केरलका ए. शिवुको परिवारले 'ब्रेनडेड' पछि उनको मुटु दान गरेर सुर्खेतकी २१ वर्षीया दुर्गा कामीलाई नयाँ जीवन दिए ।
What you should know
विराटनगर — एउटा मुटुले कहिलेकाहीँ दुई देशलाई जोडिदिन्छ । न नक्सा चाहिन्छ, न कूटनीति । मानवता भए पुग्छ । यही मानवताको उदाहरण बनिन्, एक अनाथ नेपाली युवती । उनको छातीभित्र यतिबेला एक भारतीयको मुटु धड्किरहेको छ ।
केरलको एर्नाकुलम जिल्लास्थित सरकारी अस्पतालले पहिलो पटक मुटुको सफल प्रत्यारोपण गर्यो । यो घटना भारतका लागि चिकित्सकीय सफलतामात्र होइन, नेपाल–भारतबीचको भावनात्मक सम्बन्धको दुर्लभ दस्तावेज बन्यो ।
भारतीय सञ्चारमाध्यमहरूका मुटु प्रत्यारोपणमार्फत सुर्खेतकी २१ वर्षीया युवती दुर्गा कामीले नयाँ जीवन पाइन् । उनी गत असार अन्तिम साता उपचाररार्थ केरल पुगेकी थिइन् ।
४७ वर्षीय ए. शिवु भारतको दक्षिणी राज्य केरलका स्थानीय हुन् । गत मंसिर ३० मा भएको सडक दुर्घटनामा उनी गम्भीर घाइते भए । केही दिनको उपचारपछि चिकित्सकहरूले उनलाई ‘ब्रेन डेड’ घोषणा गरे । त्यो क्षण शोकको थियो, तर परिवारका लागि एउटा गहिरो निर्णयको घडी पनि । यही विशादका बीच शिवुको परिवारले जीवन रोज्यो, तर अरु कसैको । उनीहरूले शिवुको मुटु दान गर्ने निर्णय गरे ।
त्यही समयमा, केरलकै अर्को कुनामा २१ वर्षीया दुर्गा जीवन र मृत्युबीच संघर्ष गरिरहेकी थिइन् । अनाथालयमा हुर्किएकी ती युवती 'कार्डियाक सार्कोइडिसिस' नामक दुर्लभ र गम्भीर मुटुरोगबाट पीडित थिइन् ।
उनी सानै छँदा आमा र दिदी पनि यही रोगबाट बितिन् । बुवा पनि पहिले नै बिते । मुटु प्रत्यारोपण नै उनको अन्तिम आशा थियो । उपचारका लागि उनी पहिले लखनऊ पुगिन् । त्यसपछि काठमाडौं । तर यहीबीचमा एक जना मलायली साथीले सल्लाह दिइन्, 'यता आउ न उपचार पनि राम्रो हुन्छ ।' त्यसपछि उनी कोची पुगेकी केरलकौमुदी अनलाइनले लेखेको छ ।
केरलको राज्य स्वास्थ्य विभागले ‘हार्ट डोनर लिस्ट’मा उनलाई प्राथमिकतामा राख्यो । अदालतको आदेश, स्वास्थ्य मन्त्रालयको सक्रियता र चिकित्सकहरूको समर्पणले केही घण्टामै निर्णय सम्भव भयो, शिवुको मुटु दुर्गालाई प्रत्यारोपण गर्न ।
कोचीबाट करिब ११ किलोमिटर दूरी तय गर्दै हेलिकोप्टरमा शिवुको मुटु सुरक्षित रूपमा एर्नाकुलम जिल्ला अस्पताल पुर्याइयो, जहाँ दुर्गा त्यहीँ मुटुको पखाईमा थिइन् । अनुभवी चिकित्सक टोलीले सफल प्रत्यारोपण गरेर दुर्गालाई नयाँ जीवन दियो ।
दुर्गाका दाजु तिलकले भारतीय सञ्चारमाध्यममार्फत सरकारी अस्पताल, चिकित्सक र केरल सरकारप्रति कृतज्ञता व्यक्त गरे । उनले हर्षका आँसु चुहाउँदै भनेका छन्, ‘मुटुदाता परिवार र केरल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
केरलकी स्वास्थ्य मन्त्री वीणा जर्जले समेत सामाजिक सञ्जालमार्फत चिकित्सकहरूको प्रशंसा गरिन् । तर सबैभन्दा ठूलो प्रशंसा शब्दमा होइन, त्यो नेपाली युवतीको धड्किरहेको मुटुमा थियो । स्वास्थ्यमन्त्री जर्जले भारतमै पहिलो पटक जिल्ला अस्पताल तहमा मुटु प्रत्यारोपण भएको दाबीसमेत गरेकी छिन् ।
