निर्विकल्प निर्वाचन भएकोले आयोगको तयारीमा कुनै कमी छैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

सिंहदरबारमा राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिबीचको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेन-जी आन्दोलनपछिको निर्वाचन भएकाले तयारीमा कुनै पनि कमी नरहेको बताएका हुन् ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

There is no shortage in the preparation of the Commission as it is a free election: Acting Chief Election Commissioner Bhandari

काठमाडौँ — प्रतिनिधिसभाको फागुन २१ का लागि तोकिएको निर्वाचन निर्विकल्प भएकाले निर्वाचन आयोगले तयारीमा कुनै पनि कमजोरी बाँकी नराखेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सिंहदरबारमा बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिबीचको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जेन-जी आन्दोलनपछिको निर्वाचन भएकाले तयारीमा कुनै पनि कमी नरहेको बताएका हुन् । 'निर्वाचनको विकल्प निर्वाचन मात्रै हो । निर्विकल्प निर्वाचन भएकोले आयोगले तयारी पूरा गरेको छ । तयारीमा कुनै कमजोरी छैन,' भण्डारीले भने ।

निर्वाचन सम्पन्न गर्नका लागि आयोग पूर्ण रुपमा तयार रहेको पनि भण्डारीले बताए । उनले निर्वाचन सम्पन्न गराउनका लागि हुने तयारीमा केही प्रक्रियागत कुरा मात्रै बाँकी रहेको उनको भनाइ छ ।

त्यस्तै, निर्वाचनमा सुरक्षा चुनौती फरक किसिमको हुने आकलन गरिएको पनि भण्डारीको भनाइ छ । उनले गृह मन्त्रालयले सुरक्षा प्रत्याभूति गरेको जानकारी आयोगलाई प्राप्त भएको पनि बताए । विगतमा निर्वाचन गर्दाखेरि जोखिम, उच्च जोखिम गरी निर्वाचन क्षेत्र वर्गीकरण गरिने उल्लेख गर्दै भण्डारीले यसपटक फरक हुने बताए । दलहरू तथा स्वतन्त्रबाट उम्मेदवारको विरोधीबीच विवाद र सुरक्षा जोखिम हुनसक्ने उनको भनाइ थियो । 

नयाँ र पुराना शक्तिबीचको संघर्षका कारण निर्वाचनमा सुरक्षा चुनौती हुनसक्ने उनको भनाइ थियो । 'पहिला शान्तिपूर्ण निर्वाचन भएका ठाउँमा निर्वाचन बिथोल्ने प्रयास हुनसक्छ । पहिला उच्च जोखिमको भनेकामा शान्तिपूर्ण हुन सक्छ,' उनले भने ।

सबै पक्षलाई निर्वाचनको पक्षमा लाग्नका लागि पनि भण्डारीले आग्रह गरेका थिए ।

कान्तिपुर

Link copied successfully