किन आए भारतीय सुरक्षाकर्मी नेपालीभूमिमा ?

तिलाठीका सशस्त्र प्रहरी निरीक्षक जसबहादुर राईले कानुनअनुसार हतियार बोकेर नेपाली भूमिमा आउन नमिल्ने भए पनि व्यवहारिक रूपमा भारतीय सुरक्षाकर्मी पुल मात्र प्रयोग गर्न आएको बताए ।

पुस १, २०८२

विद्यानन्द राम

Why did Indian security personnel come to Nepali soil?

राजविराज — सप्तरीमा हतियार बोकेरै भारतीय सुरक्षाकर्मी नेपालीभूमिमा गस्ती गर्दै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा एसएसबी (सीमा सुरक्षा बल) का एएसआई (सहायक उपनिरीक्षक) टीसेरिङ नोर्बोले नेतृत्व गरिरहेको पाँच जनाको टोली राजविराज भन्सार कार्यालयको मुख्य सडकमा देखिन्छन् ।

सोमबार बेलुका सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोअनुसार सहायक उपनिरीक्षक नोर्बोले हतियार बोकेका छन् भने अन्य चार जना सुरक्षाकर्मीसँग लाठी छ।

त्यहाँबाट पूर्वतर्फ पाँच सय मिटर दुरीमा नेपाल छिर्ने चेकपोइन्ट छ भने पश्चिमतर्फ तीन सय मिटर दुरीमा बोर्डर आउट पोस्ट (बीओपी) तिलाठी छ। त्यहाँबाट दुई सय मिटर दुरीमा राजविराज भन्सार कार्यालय अगाडि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली जाँचका लागि खटिएको छ। तर सोमबार दिउँसै भारतीय सुरक्षाकर्मी हतियार बोकेर नेपाल प्रवेश गर्दा पनि उनीहरू बेखबर रहेको बताइएको छ।

बोर्डर आउट पोस्ट (बीओपी) तिलाठीका सशस्त्र प्रहरी निरीक्षक जसबहादुर राईले भारततर्फकै दशगजा हुँदै गइरहेका भारतीय सुरक्षाकर्मीले खोला पार गर्नका लागि नेपालतर्फको पुल मात्र प्रयोग गरेको बताए।

‘बिहानैदेखि हामीले संयुक्त रूपमा भारततर्फ दशगजामा थुपारिएका गुइँठा, पराल र दाउरा सफा गरेका थियौँ,’ उनले भने, ‘कानुनअनुसार हतियार बोकेर त्यसरी नेपाली भूमिमा आउन नमिल्ने भए पनि व्यवहारिक रूपमा उहाँहरूले पुल मात्र प्रयोग गरेर भारततर्फ फर्किनुभयो।’

तर हतियार बोकेर त्यसरी नेपाली भूमिबाट जाँदा जानकारी नगराएको सशस्त्र प्रहरी निरीक्षक राईले स्वीकार गरे। प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले यस विषयमा प्रहरीसँग बुझ्ने बताए।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully