कर्णालीमा मनाइँदै छोरा तिहार

याे पर्वमा आमाले छोरालाई निधारमा अक्षता र घाटीमा फूलको माला लगाइदिएर सगुनको रुपमा घरमै बनाइएका सेलरोटी, फिनीरोटी, चिनीरोटी जस्ता परिकार खान दिने चलन छ ।

पुस ६, २०८२

रामचन्द्र न्यौपाने

Son Tihar being celebrated in Karnali

What you should know

डोल्पा — कर्णाली प्रदेशका जुम्ला, डोल्पालगायतका जिल्लामा आइतबार छोरा तिहार मनाइँदै छ । भाईटीका सकिएको दुई महिनापछि पौष शुक्ल प्रतिपदाका दिन यहाँ छोरा तिहार मनाउने चलन छ ।

यो पर्वमा बिहानै नुहाईधुवाई गरेर छोराहरुले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ ।

छोरा तिहारमा आमाले छोरालाई निधारमा अक्षता र घाटीमा फूलको माला लगाइदिएर सगुनको रुपमा घरमै बनाइएका सेलरोटी, फिनीरोटी, चिनीरोटी जस्ता परिकार खान दिने चलन छ । टीका लगाइसके पछि छोरालाई सुख, शान्ति, दीर्घायू र प्रगतिको कामना गर्दै आर्शिवाद समेत दिने गरिन्छ । टीका लगाएपछि छोराले दक्षिणाको रुपमा सक्दो पैसा, लुगाकपडालगायत कोसेली दिएर गोडामा ढोगेर आर्शिवाद लिने गर्छन् ।

यो पर्वमा आमाको हातबाट टीका थाप्नका लागि जिल्लाबाहिर पुगेका छोराहरु पनि घर पुग्ने गर्छन् । काम विशेषले घर पुग्न नसक्ने छोराहरु पछिल्लो समय फोन, भिडियो कलबाट आशिर्वाद लिने र आमाले पनि छोराका लागि बनाएको कोसेली छुट्यायर राखिदिने गर्छन् ।

छोरा तिहारमा आमाको हातबाट टीका थापिसके पछि सम्पूर्ण पुरुषहरु जम्मा भई प्रत्येक घर–घर तथा गाउँबस्तीमा पुगेर भाईटीकामा देउँसी जस्तै भैलो खेल्ने प्रचलन छ । यसरी भैलो खेलेर उठेको रकमबाट धारा, पधेँरा,बाटोलगायतका सार्वजानिक सम्पदा मर्मत सम्भार गरिन्छ भने बचेको रकमबाट पाठीभात (वनभोज) जाने गरिन्छ ।

आजको दिनमा महिलाहरु सार्वजानिक स्थलमा भेला भएर चुट्किला, देउडा खेलेर रमाइलो गर्ने र पीरव्यथा साटासाट गर्ने गर्छन् । छोरा तिहार डोल्पालगायत कर्णालीका केही जिल्लामा मात्रै मनाइने गरेको त्रिपुरासुन्दरी नगरपालिका–१ का रमानन्द उपाध्यायले बताए ।

Son Tihar being celebrated in Karnali

शताब्दीयाै‌ंदेखि मनाइदै आएको यो पर्वकाे रौनक पहिलाको जस्तो नभएको उनले बताए । ‘पहिला धेरैजसो मान्छे गाउँमै हुन्थे । रौनक पनि त्यतिकै हुन्थ्यो, अहिले धेरैजसो सहरबजारतिर छन्, कतिपय रोजगारीको सिलसिलामा जिल्ला बाहिर छन्, त्यहीँ भएर पनि अचेल रौनक छैन्,’ उपाध्यायले भने । इतिहास बोकेका यस्ता चाडपर्वमा नयाँ पुस्ताको चासो कम हुँदा लोप हुन थालेको उनले बताए ।  

भाईतिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई यहाँ भैलो भन्ने गरिन्छ । यहाँ देउसी फरक तरिका र लयमा खेलिने गरिन्छ । भैलो खेलेर उठेको चामल, धान, पैसा खेल्न गएकाहरु मिलेर वनभोज खाने प्रचलन रहेको समेत उनले बताए । 

छोरा तिहारमा आमा नहुनेहरुले भने स्थानीय मठमन्दिरमा गएर पुजारीको हातबाट टीका, अक्षता लगाएर मनाउने गर्छन् ।

छोरा तिहारमा खेलिने भैलोको केही अंश यस्तो छ : 

औंसिया बार, भैलो
दरमुद बार, भैलो
दरमुद्या खोली, भैलो
बाँस झोली, भैलो 
बाँसभित्र, भैलो
आर्या न तार्या, भैलो
पिपलु पाती, भैलो
रायकी छाती, भैलो
बाखरी खानु, भैलो
त्यो बाखरी कसो सुवाला, भैलो
कसो सुवाला, भैलो
भैलो दिने घरिनाको एक कान सुन छ, भैलो 
एक कान मोती, भैलो 
सूर्यकी ज्योति, भैलो
भेडो दिन्नन् डोर्‍याइए ल्याउला, भैलो
घोडो दिन्नन चढी ल्याउला, भैलो
त्यहीँ पर जाउँला पिरती लगाउँला, भैलो
पिरतीका बार, भैलो
आकाश जरा, भैलौ,
पात्तला शिला, भैलो

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully