भृकुटीमण्डपमा भोलि (बुधबार)देखि साउथ एसियाकै ठूलो फर्निचर एक्स्पोका लागि पूर्व तयारी हुँदै थियो ।
What you should know
काठमाडौँ — एमालेको ११ औं महाधिवेशनका लागि भृकुटीमण्डप मंसिर २५ देखि पुस १ सम्मलाई मात्र बुकिङ थियो । तर महाधिवेशन बुकिङ गरेको भन्दा थप एक दिन लम्बिँदा समस्या भएको छ ।
भृकुटीमण्डपमा भोलि (बुधबार)देखि साउथ एसियाकै ठूलो फर्निचर एक्स्पोका लागि पूर्व तयारी हुँदै थियो । त्यसका लागि भृकुटीमण्डप बुकिङ भइसकेको थियो । एक्स्पोको पूर्व तयारीको काम पुस २ र ३ सम्म हुने र ४ देखि ६ गत्तेसम्म एक्स्पो हुँदै थियो ।
जर्मनी, चीनलगायत मुलुकबाट स्टलमा सहभागी हुन व्यवसायी आउँदै छन् । त्यसका लागि आज रातिदेखि सामान झार्ने तयारी थियो ।
एमाले महाधिवेशनका लागि आजसम्मका लागि बुकिङ भएको र भोलिदेखि अर्को कार्यक्रमका लागि बुक भइसकेको समाज कल्याण परिषद् अन्तर्गत भृकुटीमण्डप व्यवस्थापन विभागको विभागीय प्रमुख खगनाथ रेग्मीले बताए ।
'मतदान बुधबारसम्मका लागि सरेको कुरा आएको छ । आजसम्म महाधिवेशन हुने भएर अरूलाई दिइसकेका थियौँ,' रेग्मीले भने, 'एमालेको महाधिवेशन लम्बिएकाले के गर्ने भन्ने भएको छ ।' भोलिदेखि अर्को कार्यक्रमका लागि भाडा लिइसकिएको उनले बताए ।
हलबारे जानकारी अद्यावधिक गर्दै उनले हलभित्रका भोटिङ मेसिन चौरमा सार्न लागिएको बताए ।'अहिले हलभित्रका भोटिङ मेसिन चौरमा राख्ने तयारी हुँदैछ', उनले भने, 'हलमा एक्स्पोको पूर्व तयारी गरिँदैछ ।'
मिडिया स्पेसले एक्स्पो आयोजना गर्न लागेको हो । उक्त संस्थाले वर्षभरिमा दुई-तीन वटा यस्तो ठूलो इभेन्ट गर्ने गरेको उनको भनाइ छ ।
सरसफाइ गर्न सजिलो होस् भनेर कुनै पनि कार्यक्रम सकिएपछि एक दिन ग्याप राख्ने गरेको उनले बताए । 'आज एक गते ग्याप राख्न खोज्दा एमालेको आग्रहमा एक दिन थप गरेका थियौँ । तर महाधिवेशन लम्बिएर समस्या भएको छ । कसरी व्यवस्थापन गर्ने भन्ने भएको छ ।'
भोलि पनि दिनभर एमालेको कार्यक्रम भए समस्या हुने देखिएको उनको भनाइ छ । 'कार्यक्रम जुधेर समस्या भएको हो, भोलि पनि एमालेको महाधिवेशन सकिन्छ कि सकिँदैन भन्ने भएको छ', उनले भने ।
