सिन्धुलीका २५ वर्षीय युवाको ललितपुरमा हत्या, इनारभित्र भेटियो शव

वैदेशिक रोजगारीका लागि जाने तरखरमा रहेका केशवराज हायुको हत्यामा संलग्नताको आरोपमा प्रहरीले २ जना शंकास्पदलाई नियन्त्रणमा लिइसकेको छ ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

25-year-old youth from Sindhuli murdered in Lalitpur, body found in well

काठमाडौँ — सिन्धुलीको गोलन्जोर गाउँपालिका–ं५ स्थायी घर भएका २५ वर्षीय केशवराज हायुको ललितपुरमा हत्या भएको छ ।

वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका हायुको शव लुभुमा रहेको एक कृषि फार्मको इनारमा फ्याँकेको अवस्थामा बिहीबार भेटिएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख होविन्द्र बोगटीले बताए ।

‘इनारको बिर्को खुला रहेछ, स्थानीयले शंका लागेपछि खबर गरे,’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बोगटीले भने, ‘त्यसपछि प्रहरी टोलीले त्यहाँ पुगेर अनुसन्धान थालेको थियो ।’

अनुसन्धानमा खटिएको टोलीले शुक्रबार दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । हाल प्रहरी हिरासतमा रहेकामध्ये एकजना मृतक हायुकै आफन्त हुन् । विस्तृत अनुसन्धान चलिरहेको भन्दै प्रहरीले उनको नाम खुलाएको छैन ।

अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार, हालसम्मको जाँचमा हायुको अन्यत्रै हत्या गरेर मोटरसाइकलमा त्यहाँसम्म ल्याएर छाडेको हुनसक्ने देखिएको छ । 

‘यो आर्थिक विषयका कारण दुई/तीन जनाको संलग्नतामा भएको हत्या जस्तो देखिन्छ,’ ती अधिकृतले भने, ‘थप केही व्यक्ति पक्राउ पर्नेबित्तिकै विस्तृतमा खुल्छ ।’

प्रहरीका अनुसार, आरोपितमध्ये एकजनाको कोठाबाट हत्यामा प्रयोग भएको हम्मर, कपडालगायत बरामद भइसकेको छ ।

कान्तिपुर

Link copied successfully