दाउन्ने सडक खण्ड र नमुना सदरमुकामको काममा ढिलासुस्ती नगर्न मन्त्री घिसिङको निर्देशन

मन्त्री घिसिङले स्थलगत अनुगमन गर्दै ठेकेदार र सरकारी निकायका कर्मचारीलाई अपुग भएको विषय सरकारलाई जानकारी गराउने र काम समयमै सक्न निर्देशन दिएका हुन् ।

पुस ५, २०८२

नवीन पौडेल

Minister Ghisingh directs not to delay work on Daunne road section and model district headquarters

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन बुटवल-नारायणगढ सडक खण्डको दाउन्ने र पूर्वी नवलपरासीको नमुना सदरमुकामस्थलको निरीक्षण गर्दै तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।  

नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको यी दुवै आयोजनाका काममा ढिलासुस्ती भएको जनगुनासो आएपछि मन्त्री घिसिङले स्थलगत अनुगमन गर्दै ठेकेदार र सरकारी निकायका कर्मचारीलाई अपुग भएको विषय सरकारलाई जानकारी गराउने र काम समयमै सक्न निर्देशन दिएका हुन् ।  

२०७६ वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामसहित शिलान्यास गरेको पूर्वी नवलपरासीको नमुना सदरमुकामको डीपीआर र रुख कटानको आदेश समयमा नै नआउँदा काममा ढिलाइ भएको थियो । त्यसपछि पनि विभिन्न कारण देखाउँदै ठेकेदारले काममा ढिलाइ गर्दा सरकारी कार्यालय भाडामा बस्नुपर्ने बाध्यता छ । 

नमुना सदरमुकामको निरीक्षण गर्दै मन्त्री घिसिङले ठेक्का लाएका भवनको काम म्यादभित्र नै सम्पन्न गर्न र बाँकी कामका लागि आवश्यक पहल र कागजी प्रक्रिया पूरा गर्न निर्देशन दिएका हुन् । अहिले ९ वटा भवन निर्माण भइरहेको र पहिलो आयोजनाको काम अहिलेसम्म ३५ प्रतिशत मात्र सम्पन्न भएको छ । 

बुटवल-नारायणगढ सडक खण्ड आयोजनाको काम पनि तेस्रो पटक म्याद थप गर्दा समेत सम्पन्न भएको छैन । अनुगमनको क्रममा पुगेका मन्त्री घिसिङले ठेकेदार कम्पनीका प्रतिनिधिलाई दाउन्नेमा यात्रुले धेरै वर्षदेखि सास्ती भोग्नुपरेको भन्दै जनशक्ति थप गरेर थपिएको म्यादभित्र काम गर्न निर्देशन दिएका छन् ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully