बैठकमा प्रधानमन्त्री सुशीला कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी छन् ।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र प्रमुख दलबीच दुरी घटाई निर्वाचनको वातावरण बनाउन बोलाएको बैठक दुई घन्टादेखि जारी छ ।
शीतल निवासमा जारी बैठकमा प्रधानमन्त्री सुशीला कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी छन् ।
शीतल निवास स्रोतका अनुसार उक्त छलफल निर्वाचनको वातावरण बनाउने दिशामा नै केन्द्रित छ । राष्ट्रपति पौडेलले यसअघि अन्तरिम सरकार बन्ने र बनाउने क्रममा प्रधानमन्त्री सुशीला कार्की र तत्कालीन माओवादी अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए ।
तर देउवा र ओलीसँग भने भेटवार्ता भएको थिएन ।
प्रधानमन्त्री कार्कीले पुराना दलका प्रमुख नेतासँग निर्वाचनका लागि छलफल नगरेको, दलहरुलाई निषेध गर्न खोजेको एमाले अध्यक्ष ओलीले आरोप लगाउँदै आएका थिए ।
एमाले अध्यक्ष ओलीले अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै प्रतिनिधिसभा पुन:स्थापनाको मुद्दालाई प्राथमिकतामा राख्दै आएका छन् ।
