थुनामुक्त गर्ने जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको आदेश
What you should know
बुटवल — बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा थुनामा रहेका गोर्खा मिडियाका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी थुनामुक्त भएका छन् ।
जोशीले एकमुष्ट ३ करोडको बैंक ग्यारेन्टी बुझाएर थुनामुक्त भएको रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताए ।
बिगो रकम बुझाएर थुनामुक्त हुन माग गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालतको आदेशबाट शुक्रबार थुनामुक्त भएका थिए । छविलालको हकमा निवेदनको रित नपुगेको भन्दै पुन: जिल्ला अदालतमा निवेदन दिन र बिगोबापतको रकम जम्मा गर्न आदेश भएको थियो । त्यहीअनुसार आफूहरूले शुक्रबार नै निवेदन दिएको र आइतबार जिल्ला अदालतका न्यायाधीश डिल्लीराज शर्माको इजलासले थुनामुक्त गर्ने आदेश दिएका हुन् । आदेशपछि आइतबार नै सबै प्रक्रिया पूरा गरेर थुनामुक्त भएको कानुन व्यवसायीसमेत रहेका जोशीका छोरा रोचक जोशीले बताए ।
बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।
त्यसविरूद्ध रवि लामिछाने र छविलाल जोशी उच्च अदालत गएका थिए । त्यसअघि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।
बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले रविसँगै छविलाल जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।
जेन-जी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दाको फाइल बचेको थियो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
बुटवलको सुप्रिम सहकारी ठगीमा रवि र छविलालसहिका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछाले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।
लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश जिल्ला अदालतले गरेको थियो ।
पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा थिए । जिल्ला अदालतको आदेशपछि छविलालले पनि बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने पाउने सुविधा पाएका छन् ।
