बंगलादेशका पत्रकारलाई प्रश्न- 'किन निसानामा परे मिडिया ?'

'द डेली स्टार'का एक पत्रकारले कान्तिपुरसँग कुरा गर्दै आफूसहित २८ जना पत्रकार तथा कर्मचारी करिब चार घण्टासम्म कार्यालयमै थुनिएको बताएका छन् ।

पुस ५, २०८२

दया दुदराज

Question to Bangladeshi journalists - 'Why is the media being targeted?'

What you should know

काठमाडौँ — विद्यार्थी नेता तथा 'इन्कलाब मञ्च' का प्रवक्ता सरिफ ओस्मान हाडीको निधनपछि आक्रामक भिडले बंगलादेशका दुई प्रमुख सञ्चारमाध्यममाथि आक्रमण गरेका छन् । 

हाडीको निधनपछि अशान्त बनेको भिडले बिहीबार राजधानी ढाकासहित विभिन्न सहरमा आगजनी, तोडफोड र आक्रमण गरेका थिए । सो आक्रमणका क्रममा दुई प्रमुख दैनिक 'प्रोथोम आलो' र अंग्रेजी दैनिक 'द डेली स्टार'का कार्यालयमा बिहीबार राति आगजनी र तोडफोड भएको हो । 

बंगलादेशको दैनिक पत्रिका 'न्युएज'का पत्रकार रसद अहमदका अनुसार बिहीबार राति करिब ११ बजेदेखि सयौँ प्रदर्शनकारी सञ्चारमाध्यमका कार्यालय वरिपरि भेला भएका थिए । 

अहमदले कान्तिपुरसँग भने, 'मध्यरात करिब १२:४५ तिर आगजनी भयो । भवनभित्र काम गरिरहेका पत्रकारहरु बाहिर निस्किन सकेनन् । पछि आर्मीले उद्धार गर्‍यो । उद्धारका लागि जानुभएका हाम्रा सम्पादक नर्कुल कविरमाथि पनि उत्तेजक भिडले आक्रमण गर्‍यो ।' अहमदका अनुसार करिब १५ मिनेटको दौरानमा दुवै पत्रिकामाथि आगजनी भएको हो । 

'द डेली स्टार'का एक पत्रकारले कान्तिपुरसँग कुरा गर्दै आफूसहित २८ जना पत्रकार तथा कर्मचारी करिब चार घण्टासम्म कार्यालयमै थुनिएको बताए । 'भवनभित्र धुवाँ भरिएपछि सास फेर्नै गाह्रो भयो । ज्यान जोगाउन आठतले भवनको छतमा जानुपर्‍यो,' उनले भने । सेनाको सहयोगमा उनीहरूलाई उद्धार गरिएको थियो ।

आक्रमणपछि दुवै पत्रिकाको शुक्रबारको मुद्रण संस्करण र अनलाइन सेवा अवरुद्ध भएको थियो । 'प्रोथोम आलो'ले २७ वर्षे इतिहासमा पहिलो पटक नियमित प्रिन्ट संस्करण प्रकाशित गर्न नसकेको जनाएको छ । पत्रिकाले ‘पाठकका नाममा’ जारी गरेको वक्तव्यमा कार्यालयमा भएको तोडफोड र आगजनीका कारण मुद्रण संस्करण निकाल्न नसकिएको र अनलाइन पोर्टल पनि केही समय अवरुद्ध भएको उल्लेख गरेको छ ।

वक्तव्यमा भनिएको छ, 'हामीसँगै द डेली स्टारको कार्यालयमा पनि आतंककारी हमला, तोडफोड र आगजनी भयो । सरिफ ओस्मान हाडीको हत्यालाई बहाना बनाएर विभिन्न स्वार्थ समूहले नियोजित रूपमा यी आक्रमण गरेको विश्वास गर्ने पर्याप्त आधार छन् ।' पत्रिकाले यसलाई प्रेस स्वतन्त्रता, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण भन्दै कडा शब्दमा निन्दा गरेको छ ।

त्यस्तै द डेली स्टारले ३५ वर्षको इतिहासमा पहिलो पटक शुक्रबार समाचार प्रकाशित गर्न सकेन । आगजनीपछि दुवै पत्रिकाका कार्यालयका ठूलो भाग जलेर नष्ट भएको तस्बिर सार्वजनिक भएका छन् । घटनापछि बंगलादेशको अन्तरिम सरकारले पत्रकारमाथिको आक्रमणलाई ‘सत्य र लोकतन्त्रमाथिको आक्रमण’ भन्दै निन्दा गरेको छ । प्रधानमन्त्री मोहम्मद युनुसले दोषीलाई छानबिन गरी कारबाही गरिने प्रतिबद्धता जनाउँदै दुवै पत्रिकाका सम्पादकसँग भेट गरेका छन् । 

आगामी फेब्रुअरीमा हुने आमनिर्वाचनको पूर्वसन्ध्यामा भएको यस घटनालाई सञ्चार क्षेत्रले स्वतन्त्र पत्रकारितामाथिको गम्भीर प्रहारका रूपमा मूल्यांकन गरेको छ । द डेली स्टारले आफ्नो वक्तव्यमा भनेको छ, 'उनीहरूले हाम्रो कार्यालय जलाउन सक्छन्, तर हाम्रो प्रतिबद्धता जलाउन सक्दैनन् । हामी लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति अडिग रहँदै सत्यको खोज जारी राख्नेछौं ।'

किन निशानामा परे मिडिया ?

बंगलादेशका मिडिया किन आक्रमणमा परे भन्नेबारे हामीले बंगलादेशका केही पत्रकारहरुसँग कुराकानी गर्‍यौं । 'बिजनेस स्ट्रान्डर्ड'का पत्रकार मासुम बिल्लाका अनुसार केही प्रभावशाली इन्फ्लुएन्सरहरुले मिडियामाथि झुटो आरोप लगाएर आगजनी र तोडफोड गरेको बताए । 

'अमेरिका, फ्रान्स लगायत अन्य मुलुकमा बसोबास गर्ने केही प्रभावशाली सामाजिक सञ्जाल इन्फ्लुएन्सरले आफ्ना करोडौँ फलोअर्सलाई प्रयोग गर्दै ती पत्रिकामाथि आक्रमण गर्न उक्साए । उनीहरूले पत्रिकालाई ‘राष्ट्रविरोधी’, ‘पूर्व सरकारका एजेन्ट’ भन्दै प्रचार गरे,' मासुमले कान्तिपुरसँग कुरा गर्दै भने । 

उनका अनुसार झुटा अफवाहमार्फत पहिले नै आक्रोशित जनतालाई थप उक्साइयो । उनले थपे,'ती इन्फ्लुएन्सरहरूले पत्रिकालाई ‘भारत समर्थक’ वा ‘अवामी लिगका एजेन्ट’ भनेर चिनाए । तर ती सबै आरोप निराधार छन् । सञ्चारगृह ध्वस्त पार्न र स्वतन्त्र आवाज दबाउन ती आरोपलाई बहाना मात्र बनाइएको हो ।'

त्यस्तै 'न्यूएज'का पत्रकार रसद अहमदले पनि आक्रमणकारीहरूले पत्रिकाहरुमाथि भारतीय न्यारेटिभ फैलाइरहेको आरोप लगाएको बताए । उनले कान्तिपुरसँग भने, 'आक्रमणकारीहरूले ढाकामा 'छायाँ भारतीय मिडिया' रहेको दाबी गर्दै ती सञ्चारमाध्यमले बंगलादेशमा भारतीय न्यारेटिभ फैलाइरहेको आरोप लगाए । यही कारण देखाउँदै उनीहरूले ती पत्रिकालाई निसाना बनाए ।'

यी पत्रिकाहरुले भारतीय दृष्टिकोण र एजेन्डालाई प्रवर्धन गरेको आरोप लगाउँदै सञ्चारगृहलाई लक्ष्य बनाएको महमदले बताए ।'उनीहरूको तर्क थियो- यी पत्रिकाले भारतीय दृष्टिकोण र एजेन्डा प्रवर्द्धन गर्छन् । यही धारणा आक्रमणको आधार बन्यो। तर यी सबै आरोप निराधार हुन्,' उनले भने, 'उनीहरूले कारवान बजार क्षेत्रमा रहेको 'भारतीय प्रभुत्व' र 'सांस्कृतिक फासीवाद' तोड्न चाहेको भन्दै सञ्चारगृहलाई लक्ष्य बनाए ।' उनी न्युएजमा भन्दा पहिले डेलीस्टारमै कार्यरत थिए । 

'ग्लोबल भ्वाइसेस'का पत्रकार जुल्केर नाइएनले यी आक्रमण आकस्मिक भिडको प्रतिक्रिया मात्रै नभएको बताए । 'हाडीको मृत्यु तत्कालीन कारण थियो । तर दुवै पत्रिकाको भनाइअनुसार केही समूहले उनको मृत्युप्रतिको शोक र जनआक्रोशलाई प्रयोग गर्दै सञ्चारमाध्यमविरुद्ध हिंसा भड्काए । यी आक्रमण आकस्मिक भिडको प्रतिक्रिया मात्र थिएनन्,' जुल्केरले भने, 'अगस्ट २०२४ मा अघिल्लो सरकार अपदस्थ भएपछि बंगलादेशको राजनीतिक बहसको स्वरूप नै बदलिएको छ । प्रोथोम आलो र द डेली स्टारले धर्मनिरपेक्ष लोकतान्त्रिक मूल्य र खोजमूलक पत्रकारितालाई निरन्तर प्राथमिकता दिँदै आएका छन् ।'

जुल्केरका अनुसार पत्रिकालाई 'हसिना समर्थक' वा 'भारत समर्थक' भनेर चित्रित गरिएको थियो । उनले भने, 'यी दुवै पत्रिकाले आफू स्वतन्त्र र निष्पक्ष रहेको स्पष्ट पार्दै आएका छन् ।'

आगामी निर्वाचनअघि देशलाई अस्थिर बनाउने र आलोचनात्मक आवाज दबाउने प्रयासले पनि मिडियामाथि हमला भएको हुन सक्ने उनले बताए । 'सन् २०२६ को फेब्रुअरीमा हुने आमनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक तनाव तीव्र बन्दै गएको छ । यी आक्रमण राष्ट्रिय निर्वाचनअघि देशलाई अस्थिर बनाउने र आलोचनात्मक आवाज दबाउने प्रयास हुन सक्छ,' उनले भने ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully