स्थानीयले खोला किनारमा केही हातहतियार तथा गोलीगठ्ठा देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई जानकारी गराएपछि प्रहरी टोलीले घटनास्थल पुगेर हातहतियार बरामद गरेको हो।
विराटनगर — भदौ २३ र २४ को जेनजी आन्दोलन र प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार तथा गोलीगठ्ठा रतुवा खोलाको काँसघारीमा फेला परेका छन् । शुक्रबार प्रहरीले बेवारिसे अवस्थामा रहेका ती हतियार फेला पारेको हो ।
स्थानीयले खोला किनारमा केही हातहतियार तथा गोलीगठ्ठा देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई जानकारी गराएका थिए। सूचनापछि खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर ती हातहतियार बरामद गरेको हो। प्रहरीका अनुसार बरामद गरिएका सबै हातहतियार खिया लागेको अवस्थामा थिए।
बरामद गरिएका हातहतियार तथा गोलीगठ्ठामा म्याग्जिनसहित दुई थान इन्सास राइफल, म्याग्जिनबिनाको एक थान इन्सास राइफल, ३०३ राइफलका १३४ राउण्ड, एसएलआरका ५ राउण्ड, इन्सासका २० राउण्ड तथा गोली राख्ने बिन्दुली तीन थान रहेका छन्।
बरामद गरिएका सम्पूर्ण हातहतियार तथा गोलीगठ्ठा रीतपूर्वक नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
