद्ध विश्वकै अति संकटापन्न सूचीमा रहेका गिद्धमध्येको एक प्रजाति हो, नेपालमा यसको संख्या ७५ भन्दा कम रहेको विभिन्न तथ्यांकले जनाएको छ ।

पन्ध्र वर्षदेखि कास्की र नेपालका विभिन्न क्षेत्रमा गिद्धको अनुगमन गर्दै आएका ढकालले यस क्षेत्रमा गुँड भएको थाहा पाएदेखि निरन्तर अनुगमन गरिरहेका छन् । ठूल्ढुंगाको सिमलको रुखमा भने एक जोडी गिद्ध छन् ।

नेपालमा सानो खैरो गिद्धका छवटा गुँड भेटिएकामा गत वर्ष पाँचवटामा प्रजनन भएको थियो, जसमध्ये ठूल्ढुंगाको एउटा हो । हाल दाङमा दुई, शुक्लाफाँटा र पोखरामा एक–एकवटा गरी ४ वटा मात्रै गुँड छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाको गाछेपानीमा पनि पहिले सिमलको रुखमै यस प्रजातिको गिद्धको गुँड थियो तर पृथ्वी राजमार्ग विस्तारका क्रममा सिमलको रुख काटियो । पोखरा–१७ दोबिल्लामा पनि पहिले सानो खैरो गिद्धको गुँड थियो । त्यो क्षेत्र बस्तीमा परिणत भएपछि गिद्ध ठूल्ढुंगामा सरेका हुन् । 

स्थानीय, जग्गाधनी र सीसीटीभी राख्ने घरधनीलाई दुर्लभ गिद्धको महत्त्वबारे बुझाएपछि मात्रै ठूल्ढुंगामा सीसीटीभी राख्न सम्भव भएको ढकाल सम्झन्छन् । पोखरा पन्छी समाजले शनिबार स्थानीयलाई बटुलेर गिद्ध सचेतना कार्यक्रम गर्‍यो । टोल सुधार समिति, महिला समूह, सर्वसाधारण र वडाध्यक्ष कार्यक्रममा उपस्थित थिए । ‘स्थानीयले गिद्ध संरक्षणमा हातेमालो गर्ने प्रतिबद्धता जनाएका छन्,’ ढकालले भने । 

जग्गाधनी तारानाथ लामिछानेले गिद्धको गुँड जोगाउन सिमलको रुख नकाट्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रीलालको घरमा आइतबार सीसीटीभी क्यामेरा जोडिएको हो । सीसीटीभी, इन्टरनेटलगायतमा लाग्ने केही खर्च संरक्षणमा सहयोग गर्ने रुफोर्ड फाउन्डेसन र पोखरा पन्छी समाजले बन्दोबस्त गरेको छ । 

गिद्धले बच्चा कसरी कोरल्छ, बच्चा कसरी हुर्किन्छ, यसका दुस्मन के–के हुन सक्छन्, त्यससँग सम्बन्धित संरक्षणका कार्यक्रम के–के गर्न सकिन्छ भन्ने बुझ्न सीसीटीभी आवश्यक भएको ढकाल बताउँछन् । ‘गुँडकै छेउमा क्यामेरा राख्न सकिन्थ्यो तर गिद्धलाई बाधा नपुगोस् भनेर केही टाढाबाट राम्रो क्यामेराले अनुगमन गर्ने निर्णय गर्‍यौं,’ उनले भने । 

सानो खैरो गिद्धको विशेषता के हो भने यसले वर्षमा एउटा मात्रै अन्डा पार्छ । संख्या यसै थोरै छ, त्यसमाथि प्रजनन पनि ढिलो हुन्छ । कात्तिक–मंसिर महिनामा भाले र पोथीबीच समागम हुन्छ । त्यतिबेलैदेखि गुँड बनाउने सामग्री खोज्न थाल्छन् । पुससम्म गुँड बनाइसकेपछि पोथीले अन्डा पार्छे । भाले र पोथी पालैपालो ओथारो बस्छन् । जेठतिर बच्चा हुर्काएर उडाउँछन् । जेनेटिक परीक्षणबाहेक भाले–पोथीबीच फरक छुट्याउन असम्भव हुन्छ । ‘अन्डा पारेर बच्चा हुर्काउँदासम्म समस्या के–के छन् भन्ने थाहा भएन भने यसको संरक्षण योजना बनाउन सकिँदैन,’ ढकाल भन्छन्, ‘जस्तै सिनो ल्याएर खुवाउँदा सिनोमा विष होला, माउ र बच्चा मर्न सक्छन् । अति संकटापन्न सूचीमा हुँदा यस्ताखाले अभियान र अनुसन्धान महत्त्वपूर्ण हुन्छ ।’

आफ्नो विद्यावारिधि शोधकै क्रममा ढकालले १० वटा सानो खैरो गिद्ध समातेर ‘स्याटेलाइट ट×्याग’ लगाउने योजना बनाएका छन् । उनका अनुसार यसबाट गिद्धको बासस्थान, गुँड क्षेत्रका साथै यो कति टाढासम्म जान्छ, खानाका लागि कति आउजाउ गर्छ, कुन ठाउँमा धेरै बेर अडिन्छ, अडिएको ठाउँमा वरिपरि संरक्षित क्षेत्र छ कि छैन, उसलाई सुरक्षित आहारा छ कि छैन भन्ने जानकारी मिल्नेछ ।

नेपाल पन्छी संरक्षण संघले नवलपुर र शुक्लाफाँटामा दसवटा गिद्धलाई ‘स्याटेलाइट ट्याग’ लगाइसकेको छ । ती गिद्ध भारत र नेपालका धेरै ठाउँमा पुग्ने, विद्युत्को प्रसारण लाइनमा ठोकिएर मर्ने, विष भएको सिनो खाएर मर्ने गरेको पाइएको ढकालले बताए । उनले थपे, ‘यसले गिद्धलाई अझै पनि खतरा धेरै छ भन्ने देखाउँछ ।’ 

आफ्नै घरमा सीसीटीभी क्यामेरा राखेर अति संकटापन्न गिद्धको संरक्षणमा योगदान गर्न पाएकामा ७२ वर्षीय मन्त्रीलाल पौडेल दंग छन् । ‘पहिला गिद्धको संख्या अलि बढी नै हुन्थ्यो । अहिले अलि कम छन्,’ उनी भन्छन्, ‘पहिले गाईबस्तु धेरै पाल्थे अनि ती मरेपछि यत्रतत्र फालिदिने गर्थे । त्यही सिनो खान गिद्ध आउँथे । अहिले पशुपालन घट्दै गयो । सिनो खान नपाएर गिद्धको संख्या पनि कम भएको हुनुपर्छ ।’ 

पौडेलका अनुसार पहिले गिद्धलाई शुभ मानिँदैनथ्यो । गिद्धले घर नाघ्यो भने पनि अशुभ हुन्छ भन्ने विश्वास गरिन्थ्यो । ‘अहिले त्यस्तो बुझाइ छैन,’ उनले भने, ‘गिद्धले सिनो खाएर वातावरण सफा राख्ने रहेछ ।’

सिमलको रुख भएको जग्गाका धनी ७५ वर्षीय तारानाथ लामिछाने जताततै विषादी भएकै कारण गिद्ध मासिएको बताउँछन् । ‘३०–३५ वर्षअघिसम्म हाम्रो सिमलको रुख ढाकेर गिद्ध बसेको देखिन्थ्यो,’ उनले भने, ‘अहिले त त्यस्तो छैन ।’

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully