शनिबार विष्णुलाई जिल्ला प्रहरी कार्यालयमै ल्याएर नयाँ साइकल र उनका बालबालिकाका लागि चिसोबाट जोगिने लुगा प्रदान गरिएको हो ।
What you should know
राजविराज — ज्याला–मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११, इनर्वाका विष्णु सदाको नयाँ साइकल चढ्ने सपना साकार भएको छ । ‘कान्तिपुर’को ‘घरखर्च’ स्तम्भमा शुक्रबार सदाको दिनचर्या छापिएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई नयाँ साइकल र चिसोबाट जोगिने लुगा प्रदान गरेको हो ।
घरदेखि ९/१० किलोमिटरको दूरीमा रहेको राजविराजमा ज्याला–मजदुरी गरेर जसोतसो खर्च चलाइरहेका विष्णुको पुरानो साइकल पटक–पटक बाटोमा बिग्रेर झन् समस्या भइरहेको विषय पढेर मन दुख्न पुगेको एसपी गौतमकुमार केसीले बताए ।
‘नयाँ साइकल चढ्ने झन् उहाँको सपना रहेको देखेपछि हामीले सानो सहयोग गरेका छौं,’ उनले भने, ‘हाम्रा सबै प्रहरी साथीहरूको योगदानले उहाँलाई सानो सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’
शनिबार विष्णुलाई जिल्ला प्रहरी कार्यालयमै ल्याएर नयाँ साइकल र उनका बालबालिकाका लागि चिसोबाट जोगिने लुगा प्रदान गरेको हो । रहर र आवश्यकता हुँदाहुँदै पनि नयाँ साइकल किन्न नसकेका उनी नयाँ साइकल सहयोगमा पाएपछि हर्षित भएका छन् ।
‘हुन त म जिल्ला प्रहरी कार्यालय पहिलो पटक आएँ तर वर्षौंदेखिको नयाँ साइकल चढ्ने सपना प्रहरीले साकार पारिदिन्छन् भनेर कल्पनामै थिएन,’ उनले थपे, ‘अत्यधिक खुसी महसुस भइरहेको छ । सबै प्रहरी सरहरूप्रति आभारी रहनेछु ।’
३६ वर्षका विष्णुको परिवारमा आमा–बुवा, श्रीमती, छोरा र छोरी गरी ६ जना छन् । दुई छोरीको बिहेमा खर्च टार्न एक लाख रुपैयाँ ऋण लिएका उनलार्ई मासिक ५ हजारका दरले किस्ता तिर्नुपर्दा छाक टार्नै ज्याला अपुग भइरहेको छ ।
