तीनै जना नेपाली नागरिक भएको खुल्ने प्रमाण नदेखिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
काठमाडौँ — साउदी अरबबाट डिपोर्ट भएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको छ ।
साउदीस्थित नेपाली राजदूतावासले ट्राभल डकुमेन्ट बनाएर पठाएका तीन जनालाई मंगलबार त्रिभुवन विमानस्थल अध्यागमन प्रशासनले नियन्त्रणमा लिएको हो ।
यसरी फर्काइएका तीनै जना नेपाली नागरिक भएको खुल्ने प्रमाण नदेखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो र यस विषयमा अनुसन्धान जारी भएको अध्यागमन विभागका महानिर्देश रामचन्द्र तिवारीले जानकारी दिए ।
'मंगलबार कतार एयरवेजबाट तीन जना मानिस नेपाल आएकामा उनीहरूको राष्ट्रियता खुल्ने प्रमाण नभेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ,' महानिर्देशक तिवारीले भने, 'विगतमा कहिले गए, उनीहरू कहाँका हुन् र नेपालको स्थायी ठेगाना कहाँ हो भन्नेमा शंका छ । यसको एकिन टुंगो लागेपछि मात्रै उनीहरूलाई नेपाल प्रवेश दिने वा जुन देशबाट आए उही देश फर्काउनेमा निर्णय हुनेछ ।' यस विषयमा प्रहरीमार्फत पनि अनुसन्धान भइरहेको उनको भनाइ छ ।
मंगलबार साउदी अरबले डिपोर्ट गरेका तीन जना– कलमाया तामाङ, इन्द्रमाया लिम्बू र सानुमाया तामाङका नाममा नेपाली राजदूतावासमार्फत ट्राभल डकुमेन्ट बनाएर नेपाल आएका थिए । तर उनीहरू नेपाली भाषासमेत बोल्न नसक्ने भेटिएपछि विमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको छ । उनीहरूको राष्ट्रियता खुल्ने कागजातसमेत नभएपछि नियन्त्रणमा लिइएको हो ।
तीनै जना विगतमा गिरोहमार्फत नेपाली नागरिकका रूपमा फर्जी डकुमेन्ट बनाएर साउदी पुगेको अनुसन्धान अधिकृतहरूको आशंका छ ।
