दिल्लीको एपोलो अस्पतालमा तीन महिनाको उपचारपछि रविलक्ष्मी चित्रकार घर फर्केकी हुन् ।
काठमाडौँ — काठमाडौंको डल्लुमा भदौ २४ गते प्रदर्शनकारीको आगजनीमा परी सख्त घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार उपचारपछि घर फर्केकी छन् ।
प्रदर्शनकारीले उनको घरमा लगाएको आगोमा परी उनी गम्भीर घाइते भएपछि उपचारका लागि दिल्ली लगिएको थियो । खनालका स्वकीय सचिव कृष्ण भट्टराईले दिल्लीको एपोलो अस्पतालमा तीन महिना उपचारपछि घर फर्केको जानकारी दिए ।
त्रिभुवन विमानस्थलमा चित्रकारले जेन–जीको आवरणमा देशलाई नष्ट गर्न खोज्नेलाई सरकारले कारबाही गर्नुपर्ने बताइन् । उनले भावुक हुँदै आफ्नो उपचारमा सहयोग गर्नेलाई धन्यवाद दिइन् ।
‘मैले किताबमा पढेको थिएँ, हिटलरको ग्यास च्याम्बर । म आफैं परेँ । मलाई बचाउन जसले प्रत्यन्त गर्नुभएको छ । हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्, ‘जेन–जी भाइबाहिनीका मुकुन्डो ओढेर देशलाई विध्वंस पार्ने प्रयत्न गरे । राज्यले चिनेर छिट्टै कारबाही गरोस् ।’
