रास्वपा सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

थुनामुक्त भइसकेपछि लामिछानेले व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नुपरे अदालतलाई पूर्वजानकारी दिनुपर्नेछ । देशभित्र भ्रमणमा भने कुनै रोकटोक छैन ।

पुस ४, २०८२

घनश्याम गौतम, दुर्गा दुलाल

Order to release RSP President Lamichhane on bail

What you should know

काठमाडौँ — सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई बैंक जमानतमा रिहा गर्न उच्च अदालतले बिहीबार आदेश गरेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनको हकमा पर्ने बचतकर्ता तथा लगानीकर्ताको रकम सुरक्षित हुने गरी दामासाहीले हुने बिगो बैंक जमानत स्विकारेर रिहा गर्न आदेश दिएको हो । 

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पक्राउ परेका लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशले नै यसअघि पुर्पक्षका लागि जेल चलान भएका थिए । न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले बिहीबार भने बैंक जमानत स्वीकार गरी थुनामुक्त गर्न आदेश दिएको हो । त्यसका लागि पछि अदालतबाट फैसला हुँदा थप दायित्व सिर्जना भए तिर्न बुझाउन मञ्जुर भएको कागज जिल्ला अदालत रूपन्देहीमा गर्नुपर्नेछ । 

अदालतले तोकेका अन्य सर्तमा जिल्ला अदालतले १३ माघ २०८१ मा सुरु थुनछेकका क्रममा माग गरेको धरौटी रकम स्वीकार गर्ने र लामिछानेले निवेदनसाथ पेस गरेको बैंक जमानत (ग्यारेन्टी) २ करोड ७४ लाख ८४ हजार बिगोका हकमा सुरक्षित गर्ने उल्लेख छन् । थुनामुक्त भइसकेपछि लामिछानेले व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नुपरे अदालतलाई पूर्वजानकारी दिनुपर्नेछ । देशभित्र भ्रमणमा भने कुनै रोकटोक छैन । 

उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार आदेशको सक्कल मिसिल शुक्रबार रूपन्देही जिल्ला अदालत भैरहवा पुग्नेछ । त्यसपछि जिल्ला अदालतले उच्चको आदेश बमोजिमको बिगोको ग्यारेन्टी र पछि अदालतबाट फैसला हुँदा बिगोको हकमा थप दायित्व सिर्जना गरे तिर्न बुझाउन मञ्जुर भएको कागज लामिछानेलाई गराउनेछ । त्यसपछि तारिख लिएर उनी थुनामुक्त हुनेछन् । लामिछाने हाल ललितपुरस्थित नख्खु कारागारमा छन् । 

सुप्रिम सहकारी ठगीमा गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, सञ्चालक छविलाल जोशीसहित ४ जनाविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर संगठित अपराधसहितको पूरक अभियोगपत्र अदालतमा दायर गरिएको थियो । त्यसअघि ४२ जनालाई प्रतिवादी बनाएर ५५ करोडभन्दा बढी बिगो दाबीसहित मुद्दा चलाइएको थियो । पहिलो अभियोगपत्रमा लामिछाने प्रतिवादी थिएनन् । 

पूरक अभियोगपत्रमा सुनुवाइ गर्दै रूपन्देही जिल्ला अदालतले १३ माघ २०८१ मा लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । धरौटी बुझाएर रिहा भएपछि लामिछाने आफूलाई १ करोड धरौटी माग गर्ने आदेश न्यायपूर्ण नभएको भन्दै २६ फागुनमा उच्च अदालत बुटवल पुगेका थिए । उच्च अदालतले २२ चैतमा जिल्ला अदालतको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्‍यो । आदेश आएकै दिन लामिछाने काठमाडौंमा पक्राउ परेका थिए । त्यसपछि २५ चैतमा उनलाई कारागार चलान गरिएको थियो । 

