न्युन पारिश्रमिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी

उनले हामीले हाम्रो नागरिकलाई न्यून मूल्य र पारिश्रमिकमा, अन्तर्राष्ट्रिय श्रमको मूल्यभन्दा कम दरमा काममा पठाउन कदापी नहुने बताए ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Workers should not be sent abroad for low wages: Minister Bhandari

What you should know

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रमको मूल्यभन्दा कम पारिश्रमिकमा नेपाली कामदार विदेश पठाउन नहुने बताएका छन्।

 २५ औँ अन्तर्राष्ट्रिय आप्रवासनको व्यवस्थापन तथा पुनः एकीकरणसम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले श्रमको मूल्य र सुरक्षाको ग्यारेन्टी गरेर दक्ष, सीपयुक्त व्यक्तिलाई मात्र रोजगारको लागि अन्तर्राष्ट्रिय बजारमा पठाउनुपर्ने बताए। उनले भने, 'बढ्दै गइरहेको वैदेशिक रोजगारीप्रतिको आकर्षणलाई पूर्णरूपमा रोक्न सकिँदैन र रोक्न पनि नहुने अवस्था छ। अर्को देशमा आवतजावत गर्ने विषय व्यक्तिको व्यक्तिगत स्वतन्त्रताको विषय हो। तर यसो हुँदैमा हामीले हाम्रो नागरिकलाई न्यून मूल्य र पारिश्रमिकमा, अन्तर्राष्ट्रिय श्रमको मूल्यभन्दा कम दरमा काममा पठाउन कदापी हुँदैन।'

मन्त्री भण्डारीले पुँजीका लागि र श्रम बेच्न विदेशिनुपर्ने अवस्था रहेको भन्दै देशबाट मात्रै पनि वार्षिक ८ लाख ३९ हजार जनशक्तिले कामको खोजीमा बाहिर गइरहेको बताए। उनले पहिलो पटक जानेको संख्या पाँच लाख बराबर रहेको र त्यो अझ बढ्ने क्रममा रहेको बताए।उनले कुल घरायसी उत्पादनमा रेमिट्यान्सको हिस्सा २८ प्रतिशत रहेको र त्यसको ९० प्रतिशत उपभोगमै खर्च हुने बताए।

मन्त्री भण्डारीले विश्व बजारको मागअनुसार दक्ष, क्षमतावान् र सीपयुक्त जनशक्तिहरू विदेश पठाउन सक्नुपर्छ भने नेपालीहरू श्रम शोषणमा नपर्ने बताए। उनले भने, 'श्रम गर्न विदेश जान बाध्य नेपालीहरूलाई  केही मेनपावर कम्पनी तथा बिचौलियहरूले दुःख दिने गरेका छन्। वैदेशिक रोजगारीमा जानेहरूलाई ठगी गर्ने वा दुःख दिनेहरूलाई कारबाही गर्न मन्त्रालयले विशेष संयन्त्र तयार गर्दैछ।'

कान्तिपुर

Link copied successfully