के पूर्वराजा ज्ञानेन्द्र आरएसएसको बैठकमा सहभागी हुन लागेका हुन् ?

सिलिगुडीस्थित गुप्तचर निकायका एक अधिकारीका अनुसार मोहन भागवत र पूर्वराजा ज्ञानेन्द्रबीच भेट हुन सक्ने सम्भावनाबारे चर्चा भए पनि यसको कुनै औपचारिक पुष्टि भएको छैन ।

पुस ३, २०८२

पर्वत पोर्तेल

Is former King Gyanendra going to attend the RSS meeting?

विराटनगर — पश्चिम बंगालको दोस्रो ठूलो सहर सिलिगुडीमा बिहीबार राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को क्षेत्रीय स्तरको बैठक आयोजना हुँदैछ । सिलिगुडी भू-राजनीतिक दृष्टिले संवेदनशील मानिन्छ । यो सम्वेदनशील ‘चिकेन नेक्स’ क्षेत्रमा आरएसएसले पहिलो पटक बैठक आयोजना गर्न लागेको हो । 

उत्तर बंगाल केन्द्रित बैठकमा संघका सर्वोच्च नेता मोहन भागवत सहभागी हुँदैछन् । आरएसएसको क्षेत्रीय संरचनासँग सम्बन्धित स्रोतका अनुसार भागवतले उत्तर बंगालका विभिन्न जिल्लाका संघ पदाधिकारीहरूसँग ‘बन्द कोठे’ छलफल गर्ने कार्यक्रम छ । बैठक संगठन सुदृढीकरणमा मात्रै सीमित नरही राजनीतिक अवस्थाको समग्र समीक्षामा केन्द्रित हुने बताइएको छ ।

आरएसएस इस्टर्न रिजन प्रमुख जलाधार महतोले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै बैठकमा उत्तर बंगालमा कमजोर बन्दै गएको भारतीय जनता पार्टी (भाजपा) को अवस्था, सीमावर्ती राजनीति तथा नेपालसंग जोडिएका विषयमा समेत छलफल हुने संकेत गरेका छन् । 

उत्तर बंगालमा पार्टी नेतृत्व प्रभावकारी देखिन नसकेको निष्कर्षसहित संघले आगामी दिनमा संगठनात्मक भूमिका बढाउने एजेन्डालाई  छलफलको मुख्यम विषय बनाएको स्रोतको दाबी छ ।

भाजपा सिलिगुडी जिल्ला सचिव अरुण मण्डलका अनुसार बैठकमा उत्तर बंगालका सात जिल्लाका ४० वर्षमुनिका प्रतिनिधिहरू सहभागी हुँदैछन् । आगामी लोकसभा तथा विधानसभा निर्वाचनलाई ध्यानमा राखेर संगठन, प्रचार र उम्मेदवार छनोटमा संघको प्रभावकारी भूमिका रहनेबारे छलफल हुने बताइएको छ ।

यसैबीच, पूर्व राजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा रहेकै समयमा सिलिगुडीमा आरएसएसको बैठक हुन लागेपछि उनी बैठकमा सहभागी हुने हुन् कि हैन भन्ने विषय चर्चामा आएको छ । स्रोतहरूका अनुसार पूर्वराजा आरएसएसको औपचारिक बैठकमा सहभागी हुने कार्यक्रम छैन । तर, आरएसएस नेतृत्वसँग उनको सम्भावित भेटबारे विभिन्न अड्कलबाजी सुरु भएको छ ।

सिलिगुडीस्थित गुप्तचर निकायका एक अधिकारीका अनुसार मोहन भागवत र पूर्वराजा  ज्ञानेन्द्रबीच भेट हुन सक्ने सम्भावनाबारे चर्चा भए पनि यसको कुनै औपचारिक पुष्टि भएको छैन ।

पूर्वराजा ज्ञानेन्द्र बुधबार अपराह्न सिलिगुडी पुगेका थिए । उनी पत्नी कोमलसहित मल्लगुडी क्षेत्रको पाँचतारे होटल कोर्टयार्ड बाई मेरियटमा बसेका छन् । भागवतसँग भेट भएमा सोही होटल वा अन्य कुनै स्थानमा हुन सक्ने अनुमान गरिएको छ ।

पूर्वतयारी वा संयोग ?

आरएसएस–निकट स्रोतहरूको दाबीअनुसार पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमण आकस्मिक नभई पूर्वतयारीसहित गरिएको हुन सक्ने अनुमान छ । स्रोतले भ्रमणबारे ज्ञानेन्द्रले आरएसएस नेतृत्वलाई केही साताअघि नै जानकारी गराइएको दाबी गरे पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

पूर्वराजा विगतमा पनि निजी, धार्मिक तथा स्वास्थ्यसम्बन्धी प्रयोजनका लागि भारत भ्रमण गर्ने गरेका छन् । यस पटकको भ्रमणचाहिँ अलि भिन्न छ । किन कि उनी पहिलो पटक पैदल मार्ग हुँदै भारत भ्रमणमा गएका छन् । ‘उनको भ्रमण संयोग मात्रैचाहिँ नहुन सक्छ’, भारतीय गुप्तचरका एक अधिकारी भन्छन्,‘आरएसएसको बैठककै बेला उनी आउनु अर्थपूर्ण छ ।’

यदि भेट भयो भने नेपालमा बढ्दो राजनीतिक अस्थिरता, हिन्दू राज्यसम्बन्धी वैचारिक बहस, सीमावर्ती क्षेत्र (तराई–उत्तर बंगाल) को अवस्था तथा दक्षिण एसियाली राजनीतिका विषयमा कुराकानी हुन सक्ने अनुमान विश्लेषकहरूले गरेका छन् । एक भारतीय पत्रकार भन्छन्,‘यस्ता भेटबारे पुष्टि नहुँदासम्म यसलाई सम्भावनाको तहमा मात्र हेर्नुपर्छ ।’

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully