सभामुख घिमिरे र चिनियाँ राजदूत छन सोङबीच बिदाई भेट

बीआरआई परियोजनाबाट दुवै मुलुकले लाभ लिन सक्छन् : सभामुख

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Farewell meeting between Speaker Ghimire and Chinese Ambassador Chen Song

What you should know

काठमाडौँ — सभामुख देवराज घिमिरेसँग आइतबार नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन् सोङले बिदाई भेट गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायतका विषयमा छलफल भएको छ ।

सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत छन सोङलाई बधाई दिँदै नेपाल–चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार तथा दुवै देशका संसदहरूबीच सम्बन्ध मजबुत बनाउन उनले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे । 

सभामुखले राजदूत सोङको नेपाल बसाइ सुखद र अविस्मरणीय रहेको विश्वास व्यक्त गरे । भेटमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजना गरिएका विविध कार्यक्रमहरूले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याएको बताए । उनले नेपाल र चीन असल छिमेकी, घनिष्ठ मित्र र भरपर्दो साझेदार रहँदै आएको तथा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, आपसी सम्मान, सहयोग र समझदारीका आधारमा सम्बन्ध अघि बढिरहेको स्पष्ट पारे । 

सभामुख घिमिरेले नेपाल एक–चीन सिद्धान्तप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः दोहोर्‍याउँदै नेपाली भूमिमा चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे । भेटमा चीनको नेतृत्व तहबाट नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू–जडित मुलुकमा रूपान्तरण गर्ने दिशामा प्रदान हुँदै आएको सहयोगको सभामुखले प्रशंसा गरे । साथै नेपाल–चीन संसदबीच प्रतिनिधिमण्डलको नियमित भ्रमण र संवादले द्विपक्षीय सम्बन्धलाई अझ फराकिलो र सुदृढ बनाएको उल्लेख गरे । 

सभामुख घिमिरेले चीन सरकारबाट प्राप्त हुँदै आएको उदार विकास सहायताप्रति नेपाल आभारी रहेको बताउँदै बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)सम्झौता अन्तर्गतका तथा अन्य विकास सहायता परियोजनाहरू यथाशीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 

राजदूत छन सोङले चीनले नेपाललाई कुटनीतिक सम्बन्धमा उच्च प्राथमिकता दिएको बताए । उनले आफ्नो कार्यकालमा सन् २०२० मा भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण सफलता प्राप्त भएको उल्लेख गरे ।

राजदूत सोङले नेपाल र चीनबीच जनस्तरको सम्बन्ध उच्च भए पनि आर्थिक सम्बन्ध विकास हुन नसकेको बताए । उनले केही दिनअघि नेपाल–चीन आर्थिक सहकार्य र लगानी सम्बन्धी कार्यशाला भएको स्मरण गर्दै धेरै चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । राजदूत सोङले आफ्नो चीन वर्षे कार्यकालमा सभामुखसहित नेपालका शीर्ष नेताहरूको न्यानो र सकारात्मक सहयोग सदैव स्मरणीय रहने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully