पर्सामा बर्दीमै छिरे भारतीय सुरक्षाकर्मी, सीडीओ भन्छन्- 'थाहा छैन'

नेपाली भूभाग प्रवेश गरेका भारतीय अधिकारीलाई स्थानीय बासिन्दाले ‘नेपालमा के गर्न आएको ?’ भन्दै प्रश्न गरेको भिडियोमा सुनिन्छ ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Indian security personnel enter Parsa in uniform, CDO says - 'I don't know'

काठमाडौँ — पर्साको धोबिनीमा बर्दीसहितका भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेका छन् ।

भारतीय प्रहरीको गाडीमै सुरक्षाकर्मी आएपछि शुक्रबार स्थानीयले रोकेको गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले बताए । उनका अनुसार, सीमावर्ती क्षेत्रमा खटिएको प्रहरी वडा नं. ५ मा प्रवेश गरेको थियो ।

‘कुनै मान्छेलाई समात्न आएको जस्तो बुझिएको छ, म पनि त्यो दिन बाहिर थिएँ,’ चौहानले कान्तिपुरसँग भने, ‘पछि यो विषय नेपाल प्रहरीले नै मिलाएको थियो ।’

स्थानीय बासिन्दाले सार्वजनिक गरेको भिडियोमा भारतीय प्रहरी अधिकारीलाई ‘नेपालमा के गर्न आएको ?’ भन्दै प्रश्न गरेको सुनिन्छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने बर्दीमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको बारे थाहा नभएको बताए । ‘सादा पोसाकमा आएको भन्ने सुनेको थिएँ, प्रहरीले समन्वय गरेर पठाएको भन्ने बुझेको छु,’ उनले भने । 

नेपाल-भारत सीमा क्षेत्रमा यसअघि पनि भारतीय सुरक्षाकर्मी बर्दी र हतियारसहित प्रवेश गर्ने गरेका छन् । पटकपटक सीमावर्ती क्षेत्रका बासिन्दाले उनीहरुलाई नियन्त्रणमा समेत लिएको विगत छ । तर, उनीहरुलाई बिनाकुनै कारबाही भारतीय पक्षको जिम्मा लगाएर छाड्ने गरिन्छ । 

कान्तिपुर

Link copied successfully