चार वर्षअघि बाघ गणनामा पनि उनै लामाले तत्कालीन वनमन्त्री रामसहाय प्रसाद यादवलाई यसैगरी देखाएका थिए । त्यसो त लामा सन् २००९ देखि भएका हरेक बाघ गणनामा लगातार सहभागी छन् ।
What you should know
चितवन — राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को औपचारिक उद्घाटनको तयारी थियो, वन तथा वातावरणमन्त्री माधव चौलागाई नै राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहाको कार्यालयमा पुगेका थिए। मन्त्रीकै उपस्थितिका कारण कार्यालय परिसरमा भिन्न माहोल थियो।
उच्च सरकारी अधिकारीहरू बाघ गणनाका विधि र प्रक्रियाबारे मन्त्रीलाई बुझाउन व्यस्त थिए । कोषकै प्राविधिक तीर्थ लामा कार्यक्रम स्थलभन्दा केही पर भेटिए ।
उनको जिम्मेवारी अलि फरक थियो । मन्त्री चौलागाईले जब स्वचालित क्यामेराको स्वीच अन गरे त्यसपछि बाघ गणनाको औपचारिक उद्घाटन भएको घोषणा भयो । सबैलाई जिज्ञासा थियो ‘यसरी राखेको क्यामेराले कसरी काम गर्छ र बाघको संख्या पत्ता लाग्छ’ । क्यामेरा अगाडिबाट केही पार भए त्यसको तस्बिर स्वचालित रूपमा कैद हुन्छ ।
यसबारेमा बुझाउन तीर्थ लामा नै चार हातखुट्टा टेकेर क्यामरा अगाडि आइपुगे । लामा अगाडि परेसँगै फोटो खिचेको संकेत गर्दै क्यामेराको हरियो बत्ती बल्यो । चार वर्षअघि बाघ गणनामा पनि उनै लामाले तत्कालीन वनमन्त्री रामसहाय प्रसाद यादवलाई यसैगरी देखाएका थिए । यो र त्यो बाघ गणनामा मात्रै हैन, लामा सन् २००९ देखि भएका हरेक बाघ गणनामा लगातार सहभागी छन् ।
‘म त सन् २००० देखि नै क्यामेरा ट्रयापिङमा सहभागी हुँदै आएको छु,’ ४५ वर्षका लामाले भने । तीर्थका ठूलाबुबा विष्णु लामा र बाबा हर्कमान लामा राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालयका पुराना प्राविधिक हुन् । उनै बा र ठूलाबाको पदचाप पछ्याउँदै वन्यजन्तु प्राविधिक बनेका तीर्थ हरेक बाघ गणनामा नछुट्ने व्यक्ति हुन् । उनले आफूले गरेको पहिलो काम नै क्यामेरा ट्रयापिङ भएको बताए ।
‘बाघको अनुगमनका लागि सन् २००० मा पर्साको ठूटेखोला, सिकारीबास हुँदै कसरासम्म क्यामेरा राख्ने काम भएको थियो । मेरो औपचारिक जागिरे जीवन त त्यसको तीन चार वर्षपछि सुरु भएको हो । तर कामको अनुभव त पहिल्यैबाट लिएको हुँ’ लामाले भने । बा र ठूलोबासँगै गएर क्यामेरा राख्न सुरु गरेका थिए उनले । चितवन निकुञ्जले पहिला बाघको पञ्जा हेरेर संख्या अनुमान गर्दथ्यो ।
‘सन् १९९५/९६ तिर बाघको संख्या अनुमान गर्न पञ्जाको छाप (पगमार्क) विश्लेषण हुन्थ्यो । सन् २००९ देखि भने व्यवस्थित गणना सुरु भएको हो,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट तथा विभागका सूचना अधिकारी हरिभद्र आचार्यले भने । यो पटक बाघ गणनामा २५० जना कर्मचारी खट्ने छन् । हरेक गणनामा फिल्डमै खट्ने केही व्यक्ति मध्ये तीर्थ एक हुन् ।
