पञ्चायतकालदेखि नै सत्ता राजनीतिमा उक्लिन थालेका मण्डल २०४६ सालपछिको बहुदलीय संसदीय व्यवस्थामा पनि लामो समय प्रभावशाली भूमिकामै रहे ।
What you should know
विराटनगर — पञ्चायतदेखि राजाको सक्रिय शासनकालसम्म सत्ता राजनीतिमा केन्द्रमा रहेका नेता बद्रीप्रसाद मण्डलको मंगलबार ८८ वर्षको उमेरमा विराटनगरमा निधन भएको छ ।
२०६२/६३ सालको जनआन्दोलनपछि राजनीतिक मञ्चबाट क्रमशः ओझेलमा परेका मण्डलको महानगरपालिका–९ घोघापुल चोकस्थित निवासमा सुतेकै अवस्थामा निधन भएको परिवारले जनाएको छ ।
भतिजी जस्मिन मण्डलका अनुसार सोमबार रातिसम्म मण्डलको स्वास्थ्य अवस्था सामान्य थियो । ‘बिहान शौचालय गएर आफैं ओछ्यानमा फर्कनुभएको थियो । त्यसपछि सुतेकै अवस्थामा उहाँको निधन भयो,’ जस्मिनले बताइन् ।
दक्षिण–पूर्वी मोरङको जहदा गाउँपालिका–२ मझारे पुर्ख्यौली थातथलो भएका मण्डल २०३६ सालदेखि पञ्चायती राजनीतिमा प्रवेश गरेका थिए ।
पञ्चायतकालदेखि नै सत्ता राजनीतिमा उक्लिन थालेका मण्डल २०४६ सालपछिको बहुदलीय संसदीय व्यवस्थामा पनि लामो समय प्रभावशाली भूमिकामै रहे । उनी राष्ट्रिय पञ्चायतका सदस्य थिए । २०४२ सालमा केही समय अर्थराज्यमन्त्री बनेका मण्डल पछि वनमन्त्रीसमेत भए ।
२०५१ सालको मध्यावधि निर्वाचनमा मण्डल मोरङबाट नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यसँग पराजित भए । तर २०५६ सालको निर्वाचनमा भने उनले आचार्यलाई नै पराजित गरे ।
२०४६ को राजनीतिक परिवर्तनपछि मण्डल राजावादी धार छाडेर नेपाल सद्भावना पार्टीमा सक्रिय बने । पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि केही समय कार्यवाहक अध्यक्ष समेत भए ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालका बेला मण्डल पुनः सत्तामा उक्लिए । ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा गठन गरेको मन्त्रीमण्डलका उनी उपप्रधानमन्त्री थिए ।
२४० वर्ष लामो राजतन्त्रको पतनसँगै मण्डल राजनीतिबाट टाढिदै गए । पछिल्लो समय उनी घरमा गुमनाम जीवन बिताइरहेका थिए ।
मण्डलका परिवारमा दुई श्रीमती, तीन छोरा र तीन छोरी छन् । उनका चार छोरामध्ये एक छोराको यसअघि नै निधन भइसकेको परिवारले जनाएको छ । मण्डलको अन्त्येष्टि मोरङको जहदा-२ मझारेमा गरिएको छ ।
