रविको रिहाइका लागि बिहीबार नै अघि बढ्यो प्रक्रिया
What you should know
बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने शुक्रबार थुनामुक्त हुने भएका छन् । लामिछाने रूपन्देही जिल्ला अदालतमा स्वयं उपस्थित भएर कागज गर्नुपर्ने भएकाले अदालतको आदेश भए पनि उनी बिहीबार नै थुनामुक्त हुन नपाएका हुन् ।
लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगोबराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ ।
उच्च अदालतको आदेशको सक्कल मिसिल शुक्रबार रूपन्देही जिल्ला अदालत भैरहवा पुग्नेछ । त्यसपछि जिल्ला अदालतले उच्चको आदेशबमोजिमको बिगोको ग्यारेन्टी र पछि अदालतबाट फैसला हुँदा बिगोको हकमा थप दायित्व सिर्जना गरेमा तिर्न बुझाउ मञ्जुर भए सो को कागज गराई थुनामुक्त गर्न सर्तसहितको आदेश गरेको छ । त्यसमा रवि लामिछाने स्वयं उपस्थित भएर मञ्जुर भएको कागज गरेपछि तारेख लिएर उनी थुनामुक्त हुनेछन् ।
त्यसका लागि बिहीबारदेखि नै प्रक्रिया सुरु गरिएको र अदालतले गरेको आदेशअनुसार सबै प्रक्रिया शुक्रबार पूरा गर्ने रवि लामिछानेका स्वकीयसचिव अविनाश आचार्यले बताए । ‘जिल्ला अदालत र सुरक्षा निकायसँग समन्वय गरेर शुक्रबार नै हामीले सभापतिज्यूलाई अदालतमा उपस्थित गराउनेछौं,’ उनले भने, ‘त्यसपछि उहाँ शुक्रबार नै रिहाइ हुनुहुनेछ ।’
अदालतको आदेशअनुसार रवि लामिछानेले यसअघि बुझाएको १ करोड धरौटी उच्च अदालतले स्वीकार गरेको छ । त्यो बाहेकको २ करोड ७४ लाख ८४ हजारको बैंक ग्यारेन्टी पनि स्वीकार गरेको छ । त्यसपछि सिर्जना हुने दायित्व पनि रवि लामिछाने तिर्न तयार हुनुपर्ने सर्त र रवि लामिछाने विदेश यात्रा गर्नु पर्ने भएमा त्यसको पूर्वजानकारी अदालतलाई दिनुपर्ने पनि अदालतले आदेश गरेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।
तुलसीपुर उच्च अदालत बुटवल इजलासकै २०८१ चैत २२ को आदेशले रवि लामिछाने पक्राउ परेका थिए । काठमाडौंबाट पक्राउ परेका उनलाई सुरुमा जिल्ला कारागार भैरहवामा राखिएको थियो । अहिले लामिछाने अहिले ललितपुरको नख्खु कारागारमा छन् ।
भैरहवा कारागारमै थुनामा रहेका छविलाल जोशीको पनि शुक्रबारबाटै पुनः रितपूर्वकको निवेदनको प्रक्रिया सुरु हुने भएको छ । जोशीका छोरा रोचक जोशीले शुक्रवार नै पुनः निवेदन र बिगोबमोजिमको बैंक ग्यारेन्टी बुझाउने उनले बताए ।