‘मैले काम गर्न सुरु गर्दाका प्राविधिकहरू त अहिले म मात्रै हो । सन् २००९ देखि बाघ गणना हुँदा मसँगै काम गरेका अहिले पनि मबाहेक ६ जना साथी खटेका छन्,’ लामाले भने । लामाले गर्ने मुख्य काम भनेको वन्यजन्तु उद्धारसँग सम्बन्धित छ । ‘बाघ, गैँडा, हात्ती जस्ता ठुला र अन्य जनावरलाई पनि लठ्याउनु पर्दा डार्ट हान्ने जिम्मेवारी मेरो हुन्छ’ लामाले भने ।
वन्यजन्तु उद्धारका बेला डार्ट गर्न निकै पोख्त मानिन्छन् तीर्थ । गैँडा गणना, बाघ सर्वेक्षण, गैँडा स्थानान्तरणमा निकै फुर्तीका साथ लाग्ने गर्छन् उनी । राष्ट्रिय निकुञ्ज विभागका सूचना अधिकारी आचार्य पनि हरेक गणनामा फिल्डमा खट्नेमा तीर्थ जस्ता व्यक्तिहरू खासै छैनन् भन्छन् । ‘बा र ठुलाबाले यही गरे । मैले पनि उनीहरूबाट सिकेर यही गरे । त्यसैले सक्दासम्म यही काम नै गर्दछु’ लामाले भने ।
वन्यजन्तु उद्धारका बेला जंगलमा जनावरसँग जम्काभेट भएर धन्नधन्न ज्यान जोगाएको घटना नभएको हैन । तर बाघ गणनामा त्यस्तो भएको छैन । ‘एक पटक पर्सामा क्यामेराको आड लागेर बसेको जंगली हात्ती भेटेका थियौँ । उसले हामीलाई देख्दा पनि देखेन । नभए त्यस्तो केही भएको छैन’ लामाले भने ।
बाघ गन्नका लागि ११ सय क्यामेरा प्रयोग भएका छन् । पूर्व बागमतीदेखि पश्चिम शुक्लाफाँटा लालझाडीसम्म बाघ बस्ने तराईका निकुञ्ज र वन क्षेत्रलाई तीनवटा कम्प्लेक्सहरुमा बाँडेको आचार्यले बताए । ती कम्प्लेक्समा पनि विभिन्न ब्लकहरू बनाएर हरेक ब्लकमा दुई किलो मिटर लम्बाइ र दुई किलो मिटर चौडाइका वर्गाकार ग्रिडहरु बनाएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।
यस्ता हरेक ग्रिडमा बाघ आउने सम्भावित स्थान पहिचान गरी एक जोडी क्यामेरा राखेको उनले जानकारी दिए । बाघ क्यामेरा अगाडीबाट जाँदा दायाँ बायाँ गरी शरीरको दुवै तर्फको पाटा क्यामेरामा कैद हुन्छ । ‘बाघको शरीरको धर्सा एक अर्को बाघसँग कहिल्यै मिल्दैन । यसरी स्वचालित क्यामेराले खिचेको बाघको तस्बिरहरू विश्लेषण गरेर हामी बाघको संख्या यकिन गर्दछौँ’ आचार्यले भने ।
क्यामेराले एउटा बाघको एकभन्दा बढी तस्बिर खिचे पनि प्राविधिकहरूले त्यसलाई एउटै बाघका रूपमा गणना गर्ने प्रविधि अपनाएको उनले बताए । प्राविधिकहरूलाई गन्न सजिलो बनाउने तस्बिरहरू ल्याउन क्यामेरा जडान गर्ने काम तीर्थ लामा जस्ता प्राविधिकहरूले गर्ने हुन् । एउटा ब्लकमा क्यामेरा राखेर सकेपछि तस्बिर खिच्नका लागि १५ दिनसम्म क्यामेरा फिल्डमै छाडिन्छ ।
‘नियम के हुन्छ भने एउटा ब्लकमा सबै ठाउँ क्यामेरा राखेर भ्याएपछि दिन सुरु हुन्छ । चितवन पर्सा कम्प्लेक्समा तीनवटा ब्लक छन् । पश्चिम ब्लकमा क्यामेरा राख्न सुरु भयो भने ब्लक भरी क्यामेरा राख्न एकै दिनमा नसकिएला । ब्लक भरी क्यामेरा राख्ने काम सकिएको दिनलाई एक दिन मानिन्छ’ लामाले भने । यसरी क्यामेरा राखेपछि बीचमा ती क्यामेराको अवस्था के छ ? हेर्न जानु पर्छ ।
क्यामेरा चोर्ने, जनावरले तान्ने, हान्ने गरेर बिगार्ने र ब्याट्री लगायतका समस्याले क्यामेराले काम नगरेको पनि हुन सक्छ । त्यसैले हेर्नका लागि बीचमा कम्तीमा तीन पटक क्यामेरा राखेको ठाउँहरूमा गइरहनु पर्दछ । १५ दिन भएपछि क्यामेरा निकाल्नु पर्दछ । यसरी बाघ गणनाका बेलामा पटक पटक जंगल छिर्नु पर्ने तीर्थ लामाले बताए । बाघ पाउने ठाउँमा जानु सामान्य काम पक्कै हैन ।
