जसले दुई रातमा दुई जनाको हत्या गरे, अनि आफैं ‘मृतक’लाई खोज्न थाले

विगतमा ‘हत्यारा’ नै पीडितको न्यायका लागि सडक प्रदर्शनमा उत्रिएको उदाहरण नभएका होइनन्, तर २१ वर्षीय देवराज ढुंगेलले जुन शैलीमा दुई जनाको हत्या अनि शव व्यवस्थापन गरे, त्यो कुनै चलचित्रको दृश्यभन्दा कम नभएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

पुस ७, २०८२

गौरव पोखरेल

Who killed two people in two nights, then started looking for the 'dead' himself

What you should know

काठमाडौँ — सिन्धुलीको सुनकोशी गाउँपालिका–४, कोटगाउँका २१ वर्षीय देवराज ढुंगेल ललितपुर प्रहरीको हिरासतमा रहेका यस्ता अनौठा अभियुक्त हुन्, जसले दुई रातमा दुई जनाको नृशंस हत्या गरे, शव व्यवस्थापन गरे अनि तिनै व्यक्तिलाई आफैं खोज्न थाले ।

विगतमा ‘हत्यारा’ नै पीडितको न्यायका लागि सडक प्रदर्शनमा उत्रिएको उदाहरण नभएका होइनन्, तर ढुंगेलले जुन शैलीमा दुई जनाको हत्या अनि शव व्यवस्थापन गरे, त्यो कुनै चलचित्रको दृश्यभन्दा कम नभएको अनुसन्धान अधिकृतहरू बताउँछन् । ‘हिन्दी फिल्मको प्रभाव परेको हुन सक्छ,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्य विश्लेषण गर्छन्, ‘नभए यो उमेरमा कोही यति विघ्न क्रूर कसरी बन्न सक्छ ?’

जिल्ला प्रहरी परिसर, ललितपुरमा २० मंसिरदेखि सिन्धुलीका २५ वर्षीय केशवराज हायु हराएको भन्दै खोजतलासको अनुरोधसहित निवेदन परेको थियो । उनी कहाँ छन् भन्ने विषयमा प्रहरीले कुनै महत्त्वपूर्ण सूचना पाउन सकेको थिएन । एकैपटक २ पुसमा दिउँसो ३ बजेतिर ललितपुरको महालक्ष्मी नगरपालिका–८, शेराफाँटमा इनारमा ‘शंकास्पद वस्तु’ देखिएको भन्दै प्रहरीलाई खबर आयो ।

‘त्यतिबेला बोराबाट निकै गन्ध आइरहेको, मान्छे हो कि कुकुरको शव हुन सक्छ भन्दै फोन आएको थियो,’ ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटी भन्छन्, ‘प्रहरी टोली गएर हेर्दा इनारभित्र पोको पारेर फ्याँकिएको अवस्थामा शव भेटिएको थियो ।’

कान्तिपुरलाई प्राप्त घटनास्थलको तस्बिरमा बोरामा बेरेर टेपले टाँसेको देखिन्छ । यो इनार भएको ठाउँ त्यही हो, जहाँ केही पहिलेसम्म हायु कृषि फर्म चलाउँथे । पछिल्लो समय विदेश जानलाई भन्दै छाडेका थिए ।

‘बोरा निकालेर हेर्दा त्यो शव सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५, ताप्केडाँडा बस्ने २५ वर्षीय सुनिल भनिने केशवराज हायु भएको थाहा भयो,’ एसएसपी बोगटीले कान्तिपुरसँग भने, ‘त्यसपछि उपत्यका अपराध अनुसन्धान कार्यालयसमेतको टोलीले अनुसन्धान सुरु गर्‍यो ।’

घटनास्थलमा खटिएका अधिकृतहरूका अनुसार, प्रहरी टोली पुगेका बेला सिन्धुली घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथली बस्दै आएका २१ वर्षीय देवराज ढुंगेल पनि त्यहीँ थिए । खासमा उनी नातामा हायु परिवारको ज्वाइँ पर्थे । त्यही कारण सुनिल भनिने केशवराज हराएपछि परिवारसँग मिलेर खोजीमा सहयोग गर्दै आएका थिए ।

‘खोजीमा लागेकैले सुरुमा उनलाई कसैले शंका गरेन,’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘तर, घटनास्थल नजिकै भेटिएको एक जोडी चप्पल अनुसन्धानका लागि महत्त्वपूर्ण क्लू बन्यो ।’ प्रहरीका अनुसार, इनार नजिकै दुई वटा चप्पल भेटिएका थिए, हिलाम्य ठाउँमा खाली खुट्टाका डोबहरू पनि थिए ।

‘त्यो चप्पल कसको हो भनेर खोजी गर्दा त्यहाँका बस्नेहरुले देवराजतर्फ संकेत गरेका थिए, तर उनले आफ्नो नभएको बताएका थिए,’ उनले भने, ‘तर ढुंगेलको हाउभाउ शंकास्पद लागेपछि उनको सामाजिक सञ्जाल केलाउन थाल्यौं ।’ त्यसक्रममा उनले त्यही चप्पल लगाएर पहिले भिडियो खिचेको फेला पर्‍यो ।

