काठमाडौं महानगरले सञ्चालन नभएका १०७ विद्यालय खारेज प्रक्रिया अघि बढायो

महानगरले विगतमा अनुमति पाएर सञ्चालन भएका तर हाल सञ्चालन नरहेका विद्यालयको सूचीसमेत सार्वजनिक गरेको छ ।

पुस ८, २०८२

कान्तिपुर संवाददाता

Kathmandu Metropolitan City moves forward with the process of closing down 107 non-operational schools

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सञ्चालनमा नरहेका १०७ वटा विद्यालयलाई सर्म्पकमा आउन मंगलबार सुचना जारी गरेको छ ।

सम्पर्कमा नआए विद्यालय बन्द गरिने प्रक्रिया अघि बढाउने महानगरको शिक्षा विभागले जारी गरेको सूचनामा उल्लेख छ । महानगरले विगतमा अनुमति पाएर सञ्चालन भएका तर हाल सञ्चालन नरहेका विद्यालयको सूचीसमेत सार्वजनिक गरेको छ । 

‘काठमाडौं महानगरपालिका नगर शिक्षा समितिको मिति २०८२ भदौं २८ गतेको निर्णय बमोजिम विगतमा अनुमति पाई सञ्चालन भएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीका लागि शिक्षा विभागले स्थलगत रूपमा अनुगमन, रुजु, एकिन गरी अनुमति खारेजीका सम्बन्धमा आवश्यक निर्णय हुन कार्यपालिकामा पेश गर्ने निर्णय भएको छ,’ सूचनामा भनिएको छ, ‘महानगरपालिकाको शिक्षा विभागबाट विभिन्न समयमा भएको स्थलगत अनुगमनका क्रममा काठमाडौं महानगरपालिकाको वेबसाइटमा प्रकाशित सूचना साथ संलग्न सूचीमा उल्लेख भएका विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा नरहेको र नदेखिएको प्रतिवेदन प्राप्त भएको छ ।’

वेबसाइटमा प्रकाशित सूची अनुसारका विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा रहेको भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक/सञ्चालक/व्यवस्थापक र गुठीयारले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र महानगरको शिक्षा विभागमा प्रमाण सहित उपस्थित हुन तोकेता गरिएको छ ।

अन्यथा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ दफा १३ (ट) बमोजिम विद्यालय बन्दका लागि कार्यपालिकामा सिफारिस गरिने जनाइएको छ । दर्ता भएपनि सञ्चालनमा नरहेका विद्यालय खारेज गर्न सक्ने व्यवस्था छ । 

Kathmandu Metropolitan City moves forward with the process of closing down 107 non-operational schools

कान्तिपुर

Link copied successfully