‘बाघ हिँड्ने बाटोमा काम गर्न जानु कति खतरनाक होला’ कार्यक्रमका प्रमुख अतिथि वन मन्त्री माधव चौलागाईले पनि प्रश्न गरे । वन्यजन्तु प्राविधिक भएका कारण वनभित्र के गर्दा सुरक्षित भइन्छ भन्ने सामान्य जानकारी हुने गरेको लामा बताउँछन् । ‘अचानक जे पनि हुन सक्छ । तर वनभित्र जीवजनावर भए नभएको गन्ध, पाइला, आवाजका आधारमा थाहा पाएर जोगिन सकिन्छ’ लामाले भने ।
विभागका सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार बाघ सर्वेक्षणका लागि फिल्डमै लगभग दुईदेखि तीन महिनासम्म खट्नु पर्ने हुन्छ । फिल्डमा खटेको दिनको आठ सय रुपैयाँका दरले भत्ता उपलब्ध हुने उनले बताए । जसमा खानाको प्रबन्ध पनि सोही रकमबाट गर्नु पर्दछ । यस बाहेक सर्वेक्षणमा खट्ने हरेकको १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा पनि हुने आचार्यले जानकारी दिए ।
नेपालमा हरेक चार या पाँच वर्षको अन्तरालमा बाघ सर्वेक्षण हुँदै आएको छ । बाघको संख्या पत्ता लगाएर त्यही अनुसार व्यवस्थापनको काम गर्नु पर्ने भएका कारण छिटो छिटो बाघको संख्या र कुन क्षेत्रमा कति उपस्थिति छ त्यो पत्ता लगाउन आवश्यक भएको आचार्यले बताए । बाघ निकुञ्ज र संरक्षित क्षेत्रमा कति छन्, संरक्षित क्षेत्र बाहिर कति छन् जस्ता जानकारी आवश्यक हुँदै गएको उनले बताए ।
‘बढ्यो या घट्यो भन्ने कुरा थाहा भएमा व्यवस्थापन योजना बनाउन सकिन्छ । नभए जनावर बढे पनि फेरि घटी हाल्न बेर लाग्दैन । मानव वन्यजन्तु द्वन्द्व नहोस् भन्ने योजना बनाउन पनि यस्ता सर्वेक्षणबाट आउने नतिजा आवश्यक हुन्छ’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक बुद्धिसागर पौडेलले भने । नीति निर्माताका लागि चाहिने यस्तो महत्त्वपूर्ण नतिजाका लागि तीर्थ लामाहरू जस्ता फिल्डमा खट्नेहरूको योगदान महत्त्वपूर्ण छ । उनीहरूको सुरक्षाका लागि हात्ती र सेना पनि फिल्डमा हुन्छन् ।
फिल्डको कामपछि प्राविधिक विश्लेषण गरेर आउँदो जुलाई २९ मा बाघ सर्वेक्षणको नतिजा सार्वजनिक हुने छ । पछिल्लो पटक सन् २०२२ मा भएको बाघ गणनामा देशभर ३५५ बाघ थिए । जसमा सबैभन्दा बढी १२८ बाघ चितवनमा भेटिएका थिए । यो पटकको बाघ गणनामा तीन करोड रुपैयाँ खर्च हुने विभागका सूचना अधिकारी आचार्यले जानकारी दिए । यसमा क्यामेराको खर्च जोडिएको छैन ।
पहिला प्रयोग भएका क्यामेराहरू नै यो पटक प्रयोग भएको उनले बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपाल लगायतका संस्थाहरूको सहयोगमा बाघ गणना सम्पन्न हुने उनले बताए । नेपालले बाघ संरक्षणमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
सन् २०१० मा बाघ पाइने १३ देशका सरकार प्रमुखहरूको रुसमा भएको बैठकले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने घोषणा गरेका थिए । त्यो बेला नेपालमा १२१ बाघ थिए । तर नेपालले दोब्बर हैन झन्डै तेब्बर बनायो ।
