विज्ञ समूहको सिफारिसका आधारमा श्रमिकको स्वास्थ्य परीक्षण : श्रम सचिव

श्रम मन्त्रालयले श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएका समस्यालाई विज्ञ टोलीको सुझावअनुसार नीतिगत र कानुनी सुधारमार्फत समाधान गर्ने बताएको छ ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Health screening of workers based on recommendations of expert group: Labor Secretary

काठमाडौँ — श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्यसम्बन्धी विज्ञ समूहले दिएको सिफारिसका आधारमा वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी व्यवस्था भइरहेको जनाएको छ ।

‘वैदेशिक रोजगारमा जाने नेपाली नागरिकको स्वास्थ्य अवस्थालाई सुरक्षित, व्यवस्थित, मर्यादित बनाउने चुनौती छ,’ नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल मेडिकल व्यवसायी संघ र गाम्का नेपालद्वारा आप्रवासन दिवसका अवसरमा आयोजित स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै श्रमसचिव कृष्णहरि पुष्करले भने, ‘त्यसलाई परीक्षणको माध्यमबाट व्यवस्थित गर्न श्रम मन्त्रालयअन्तर्गत स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवको अध्यक्षतामा रहेको विज्ञ टोलीले दिँदै आएको सिफारिसअनुसार धेरै नीतिगत कानुनी र प्राविधिक व्यवस्था गर्दै आएको हो ।’

उनका अनुसार स्वास्थ्य परीक्षणको व्यवस्थापन सरकारका नेतृत्वबाट हुने निर्देशन, अन्तर्राष्ट्रिय कानुन राष्ट्रिय आवश्यकता र श्रमिकको भावनालाई समेत सम्बोधन गरेर व्यवस्था स्थापन गरेको हुन्छ । ‘त्यही भएर समयमा समयमा हुने फेरबदलका कुरा नीतिगत परिवर्तनका स्वाभाविक प्रक्रिया हो,’ उनले भने, ‘नीतिगत परिवर्तनले गर्दा कसैलाई पनि कुनै प्रकारको अन्याय र मर्का पर्नु हुदैन । कसैलाई पनि आर्थिक शोषण पनि हुनु हुदैन भन्ने कुरामा सरकार सचेत छ ।’

उनले स्वास्थ्य परीक्षणमा देखिएका समस्या एउटै टेबलमा बसेर समाधान गर्ने बताए । ‘श्रमिकको हक अधिकार र सुविधालाई मुख्य बिन्दुका रुपमा राखेर सोच्ने, लगानी गर्ने र त्यसको पनि प्रतिफल सुरक्षित गर्ने विषयमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्छु,’ उनले भने । 

कान्तिपुर

Link copied successfully