लामिछाने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले गत ९ जेठमा उच्च अदालत बुटवल इजलासकै आदेश सदर गर्‍यो । त्यसपछि लामिछानेले आफ्नो भागमा पर्ने बिगो बराबर रकम बुझाएर धरौटीमा रिहा हुन अदालती प्रक्रिया सुरु गरेका थिए । त्यसका लागि उनले सुरुमा रूपन्देही जिल्ला अदालतमा निवेदन दिए । जिल्ला न्यायाधीश नारायण सापकोटाको इजलासले धरौटी लिएर रिहाको आदेश गर्न गत २६ साउनमा अस्वीकार गर्‍यो । त्यसविरुद्ध लामिछाने ९ भदौमा उच्च अदालत बुटवल पुगे । 

लामिछानेको मुद्दामा उच्च अदालतले ११ भदौमा कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो । २४ भदौको प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशीका मुद्दाका फाइल जोगिएका थिए । न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका भएकाले लामिछानेको मुद्दामा जोशीसमेतको मुद्दा एकैसाथ राख्न गत ३० असोजमा आदेश गरेको थियो । 

 उच्च अदालतले १३ कात्तिकदेखि निरन्तर पेसीमा राखेर सुनुवाइ गर्दै आएको थियो । निरन्तर तोकिएका पेसीमध्ये दुई पटक लामिछानेका कानुन व्यवसायीले र एक पटक जोशीका कानुन व्यवसायीले स्थगित गराएका थिए । २० कात्तिकमा न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सुरु मिसिल मगाउने आदेश दियो । न्यायाधीशद्वय आचार्य र अर्यालकै इजलासले गत २७ कात्तिकमा सुनुवाइ गर्दै सर्वोच्चबाट मूल अभियोगको सक्कल मिसिल मगाउने आदेश गरेको थियो । २५ मंसिरमा तोकिएको पेसी हेर्न नमिल्नेमा परेर स्थगित भएको थियो । 

बिहीबार भने हेर्न मिल्ने इजलासमा परेपछि बहस भएर आदेश भएको हो । लामिछानेका तर्फबाट कानुन व्यवसायीहरू नारायणदत्त कँडेल, महेन्द्र पाण्डे, दीपेन्द्र झा र बाबुराम पाण्डेले बहस गरेका थिए । छविलाल जोशीका तर्फबाट शिव गौडेल र रोचक जोशीले बहस गरेका थिए । जाहेरवाला नारायणबहादुर पहराईका तर्फबाट सञ्जीव घिमिरे र सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ र सहायक न्यायाधिवक्ता वसन्तराज पोखरेलले बहस गरेका थिए ।

एकै प्रकृतिको मुद्दाका अर्का प्रतिवादी गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी भने तत्कालका लागि थुनामै रहने भएका छन् । उनको हकमा बिगो बराबरको रकम बुझाएर थुनामुक्त हुने निवेदनको रीत नपुगेको ठहर उच्च अदालतले गरेको छ । जोशीका तर्फबाट निवेदनसँगै बैंक ग्यारेन्टी नबुझाएकाले थुनामुक्त हुने आदेश नआएको हो ।

जोशीले बैंक ग्यारेन्टी जम्मा गरेको निवेदन बिहीबार मात्र उच्च अदालतमा पेस गरेका थिए । उक्त निवेदन उच्च अदालतले स्वीकार गरे पनि त्यसलाई जिल्ला अदालतमै पेस गरेर रीत पुर्‍याउन भनिएको छ । जोशीका छोरा रोचकले शुक्रबार नै पुनः निवेदन र बिगोबमोजिमको बैंक ग्यारेन्टी बुझाउने जानकारी दिए । 

रास्वपा लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले थुनामुक्त गर्ने प्रक्रिया बिहीबार सुरु भइसकेको जानकारी दिए । अदालतले गरेको आदेशअनुसार सबै प्रक्रिया शुक्रबार पूरा हुने उनले बताए । ‘जिल्ला अदालत र सुरक्षा निकायसँग समन्वय गरेर शुक्रबार नै सभापतिज्यूलाई अदालतमा उपस्थित गराउँछौं,’ उनले भने, ‘उहाँ शुक्रबार नै रिहाइ हुनुहुनेछ ।’ 

लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी, काठमाडौंमा स्वर्णलक्ष्मी सहकारी, चितवनमा सहारा चितवन सहकारी र पर्सामा सानो पाइला सहकारीको रकम ठगीसम्बन्धी मुद्दा विचाराधीन छन् । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully