भ्रष्टाचार मुद्दामा जोडिएका जेन-जी सहिद परिवार कल्याणकारी समाजका अध्यक्ष थापाले दिए राजीनामा

गत मंसिर २४ गते सरकारसँग भएको १० बुँदे सम्झौतामा जेन–जी पक्षबाट हस्ताक्षर गर्ने थापा मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा जोडिएपछि विवादित बनेका थिए ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

Thapa, the chairman of Gen-G Martyrs' Family Welfare Society, who was involved in a corruption case, resigned.

काठमाडौँ — भ्रष्टाचार मुद्दामा जोडिएपछि जेन-जी सहिद परिवार कल्याणकारी समाज समिति अध्यक्ष भोजविक्रम थापाले राजीनामा दिएका छन् ।

मंगलबार बसेको समितिको बैठकमा थापाले राजीनामा दिएका हुन् । 

गत मंसिर २४ गते सरकारसँग भएको १० बुँदे सम्झौतामा जेन–जी पक्षबाट हस्ताक्षर गर्ने थापा मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा जोडिएपछि विवादित बनेका थिए । 

थापाले नैतिकताका आधारमा मंगलबार अध्यक्ष पदबाट राजीनामा दिएको समितिका सदस्य तथा सहिद योगेन्द्र न्यौपानेका भाइ सुजन न्यौपानेले बताए । 'उहाँमाथि भ्रष्टाचारको मुद्दामा जोडिएपछि मंगलबार बसेको बैठकमा नैतिकताका आधारमा राजीनामा दिनुभएको हो,' न्यौपानेले भने । 

खानेपानी तथा सहरी विकास मन्त्रालयको उपसचिवबाट अवकास पाएका थापासहित १५ व्यक्ति र ३ कम्पनीविरुद्ध अख्तियारले १० फागुन २०८० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

पौने ७ अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दामा थापाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपैयाँ ९५ पैसा बिगो कायम गरी जरिवाना र कैद सजाय मागदाबी गरिएको थियो ।

थापाले राजीनामा दिएसँगै नारायण श्रेष्ठ नयाँ अध्यक्ष बनेको समितिका सदस्य न्यौपानेले बताए । 'थापाले राजीनामा दिएसँगै आज नै हामीले सहिद धिरज श्रेष्ठका बाबु नारायण श्रेष्ठलाई अध्यक्ष बनाएका छौँ ।'

कान्तिपुर संवाददाता

Link copied successfully