तुलसीपुर उच्च अदालत, बुटवलको १ नम्बर इजलासमा अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासमा सुनुवाइ भएको थियो ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ सकिएको छ ।
केहीबेरमा आदेश आउने उच्च अदालतले जनाएको छ । तुलसीपुर उच्च अदालत, बुटवलको १ नम्बर इजलासमा अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासमा सुनुवाइ भएको थियो ।
यसअघि मंसिर २५ गते तोकिएको पेुसी ‘हेर्न नमिल्ने’ मा परेर स्थगित भएको थियो । त्यसअघि मंसिर ११ गते तोकिएको पेसी लामिछानेका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो ।
लामिछाने र जोशीले बिगो बराबरको रकम बुझाएर थुनाबाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने जिल्ला अदालतको आदेशविरुद्ध परेको मुद्दाको सुनुवाइ उक्त इजलासमा तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको बिहीबारको पेसी कात्तिक १३ गतेपछिको निरन्तर सातौं पटकको पेसी हो । यस अवधिमा लामिछानेतर्फबाट दुई पटक र जोशी तर्फबाट एक पटक पेसी स्थगित भएको छ ।
कानुनअनुसार मुद्दामा पक्ष र विपक्ष दुवैबाट दुई–दुई पटकसम्म पेसी स्थगित गर्न पाउने व्यवस्था छ । तर, यस मुद्दामा सरकारी पक्षबाट भने पेसी स्थगित गरिएको छैन ।
