पत्रकारहरूलाई कार्यालयमै थुनेर गरिएको आगजनीपछि पत्रिका बन्द भए पनि स्वतन्त्र पत्रकारिताप्रतिको विश्वास अझ बलियो भएको बंगलादेशका दुई प्रमुख सञ्चारमाध्यमले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।
What you should know
काठमाडौँ — बंगलादेशका दुई प्रमुख राष्ट्रिय दैनिक पत्रिका 'दैनिक प्रोथोम आलो' र 'द डेली स्टार'का कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेपछि शुक्रबार दुवै पत्रिकाको प्रकाशन र अनलाइन सेवा बन्द हुन पुगे । ढाकाको कारबान बजारस्थित सञ्चारमाध्यमका कार्यालयमा बिहीबार राति भएको आक्रमणपछि प्रोथोम आलोले शुक्रबार आफ्नो २७ वर्षे इतिहासमा पहिलो पटक नियमित अंक प्रकाशित गर्न सकेन ।
प्रोथोम आलोले ‘पाठकका नाममा’ जारी वक्तव्यमा कार्यालयमा व्यापक तोडफोड र आगजनी भएकाले प्रिन्ट संस्करण निकाल्न नसकिएको र अनलाइन पोर्टल पनि केहीबेर अवरुद्ध भएको जनाएको छ । पत्रिकाले क्षतिग्रस्त प्राविधिक प्रणाली चाँडै पुनःस्थापना गरी शनिबारदेखि नियमित प्रकाशन सुचारु गर्ने प्रतिबद्धता जनाएको छ । साथै, घटनापछि पत्रिकाले प्रेस स्वतन्त्रता, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामा प्रत्यक्ष आक्रमण भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ ।
‘हामीसँगै द डेली स्टारको कार्यालयमा पनि आतंककारी हमला, तोडफोड र आगजनी भएको थियो । विभिन्न स्वार्थ समूहले शरिफ ओस्मन हाडीको हत्याको बहाना बनाएर नियोजित रूपमा यी आक्रमण गरेका हुन् भन्ने कुरामा विश्वास गर्ने पर्याप्त आधार छन्,’ प्रोथोम आलोको विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र पत्रकारितामा यो कालो दिन थियो । यी घटनामार्फत आसन्न निर्वाचनलाई बिथोल्ने मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा बंगलादेशको छवि धमिल्याउने स्पष्ट प्रयत्न गरिएको थियो ।’
बिहीबार साँझ करिब ११ बजे यी सञ्चारमाध्यमका कार्यालयका वरिपरि प्रदर्शनकारी भेला भएको र मध्यरातितिर आगजनी गरिएको थियो । शुक्रबार साँझ कान्तिपुरसँग कुरा गर्दै द डेली स्टारका एक पत्रकारले आफूसहित २८ जना पत्रकार तथा कर्मचारी करिब चार घण्टा कार्यालयमै थुनिएको र पछि अग्नि नियन्त्रक टोली तथा सेनाले उद्धार गरी सुरक्षित रूपमा घर फर्काएको बताए । आगलागीपछि भवनभित्र धूवाँ भरिँदा सास फेर्नसमेत गाह्रो भएको उनको अनुभव छ । ‘त्यो क्षण सम्झिन पनि सकिरहेको छैन । एक्कासि एउटा ठूलो भीडले कार्यालयमा तोडफोड र आगजनी गर्न थाल्यो,’ उनले भने, ‘ज्यान जोगाउन आठतले भवनको छतमा गएर बस्यौं ।’
आगजनी र तोडफोडपछि द डेली स्टारको शुक्रबारको प्रकाशन बन्द भयो । शनिबारदेखि प्रकाशन पुनः सुरु हुने कान्तिपुरको सम्पर्कमा आएका द डेली स्टारका पत्रकारले जानकारी दिए । ‘कार्यालय जाने अवस्था छैन, सबैले रिमोट्ली काम गरिरहेका छौं । त्यस्तो कहालीलाग्दो घटना भए पनि शनिबारदेखि प्रकाशन पुनः सुरु गर्दै छौं,’ उनले भने ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार ३२ वर्षीय युवा नेता हाडीको हत्या भएपछि प्रदर्शन भड्किएको र सोही क्रममा सयौं प्रदर्शनकारीले सञ्चारमाध्यमका कार्यालयमा पनि आक्रमण गरेका हुन् । आगजनीका कारण दुवै भवनका ठूलो भाग जलेर नष्ट भएको तस्बिरहरूमा देखिन्छ ।
घटनापछि बंगलादेशको अन्तरिम सरकारले पत्रकारमाथिको आक्रमणलाई ‘सत्य र लोकतन्त्रमाथिको आक्रमण’ भन्दै निन्दा गरेको छ । दोषीलाई कारबाही गर्ने प्रतिबद्धता पनि जनाएको बीबीसीको समाचारमा उल्लेख छ । प्रधानमन्त्री मोहम्मद युनुसले दुवै पत्रिकाका सम्पादकसँग भेट गरेका छन् । आगामी फेब्रुअरीमा हुने आमनिर्वाचनको सन्दर्भमा भएको यो घटनालाई स्वतन्त्र पत्रकारितामाथिको कालो दिनका रूपमा सञ्चार क्षेत्रले मूल्यांकन गरेको छ ।
‘उनीहरूले हाम्रो कार्यालय जलाउन सक्छन् तर हाम्रो लगाब जलाउन सक्दैनन्,’ द डेली स्टारले लेखेको छ, ‘हामी लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति अडिग विश्वाससहित कुनै दबाबमा नपरी जवाफदेहिता माग्ने प्रयास जारी राख्दै निरन्तर अघि बढिरहनेछौं भन्ने कुरामा हाम्रा पाठक, समर्थक र आलोचक सबैलाई आश्वस्त पार्न चाहन्छौं ।’
