दाउन्ने खण्डको निर्माण जनवरीभित्र नै सम्पन्न गर्न मन्त्री घिसिङले निर्माण कम्पनीलाई निर्देशनसमेत दिए ।
What you should know
काठमाडौँ — नारायणगढ–बुटवल सडक विस्तारअन्तर्गत दाउन्ने खण्डमा कामको गति दोब्बरले बढाउन ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माण कम्पनीलाई निर्देशन दिएका छ्न् ।
सडकका कारण सर्वसाधारणले धेरै सास्ती भोग्नु परेको भन्दै मन्त्री घिसिङले उक्त सडकको शनिबार साँझ निरीक्षण गर्दै छिटो काम सक्नुपर्नेमा जोड दिए । दाउन्ने खण्डको निर्माण जनवरीभित्र नै सम्पन्न गर्न मन्त्री घिसिङले निर्माण कम्पनीलाई निर्देशनसमेत दिए ।
'दैनिक ट्राफिक जाम भयो काम भएन, सास्ती खेप्नु परो भनेर सर्वसाधारणको गुनासा आउँछन्,' उनले निर्माण व्यवसायीलाई सँगै राखेर भने, 'अब ढिला हुनु भएन, छिटो काम सक्नु परो, अरु कुरा थाहा छैन ।'
नारायणगढ–बुटवल सडक विस्तार थालेको सात वर्ष पुग्नै लाग्दा पनि दाउन्ने खण्डको सास्ती अझै हटेको छैन । १४ किलोमिटर खण्डमा यात्रु र चालकले दैनिक सास्ती भोग्नुपर्ने बाध्यता छ ।
धेरै ठाउँमा कालोपत्र सकिए पनि दाउन्ने खण्डमा ट्राफिक जामको समस्या बढी छ । भत्काएर साँघुरो बनाएको सडकमा मालवाहक सवारीसाधन पल्टिँदा यात्रुले थप ट्राफिक जामको सास्ती खेप्नुपर्ने बाध्यता छ ।
विस्तार थालिएको १ सय १३ किलोमिटर सडकमध्ये ८२.४६६ किमि चार लेन र १९.३४ किमि दुई लेन कालोपत्र गरिएको आयोजनाले जनाएको छ । उक्त सडक खण्डमा पर्ने ६४ पुलमध्ये ५८ र ४ सय ६८ कल्भर्टमध्ये ४ सय ५६ वटा निर्माण भइसकेका छन् ।
विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । उक्त कम्पनीले काममा ढिलाइ गरेपछि सुरुका दिनमा आयोजना कार्यालयले छिटो काम सक्नुपर्ने माग गर्दै उसको केन्द्रीय कार्यालयमा पुगेर समेत दबाब दिएको थियो ।