प्रहरीले जब केरकार गर्न थाल्यो, उनले शंकास्पद विषयहरू बताउन थाले । प्रहरीले उनलाई हिरासतमै लिएर अनुसन्धान थाल्यो । ‘पहिले उनलाई घटनाबारे केही जानकारी होला भन्ने ठानेका थियौं, तर पछि उनले प्रहरीलाई नै घुमाउन खोजे,’ ती अधिकृतले थपे, ‘सबै हेर्दा उनले धेरै कुराहरू लुकाउन खोजिरहेको देखिन्थ्यो ।’

कहिले उनले हायुकै साथी पारुहाङले हत्या गरेको बताए भने कहिले आफूलाई हत्या गर्ने धम्की दिएका कारण बोल्न नसकेको भन्दै प्रहरीलाई विश्वस्त पार्न खोजे । उनले मोरङतिर बस्ने एक जना व्यक्तिकोसमेत नाम लिएका थिए, जसको लोकेसन त्यस समयको आसपास त्यतै देखिन्थ्यो । तर, अधिकृतहरूका अनुसार सबै कुराले ढुंगेललाई नै संकेत गरिरहेको थियो ।

त्यहीबीचमा प्रहरीले सुनकोशी गाउँपालिका–४, कोटगाउँका २० वर्षीय जयराम अधिकारीसमेत काठमाडौं आएको थाहा पायो । घटनापछि उनको मोबाइल स्वीच्ड अफ आइरहेको थियो ।

‘पछिल्लो समय उनको मोबाइल सिन्धुलीमा अन भएको थियो भने उनलाई खोजी गर्दै जाँदा सिन्धुलीमा एक जना आफन्तको घरमा बसेर गाईवस्तु चराइरहेको थाहा भयो,’ एक अधिकृतले भने, ‘सिन्धुली प्रहरीको टोली उनी भए ठाउँ पुग्यो भने काठमाडौंबाटसमेत एउटा टोली पठाइयो ।’ बल्ल अधिकारीले ढुंगेलको योजनामा हायुको हत्या भएको बताए ।

त्यसपछि हायुका साथी पारुहाङ राई कहाँ छन् भन्ने प्रश्न उनलाई साधियो । ‘उनले नै पारुहाङकोसमेत हत्या भइसकेको खुलाए,’ एसपी आचार्य भन्छन्, ‘बयानका आधारमा भोजपुरको अरुण गाउँपालिका–३ बस्ने २१ वर्षीय पारुहाङ राईको शव सूर्यविनायक नगरपालिका–७, देउराली भञ्ज्याङको झाडीमा भेटियो ।’

राईकोसमेत शव भेटिएपछि बल्ल ढुंगेलले कसुर स्वीकारे । एसपी आचार्यका अनुसार, उनले २४ मंसिरमै हायुलाई हथौडाले टाउकोमा हानेर हत्या गरेका थिए । ज्यामिरेकोटमा हत्या गरेर फ्याँकेकोमा करिब दुई दिनपछि घटनास्थलबाट निकालेर मोटरसाइकलमा लगेर इनारभित्र हालेको पाइएको छ । ‘हत्या गरेको दुई दिनपछि शव निकालेर मोटरसाइकलमा करिब २५ मिनेटको बाटो हिँडाएर लगेको भेटिएको छ,’ आचार्यले भने ।

प्रहरीका अनुसार, वैदेशिक रोजगारीमा बोलिभिया पठाउने भन्दै ढुंगेलले हायुबाट ५ लाख रुपैयाँ लिएका थिए, राईसँग ६ लाख रुपैयाँ लिएका थिए । ‘त्यही पैसा फिर्ता गर्नु पर्दैन भनेर हत्या गरेको देखिन्छ,’ उनले थपे, ‘जयरामचाहिँ देवराजका मिल्ने साथी रहेछन्, उनलाई दुई लाख रुपैयाँ दिन्छु भनेर हत्यामा संलग्न गराएको देखिन्छ ।’ प्रहरीका अनुसार, उनी विशेषतः शव व्यवस्थापनमा प्रयोग भएको देखिन्छ ।

अधिकृतहरूका अनुसार, जतिबेला राईलाई उनीहरुले जंगलतिर लिएर गएका थिए, त्यतिञ्जेल उनलाई आफ्ना साथी हायु मारिइसकेको थाहै थिएन । ‘रमाइलो गर्न जाउँ भन्दै रक्सीका बोतलहरुसमेत लिएर गएको देखिन्छ,’ प्रहरी भन्छ, ‘तर, ढुंगेलले फकाएर लिएर गएर हत्या गर्ने योजना बनाएका रहेछन् ।’

अधिकृतहरूका अनुसार, दुवै जनाको हत्यामा एउटै हथौडा प्रयोग भएको देखिन्छ, प्रहरीले त्यसलाई ढुंगेलकै कोठाबाट बरामद गरेको छ । घटनास्थलमा जाँदा लगाएको हिलाम्य कपडाहरुसमेत बरामद भएको प्रहरी बताउँछ । 

गौरव पोखरेल गौरव कान्तिपुरका पत्रकार हुन् । उनी सुरक्षा मामिला र सुशासनका विषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully