राष्ट्रियसभा सदस्य चुन्नका लागि प्रदेशसभा सदस्य, गाउँपालिका उध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् ।
What you should know
काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि २ हजार ४३ जना मतदाता रहेको जनाएको छ । राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्यका लाग ११ माघमा निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य चुन्नका लागि प्रदेशसभा सदस्य, गाउँपालिका उध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् ।
आयोगले बुधबार प्रारम्भिक मतदाता नामावली प्रकाशित गरेको छ । दाबी विरोध लगायतका प्रक्रिया पूरा भएपछि २२ पूसमा अन्तिम नामावली प्रकाशित गरिने आयोगले जनाएको छ । ५ सय ४५ जना प्रदेशसभा सदस्य र पालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुख १ हजार ४ सय ९८ जनाको नामावली आयोगले प्रकाशित गरेको छ ।
७ वटा प्रदेशसभामा ५ सय ५० जना सदस्य छन् । त्यसमध्ये अदालतको आदेश बमोजिम एक जना पदमुक्त छन् । साथै चार जना निलम्बनमा परेका छन् । त्यस्तै, ७ सय ५३ स्थानीय तहमा पदाधिकारीमध्ये एक जनाको निधन भएको र सात जना निलम्बनमा परेका छन् । निधन भएको र निलम्बनमा परेकाको नाम आयोगले मतदाता नामावलीबाट हटाएको छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उप्रमुखको मतभार भने फरक फरक रहेको छ । प्रदेशसभा सदस्यको एक मत बराबर ५३ मतभार रहेको छ भने गाउँपालिका र नगरपालिकाका पदाधिकारीको मतभार १९ छ ।
राष्ट्रियसभामा मधेश प्रदेशका ४, कोशी र लुम्बिनी प्रदेशका ३/३ तथा बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिका २/२ जना सदस्यको पदावधि २० फागुनबाट सकिन लागेको हो । संविधानको धारा ८६(३) मा राष्ट्रियसभा सदस्यको पदावधि समाप्त भएर रिक्त हुने स्थानका लागि पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख छ । त्यसैअनुसार २० फागुनमा रिक्त हुने पदका लागि ११ माघमै निर्वाचन हुन लागेको हो । जुन प्रदेशबाट पद रिक्त हुन लागेको हो त्यही प्रदेशका प्रदेशसभाका सदस्य तथा प्रदेशभित्रका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उप्रमुखको मतदानबाट नयाँ सदस्य चुनिएर आउनेछन् ।
प्रदेशगत रूपमै मतदान हुनेछ । आयोगले ७ वटै प्रदेशका राजधानीमा राष्ट्रियसभाको निर्वाचन कार्यालय, निर्वाचन अधिकृत र मतदान केन्द्र तोकिसकेको छ । कोशी प्रदेशमा प्रदेशसभा सदस्य ९३ र पालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख उपप्रमुख २ सय ७४ जना छन् । त्यहाँबाट रिक्त हुन लागेको राष्ट्रियसभामा प्रतिनिधित्व रहेको ३ सिटका लागि उनीहरू मतदाता छन् । प्रदेशसभा र स्थानीय तहको गरी कोशीमा सबै मतदाताको कुल मतभार १० हजार १ सय ३५ छ ।
मधेश प्रदेशका १ सय ७ जना प्रदेशसभा सदस्यमा ३ जना निलम्बित रहेकाले १ सय ४ जनाको नाम मतदाता नामावली आएको छ । प्रदेशसभा सदस्यहरु जसपाका सरोजसिंह कुशवाहा(महोत्तरी), एमालेका दीपेन्द्रकुमार ठाकुर(धनुषा) र लोसपाका अभिराम शर्मा(महोत्तरी) निलम्बित छन् ।
त्यस्तै, स्थानीय तहका २ सय ७२ जना पदाधिकारीमा निलम्बनमा रहेका ५ जनाको नाम मतदाता नामावलीमा समेटिएको छैन । मधेशमा स्थानीय तहबाट २ सय ६७ जना मतदाता छन् । त्यहाँको कुल मतभार १० हजार ५ सय ८५ कायम छ । बागमती प्रदेशमा १ सय १० प्रदेशसभा सदस्य कायम छन् । त्यस्तै, स्थानीय तहका २ सय ३८ मध्ये २ सय ३७ जनाको नाम मतदाता नामावलीमा आएको छ । उक्त प्रदेशको मतभार १० हजार ३ सय ३३ छ ।
गण्डकी प्रदेशमा प्रदेशसभाका ६० मध्ये ५९ र स्थानीय तहका १ सय ७० सबैको नाम मतदाता सूचीमा समावेश छ । त्यस प्रदेशको मतभार ६ हजार ३ सय ५७ छ । मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरूङ(दीपक मनाङे) सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका छन् ।
लुम्बिनीमा ८७ जना सबै प्रदेशसभा सदस्यको नाम मतदाता नामावलीमा छ । त्यस्तै, पालिकाका २ सय १८ जना पदाधिकारीमध्ये २ सय १७ जनाको नाम मतदाता नामावलीमा छ । रुपन्देहीको लुम्बनी सांस्कृतिक नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुखको निधन भएकाले उक्त पद रिक्त छ । लुम्बनीको कुल मतभार ८ हजार ७ सय ३४ छ ।
त्यसैगरी, कर्णालीमा प्रदेशसभाका ४० र पालिकाका १ सय ५८ जना सबैको नाम मतदाता नामावलीमा आएकाले त्यहाँको मतभार यथावत् ५ हजार १ सय २२ छ । सुदूरपश्चिममा ५३ जना प्रदेशसभा सदस्यमा ५२ र पालिकामा १ सय ७६ मतदातामध्ये १ सय ७५ जनाको नाम मतदाता नामावलीमा प्रकाशित छ । पूर्व मुख्यमन्त्री नेकपा(एकीकृत समाजवादी)बाट निर्वाचित दीर्घबहादुर सोडारी निलम्बित छन् । उक्त प्रदेशको कुल मतभार ६ हजार ८१ छ ।
