पूर्वराजा ज्ञानेन्द्र र श्रीमती कोमल होटल मेची क्राउनमा लन्च गरेपछि एक साताका लागि भारत भ्रमणमा निस्केको पुष्टि सुरक्षा स्रोतले गरेका छन्।
What you should know
विराटनगर — पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती बुधबार अपराह्न स्थलमार्ग हुँदै सुटुक्क भारत प्रस्थान गरेका छन् । उनीहरू पूर्वी नाका काँकडभिट्टाबाट पश्चिम बंगालको सिलिगुडी तर्फ गएका हुन् ।
झापाका सुरक्षा स्रोतका अनुसार धुलाबारीस्थित होटल मेची क्राउनमा ‘लन्च’ गरेपछि पूर्वराजा दम्पती भारततर्फ लागेको पुष्टि भएको छ । यद्यपि, भ्रमणको उद्देश्य र अवधिबारे सुरक्षा निकाय अनभिज्ञ रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका एक अधिकारीले भने, ‘पूर्वराजा भारत गएको जानकारी पाएका छौँ । तर किन, कति दिनका लागि र को–को भ्रमणमा गएको भन्ने विवरण थाहा छैन ।’ सुरक्षा निकायले उनको भ्रमणलाई गोप्य नै राखेको देखिन्छ ।
तर स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र श्रीमती कोमलसहित एक साताको भारत भ्रमणमा निस्किएका हुन् । उनी बुधबार नै सिलिगुडीमा बस्ने कार्यक्रम रहेको जनाइएको छ ।
पूर्वराजाको भारत भ्रमणलाई लिएर विभिन्न अड्कलबाजीहरू सुरु भएका छन् । जेनजी आन्दोलनपछिको राजनीतिक अवस्था, गणतन्त्रविरुद्ध बढ्दै गएको असन्तोष र राजसंस्थाप्रति केही समूहको सक्रियताका बीच उनको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
केही जानकारहरूका अनुसार यो भ्रमण निजी तथा पारिवारिक प्रयोजनका लागि हुन सक्ने सम्भावना प्रबल छ । पूर्वराजा विगतमा पनि स्वास्थ्य परीक्षण, धार्मिक कार्य तथा पारिवारिक भेटघाटका लागि भारत जाने गरेका छन् ।
अर्कोतर्फ, पछिल्लो समय नेपाल–भारत सम्बन्ध, क्षेत्रीय राजनीति तथा आन्तरिक राजनीतिक तरलताका कारण यो भ्रमण राजनीतिक सन्देश बोकेको हुन सक्ने अड्कल पनि गरिएको छ । यद्यपि, यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन ।
केही स्रोतले पूर्वराजा भारतका धार्मिकस्थलहरूको दर्शन वा पुराना निकटवर्तीहरूसँग भेटघाटका लागि गएको हुन सक्ने सम्भावना पनि औँल्याएका छन् ।
शाह पक्षबाट भ्रमणबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरिएको छैन । सुरक्षा निकाय तथा प्रशासनिक तहमा समेत औपचारिक विवरण नआएकाले भ्रमणको वास्तविक उद्देश्य अनुमानमै सीमित छ । पूर्वराजाको भारत यात्राले आगामी दिनमा कुनै सन्देश वा गतिविधि संकेत गर्छ कि गर्दैन भन्ने विषयमा राजनीतिक वृत्त र सर्वसाधारणको चासो बढ्दै गएको देखिन्छ ।
