अन्य क्षेत्रमा जस्तै एआईको प्रयोग राजनीतिमा पनि व्यापक बन्दै गइरहेको छ । खासगरी निर्वाचनमा मतदातालाई आकर्षित गर्न राजनीतिक दल, नेता वा यिनका समर्थकले एआईको सदुपयोग/दुरुपयोग गर्ने गरेको पाइन्छ । विश्व राजनीतिमा पनि भारतको गतवर्षको लोकसभा चुनावलाई ‘पहिलो एआई चुनाव’ को संज्ञा दिइएको थियो भने पाकिस्तानको २०२४ को निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खानले एआई सफल प्रयोग गरेर चर्चित बनेका थिए ।
What you should know
काठमाडौँ — आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई सामाजिक सञ्जालको ढोकाबाट छिरेर तपाईं हाम्रो हात–हातमा आइपुगेको छ । के यसको प्रभाव मनोरञ्जन वा सिर्जनशील काममा मात्रै छ त ? राजनीतिक अस्थिरता होस् वा चुनावी सरगर्मी, एआईले तपाईं हामीलाई अनेकन स्वरूपमा प्रभाव पारिरहेका छन् ।
त्यसैले त एआई विश्वभरका राजनीति र निर्वाचनका लागि नयाँ बहस र चिन्ताको विषय बनेको छ । अनि विश्वका पछिल्ला निर्वाचनहरूमा एआई प्रयोग चुनावी रणनीतिको केन्द्रमा पुगेको छ । प्रचार, मतदाता संलग्नता र छवि निर्माणदेखि लिएर गलत सूचना र मतदाता दमनसम्म, एआईले चुनावी प्रक्रियाको स्वरूप नै बदलिदिएको छ ।
भारतको २०२४ को लोकसभा चुनाव नै हेरौं । धेरैले यसलाई ‘पहिलो एआई चुनाव’ को संज्ञा दिए । किनकि तमिलनाडुमा द्रविड मुनेत्र कसगम (डीएमके) पार्टीले आफ्ना दिवंगत नेता एम करुणानिधिको एआई सिर्जित अवतार प्रयोग गर्दै चुनावी कार्यक्रममा प्रयोग गर्यो । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि एआई प्रयोग गरी हिन्दी भाषणलाई तमिल भाषामा रियल–टाइम अनुवाद गरेर सम्बोधन गरेका थिए । यसले गैरहिन्दीभाषी मतदातासँग प्रत्यक्ष संवादको सम्भावना खोलेको थियो । उता, बलिउड कलाकार आमिर खान र रणवीर सिंहले मोदीविरोधी टिप्पणी गरेको भन्दै फैलाइएका ‘डीपफेक भिडियो’ ले उत्तिकै चर्चा बटुलेको थियो ।
सन् २०२४ मै भएको अमेरिकी राष्ट्रपतीय चुनावमा पनि एआई प्रयोग विवादको विषय बनेको थियो । न्यु ह्याम्पसायरमा हजारौं मतदातालाई राष्ट्रपति जो बाइडेनको जस्तो सुनिने एआई ‘क्लोन’ आवाजमा ‘रोबोकल’ आयो, जसले ‘नोभेम्बरका लागि मत जोगाउन’ भन्दै प्राइमरीमा मतदान नगर्न आग्रह गरेको थियो । घटनालाई मतदाता दमनको प्रयास ठहर गर्दै संलग्न कन्सल्टेन्टमाथि अभियोग दायर गरिएको थियो ।
नेपाली राजनीति पनि एआईका प्रभाव र दुष्प्रभावको सन्निकट छ । किनकि सामाजिक सञ्जालमा एआई प्रयोग गरेर नेताहरूलाई छेडखानी गर्नेदेखि, मिथ्या सूचना फैलाउने काममा नेता, कार्यकर्तादेखि समर्थक र सोसल मिडिया इन्फ्युलेन्सरहरूसम्म अग्रसर देखिन्छन् । यीमध्ये कतिपयले यो विषयलाई हल्काफुल्का मनोरञ्जन मानिरहेका छन् भने कसैले राजनीतिक अभीष्ट ।
राजनीतिमा एआईको प्रत्यक्ष तथा परोक्ष प्रयोग बढ्दै गएको देखिन्छ, एआईको प्रयोग स्वयंमा नराम्रो होइन तर यसको दुरुपयोग मिस इन्फर्मेसन फैलाउन भइरहेको छ, जुन आपराधिक कार्य हो : शैलेन्द्रराज गिरी अध्यक्ष, एआई एसोसिएसन नेपाल
जस्तो कि, गत बुधबार बिहानको कुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा निवर्तमान सांसद असिम शाहको फेसबुक पेजबाट एउटा छोटो भिडियो पोस्ट भयो । आठ सेकेन्डको उक्त भिडियोमा रास्वपा सभापति रवि लामिछाने, उद्योग, वाणिज्य तथा ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहजस्तै देखिने व्यक्ति सँगै हिँडिरहेको देखिन्छ । क्याप्सनमा उल्लेख गरिएको ‘फागुन २१’ ले आगामी निर्वाचनमा रवि, कुलमान र बालेन एउटै राजनीतिक मोर्चामा उभिन सक्ने संकेत दिएको रूपमा पनि राजनीतिक वृत्तमा अर्थ्याइएको छ । बिहान ८ बजेर २८ मिनेटमा पोस्ट गरिएको भिडियोको क्याप्सनमा नेता शाहले ‘कमिङ सुन टुगेदर– फागुन २१’ लेखेका छन् । यो सामग्री तयार पार्दासम्म उक्त भिडियो ६ सयभन्दा बढी पटक सेयर भइसकेको छ ।
तर, भाइरल भइरहेको यो भिडियो वास्तविक भने होइन । एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिको सहायतामा सिर्जना गरिएको उक्त भिडियोले विभिन्न सन्देश दिन खोजेको देखिन्छ । एकातर्फ रवि, कुलमान र बालेन सँगै छन् भन्ने सांकेतिक सन्देश प्रवाह गरिएको छ भने अर्कोतर्फ सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले धरानका मेयर हर्कराज राईलाई समेत समावेश गर्नुपर्ने टिप्पणी गरेका छन् । कतिपयले भने यसलाई ‘मिडिया ट्रायल’ का रूपमा व्याख्या गरेका छन् ।
***
राजनीतिक वृत्तमा एआईद्वारा सिर्जित सामग्रीको प्रयोग यो नै एक्लो उदाहरण भने होइन । अर्को यस्तै उदाहरण हो, एमाले महाधिवेशन दौरानमा एमाले नेता प्रदीप ज्ञवाली रोएको जस्तो देखिने भिडियो । गत २८ मंसिरमा भृकुटीमण्डपमा भएको एमाले महाधिवेशनका क्रममा ज्ञवाली रोएर बाहिरिएको खबर केही सञ्चारमाध्यममा प्रकाशित भयो । त्यसपछि उनी रोएको जस्तो देखिने तस्बिर र भिडियो सामाजिक सञ्जालमा फैलिन थाल्यो ।
छोटो समयमै फेसबुक, एक्स, टिकटकलगायत प्लाटफर्ममा ती सामग्री भाइरल भए । तर, यथार्थमा ती तस्बिर र भिडियो वास्तविक थिएनन् । ३ मंसिरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दाको भिडियोलाई एआई प्रविधिको सहायताले परिमार्जन गरी गलत सन्देश प्रवाह गरिएको थियो । एमाले महाधिवेशनकै क्रममा एआई प्रयोग गरेर तयार पारिएको अर्को तस्बिर पनि सामाजिक सञ्जालमा निकै चर्चित बन्यो । महाधिवेशनस्थल मानिसले खचाखच भरिएको देखिने उक्त तस्बिर एमालेभित्रकै जिम्मेवार नेता तथा कार्यकर्ताले पोस्ट गरेपछि व्यापक ध्यान खिच्यो । पछि त्यो तस्बिर पनि एआईद्वारा सिर्जित भएको पुष्टि भयो ।
प्रचारप्रसारमा प्रयोग
एआईको प्रयोग कतिपयले राजनीतिक प्रचारप्रसारमा पनि गर्न थालेका छन् । जस्तो कि, एमाले महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले समेत आफ्नो आधिकारिक सामाजिक सञ्जाल खाताबाट एआई सिर्जित सामग्री पोस्ट गरेका छन् । गत मंगलबार बिहान ८ बजेर ३४ मिनेटमा पोस्ट गरिएको २१ सेकेन्डको भिडियोमा उनले अर्थमन्त्री हुँदा गरेका कामहरू एआईको माध्यमबाट प्रस्तुत गरेका छन् ।
भिडियोमा पत्रिकामा प्रकाशित तस्बिरहरूलाई चलायमान बनाइएको छ । दुःखद पार्श्वध्वनिका साथ नेपाली कम्युनिस्ट पार्टीका नेता पुष्पलाल श्रेष्ठ, एमाले नेता मदन भण्डारी र भरतमोहन अधिकारीका तस्बिरसमेत ‘हलचल’ गरेको देखिन्छ । ‘सुरेन्द्रप्रसाद पाण्डे सचिवालय’ नामक खाताबाट पनि यस्तै एआई सिर्जित भिडियो सामग्रीहरू पोस्ट हुँदै आएका छन् ।
एमालेले मात्रै प्रचारप्रसारमा एआई प्रयोग गरेका हुन् त ? होइन । पछिल्लो समय अन्य पार्टीको प्रचारप्रसार तथा नेताहरूको बदनामी गर्नसमेत एआई सिर्जित सामग्री प्रयोग हुन थालेको देखिन्छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माजस्तै देखिने व्यक्तिले बोल्दै गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भेटिन्छ, जसमा उनले ‘मैले पार्टी फुटाएको होइन, तिमीहरूको भ्रम फुटाएको हुँ । मक्किएको घरमा पुरिएर मर्नभन्दा नयाँ जग हाल्ने मिस्त्री बन्नु हजार गुना बेस हो’ भन्ने अभिव्यक्ति दिएको देखिन्छ । त्यस्तै, सोही पार्टीका कार्यकर्ताहरूले ठूलो प्रचार जुलुस भएको जस्तो देखिने एआई भिडियोहरू पनि पोस्ट गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रशंसामा समेत एआई सिर्जित भिडियोहरू बनाइएका छन् । एउटा भिडियोमा बायाँतर्फ दाहालको फोटो राखिएको छ भने दायाँतर्फ नेपाली झन्डा बोकेको ठूलो भीडले ‘रवि, बालेन, हर्के चिन्दैनौं, कांग्रेस, एमालेलाई भोट दिँदैनौं’ भन्दै नारा लगाएको देखिन्छ ।
रास्वपा सभापति रवि लामिछानेजस्तै देखिने व्यक्तिका प्रशंसागान गरिएका भिडियोहरू पनि भाइरल छन् । एउटा भिडियोमा सेतो बाघसँगै रविजस्तै देखिने व्यक्ति हिँडिरहेको देखिन्छ । पृष्ठभूमिमा रविकै आवाजजस्तो सुनिने अडियो बज्छ– ‘म भुइँको मान्छे हुँ, भुइँसम्म निहुरन सक्छु... मिडियाको हेडलाइनले अपराध गर्ने मान्छे डराउँछ होला । रास्वपा कायरहरूको पार्टी होइन, रवि लामिछाने कायरहरूको नेता होइन ।’
बहाना पनि
एआई केवल प्रचारप्रसारका लागि मात्र होइन, गल्ती लुकाउने बहानाका रूपमा पनि प्रयोग हुन थालेको देखिन्छ । गत २४ भदौको प्रदर्शनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आगलागी हुँदा पैसा जलेको भिडियो बाहिरिएको थियो । देउवाको सचिवालयले उक्त भिडियो एआई सिर्जित भएको दाबी गर्दै अस्वीकार गरेको थियो ।
पछि देउवाले पनि ती सबै भिडियो एआईद्वारा बनाइएका हुन् भन्दै पन्छिन खोजे । तर, ती भिडियो एआई सिर्जित नभएको पुष्टि भइसकेको छ । यसबारे कान्तिपुरले तथ्य जाँच (फ्याक्ट चेक) समेत गरेको थियो । त्यसअघि २०७६ मा तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ७० करोड रुपैयाँ लेनदेनसम्बन्धी अडियो सार्वजनिक हुँदा पनि उनले त्यसलाई एआई सिर्जित भन्दै अस्वीकार गरेका थिए । तर, व्यापक आलोचना भएपछि उनले २०७६ फागुन ८ मा नैतिकताका आधारमा राजीनामा दिएका थिए ।
पुरानाको बदनाम, नयाँको तारिफ
सामाजिक सञ्जालमा भाइरल हुने धेरैजसो एआई सिर्जित सामग्री पुराना दलका नेताहरूलाई बदनाम गर्ने खालका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक दाहाल आपसमा हानाहान गरेको जस्तो देखिने, कांग्रेस सभापति देउवा, ओली र दाहाल सँगै बसेको अवस्थामा दाहाललाई प्रहरीले पक्राउ गरेको जस्तो देखिने, कांग्रेस महामन्त्री गगन थापा बाख्रा चराउँदै गरेको जस्तो देखिने डिपफेक भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन् ।
यसको ठीक उल्टो, नयाँ वा वैकल्पिक भनिएका नेताहरूको प्रशंसागान गरिएका सामग्री बढी देखिन्छ । बालेन शाह र ओली हानाहान गरेको जस्तो देखिने भिडियो, बालेन विजयी र ओली पराजित भएको सन्देश दिने दृश्य, ओलीलाई रवि लामिछानेले घण्टीले हानेको जस्तो देखिने भिडियोहरू पनि व्यापक रूपमा फैलिएका छन् ।
निर्वाचनमा एआई बढ्ने संकेत
राजनीतिमा एआईको प्रत्यक्ष तथा परोक्ष प्रयोग बढ्दै गएको एआई एसोसिएसन नेपालका अध्यक्ष शैलेन्द्रराज गिरी बताउँछन् । ‘एआईको प्रयोग स्वयंमा नराम्रो होइन तर यसको दुरुपयोग मिस इन्फर्मेसन फैलाउन भइरहेको छ, जुन आपराधिक कार्य हो,’ उनी भन्छन् । चुनाव नजिकिँदै जाँदा यस्तो प्रयोग झनै बढ्ने अधिवक्ता तथा डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलको भनाइ छ । ‘राजनीतिक दल, तिनलाई समर्थन गर्ने समूह वा कार्यकर्ताले आफ्नो पक्षमा माहोल बनाउन वा विपक्षीलाई घाटा पुर्याउन एआई सामग्री प्रयोग गर्न सक्छन्,’ उनी भन्छन्, ‘निर्वाचन नचाहने वा चुनाव भाँड्न चाहने समूहले पनि यस्ता सामग्री प्रयोग गर्न सक्छन् ।’
पत्रकार तथा तथ्यजाँचक उमेश श्रेष्ठ ‘सालोक्य’ का अनुसार एआईबाट प्रचार सामग्री बनाउनु अहिले अत्यन्तै सजिलो भइसकेको छ । ‘एउटा फोटोबाटै डिपफेक भिडियो बनाउन सकिन्छ । यो प्रविधिको राम्रो पक्ष हो तर यसको दुरुपयोग गम्भीर समस्या हो,’ उनी भन्छन् ।
त्यस्तै, पत्रकार तथा तथ्यजाँचक दीपक अधिकारी पनि एआई सिर्जित सामग्री पहिचान गर्न झनै जटिल बन्दै गएको बताउँछन् । ‘पहिले एआई सामग्री सजिलै छुट्याउन सकिन्थ्यो । अहिले प्रविधि परिस्कृत हुँदै जाँदा प्रयोगकर्तालाई यथार्थ र कृत्रिम छुट्याउन कठिन हुँदै गएको छ,’ उनी भन्छन् ।
नियमनको अभाव
एआई एसोसिएसनका अध्यक्ष गिरी पनि गलत मनसायले एआई प्रयोग गर्नु गैरकानुनी कार्य भएको बताउँछन् । ‘कसैको फोटो वा आवाज भ्रामक उद्देश्यले प्रयोग गर्नु साइबर कानुनअनुसार अपराध हो,’ उनी भन्छन् । तर निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहिताको मस्यौदामा एआई प्रयोगबारे स्पष्ट व्यवस्था छैन । दुष्प्रचार, भ्रामक सूचना र घृणात्मक भाषण निषेध गरिए पनि एआई सिर्जित सामग्रीबारे प्रत्यक्ष उल्लेख गरिएको छैन ।
यसलाई गम्भीर कमजोरी मान्दै अधिवक्ता सिग्देल भन्छन्– ‘निर्वाचन आयोगले एआई प्रयोगबारे स्पष्ट नीति बनाउनैपर्छ । कुन प्रयोग वैध र कुन अवैध हो भन्ने छुट्याउने व्यवस्था आवश्यक छ ।’ उनका अनुसार आयोगले ‘बिग टेक’ कम्पनीहरूसँग समन्वयगरी निर्वाचनका बेला भ्रामक एआई सामग्री पहिचान र नियन्त्रण गर्ने संयन्त्र विकास गर्नुपर्छ । पत्रकार तथा तथ्यजाँचक श्रेष्ठले पनि निर्वाचन आयोगले एआई प्रयोगबारे आचारसंहितामा खुलाएर जानुपर्नेमा जोड दिए ।
राजनीतिमा एआईको बढ्दो प्रयोगले सूचना प्रवाहको स्वरूप मात्र होइन, लोकतान्त्रिक प्रक्रियामै चुनौती थप्दै गएको देखिन्छ । आगामी निर्वाचनमा यसको प्रभाव कति गहिरो हुने हो, त्यसको नियमन र जवाफदेहिता अझै अस्पष्ट नै छ । एआईको प्रयोग कतै विवादको विषय बनिरहेको छ भने कतै चुनावी रणनीतिको साध्य । कतै मतदातालाई भड्काउन प्रयोग भइरहेको छ भने कतै मतदातालाई सुविचारित बनाउन ।
पाकिस्तानको २०२४ को निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खानको अभियान एआई प्रयोगको सबैभन्दा चर्चित उदाहरण बन्यो । जेलमा रहेका र सार्वजनिक उपस्थितिमा प्रतिबन्धित खानले प्रत्यक्ष भाषण गर्न नपाए पनि उनको पार्टी पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) ले एआईको सहायतामा भर्चुअल अभियान चलाएको थियो । चुनावपछि सार्वजनिक गरिएको ‘विजय भाषण’ एआई सिर्जित थियो । जेलभित्र लेखिएको पाठलाई खानकै कृत्रिम आवाजमा प्रस्तुत गरिएको उक्त भिडियोमा उनका पुराना दृश्यहरू प्रयोग गरिएका थिए ।
यस्तै खालको अभ्यास दक्षिण कोरियामा सन् २०२२ मा भएको थियो । त्यहाँ ‘एआई युन’ नामक डिजिटल अवतार सार्वजनिक गरियो । उम्मेदवार युन सुक–योलको यो अवतार युवा भाषाशैली र हास्यरस प्रयोग गर्दै अनलाइन मतदातासँग निरन्तर संवादमा थियो । उता, स्लोभाकियामा २०२३ को चुनावअघि अन्तिम क्षणमा फैलिएको एआई सिर्जित अडियोले चुनावमा असर पारेको थियो । चुनावी मौन अवधिमै फैलिएको उक्त अडियो खण्डन गर्ने समय नपाउँदा प्रतिद्वन्द्वी उम्मेदवार पराजित भएका थिए ।
यी घटनाक्रमसँगै विभिन्न अध्ययनले अबका निर्वाचनमा एआई प्रयोगबारे चिन्ता व्यक्त गरिएको छ । एलोन युनिभर्सिटी पोल र इम्याजिनिङ द डिजिटल फ्युचर सेन्टरले सन् २०२४ मे महिनामा गरेको अध्ययनले निर्वाचनमा एआईको प्रयोगले चुनाव प्रभावित हुने निष्कर्ष निकालेको छ ।
अध्ययनअनुसार ७८ प्रतिशत अमेरिकीले एआई चुनावी परिणाम प्रभावित पार्न प्रयोग हुने विश्वास गरेका छन् भने ७३ प्रतिशतले सामाजिक सञ्जालमा नक्कली सूचना फैलाउन एआई दुरुपयोग हुने चिन्ता व्यक्त गरेका छन् । अधिकांश नागरिक आफैंले एआईबाट बनाइएका नक्कली सामग्री छुट्याउन नसक्ने अवस्था पनि देखिएको छ । ५२ प्रतिशतले नक्कली अडियो, ४७ प्रतिशतले नक्कली भिडियो र ४५ प्रतिशतले नक्कली तस्बिर चिन्न नसक्ने बताएका छन् ।
एआई डिपफेक प्रयोग गर्ने राजनीतिज्ञमाथि कडा कारबाही हुनुपर्ने माग पनि उत्तिकै देखिएको छ । ९३ प्रतिशत उत्तरदाताले यस्ता उम्मेदवारलाई सजाय हुनुपर्ने बताएका छन् । अध्ययनले एआईलाई प्रविधिको विषय मात्र नभई लोकतन्त्र र निर्वाचनको विश्वसनीयतामाथि गम्भीर चुनौतीका रूपमा चित्रित गरेको छ ।
