मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतले पद तथा गोपनीयताको शपथ लिइन्

उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा बस्नेतलाई शपथ ग्रहण गराएका हुन्।

पुस ८, २०८२

प्रताप विष्ट

Chief Advocate Apsara Basnet takes oath of office and secrecy

हेटौंडा — बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त अधिवक्ता अप्सरा बस्नेतले बुधबार पद तथा गोपनीयताको शपथ लिएकी छन्। उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा बस्नेतलाई शपथ ग्रहण गराएका हुन्।

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्त सम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुँवरले एक समारोहबीच शपथ ग्रहण गराएका थिए। शपथ ग्रहण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको पनि उपस्थिति थियो।

प्रदेश प्रमुख देवकोटाले आइतबार अधिवक्ता बस्नेतलाई बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए। बस्नेत बागमती प्रदेशको मात्र नभई प्रदेश इतिहासकै पहिलो महिला मुख्य न्यायाधिवक्ता बन्न सफल भएकी छन्।

मुख्यमन्त्री बानियाँले प्रदेश प्रमुखसमक्ष बस्नेतको नाम मुख्य न्यायाधिवक्ताका लागि सिफारिस गरेका थिए। यसअघि दोलखाका अधिवक्ता सुकदेव काफ्ले मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा थिए। काफ्लेले राजीनामा दिएपछि मुख्यमन्त्री बानियाँले बस्नेतको नाम सिफारिस गरेका हुन्।

अधिवक्ता बस्नेत जिल्ला बार एसोसिएसन मकवानपुरकी निवर्तमान अध्यक्षसमेत हुन्। उनी उक्त बार एसोसिएसनको पहिलो महिला अध्यक्ष पनि बनेकी थिइन्।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully