रुद्रकलीलाई ४ वर्षदेखि स्याहार्दै आएका बुद्धिलाल भन्छन्- 'मेरो बोली सुनेर आइज भन्दा आउने, नगर भनेको काम नगर्ने यो हात्ती मेरो परिवारको सदस्य जस्तै थियो, अब यसबाट टाढा भइँदै छ ।’
What you should know
चितवन — कतार जान लागेका बुद्धिलाल श्रेष्ठलाई सोमबार आमा राममाया र श्रीमती शोभाले सगुनस्वरूप दही खुवाएर बिदाइ गरे ।
कतार नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य मुलुक हो । तर बुद्धिलाल भने फरक भूमिकाका लागि कतार जान लागेका हुन् । खैरहनी नगरपालिका–१० घर भएका उनीसँगै रुद्रकली हात्ती पनि कतार जाने साइतमा थिई । बुद्धिलाल सोही हात्तीका माहुते हुन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी २०७५ मा कतार भ्रमणमा गएकै बेला नेपालले कतारलाई हात्ती उपहार दिने घोषणा गरेको थियो । पछि वैशाख २०८१ मा कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी नेपाल भ्रमणमा आएका बेला पठाउने चर्चा थियो । तर हात्ती दुर्लभ वन्यजीव भएको र चितवन र कतारको फरक हावापानी भएका कारण राष्ट्रिय, अन्तर्राष्ट्रिय ऐन, कानुन, प्रक्रिया तथा हात्ती व्यवस्थापनका विषयहरू मिलाउँदा मिलाउँदै ढिलो भएको हो । अन्ततः बुधबार रुद्रकलीसँगै खगेन्द्रप्रसादले कार्गो विमानमार्फत कतार यात्रा गर्ने भएका छन् ।
सोमबार सौराहामा चितवन राष्ट्रिय निकुञ्जले आयोजना गरेको कार्यक्रममा कतार जाने हात्तीलाई बिदाइ गर्न रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतकाहरू उपस्थित थिए ।
निकुञ्जको पूर्वी सेक्टर कार्यालयबाट बिदाइ भएपछि रुद्रकली र खगेन्द्रप्रसादलाई यिनका माहुतेद्वय बुद्धिलाल र पाँचु खाँ थारूले लगभग ११ किलोमिटर हिँडाएर खैरहनी नगरपालिका–१ तरकारी चोक पुर्याएका थिए । त्यहाँबाट पूर्व–पश्चिम राजमार्गसँगै रहेको मेनका इन्जिनियरिङ वर्कसपमा विशेष रूपमा बनाइएका दुईवटा ठूला स्टिलका खोरमा ती हात्ती राखेपछि छुट्टाछुट्टै ट्रकमा ‘लोड’ गरेर सोमबार साँझ नै भैरहवातर्फ लगियो । भैरहवामा बुधबार हुने विशेष कार्यक्रममा दुवै हात्तीलाई बिदाइ गरेर कतार एयरवेजको कार्गो बिमानमार्फत कतार पुर्याइनेछ ।
‘आफूले स्याहारेको हात्ती यहाँबाट लिएर कतार जाँदै छ, मन त अलि खिन्न हुन्छ नै,’ २२ वर्षदेखि माहुते पेसामा संलग्न ४४ वर्षीय बुद्धिलालले रुद्रकलीलाई ४ वर्षदेखि स्याहार्दै आएका हुन् । बिहान उठेदेखि राति लगेर नबाँध्दासम्म सधैं रुद्रकलीसँगै हुने उनले थपे, ‘मेरो बोली सुनेर आइज भन्दा आउने, नगर भनेको काम नगर्ने यो हात्ती मेरो परिवारको सदस्य जस्तै थियो, अब यसबाट टाढा भइँदै छ । यो सम्झँदा पनि मन कस्तो नरमाइलो भइरहेको छ ।’ त्यसो त रुद्रकली र खगेन्द्रप्रसादलाई कतार छोड्न यसका माहुतेद्वय बुद्धिलाल र पाँचु खाँ थारूसँगै चितवन राष्ट्रिय निकुञ्जका पशु स्वास्थ्य प्राविधिक दिनेश ढकाल पनि कतार जाँदै छन् । नेपाली हात्ती कतारको हावापानीसँग घुलमिल भएपछि उनीहरू करिब एक महिनापछि फर्कनेछन् । ‘अहिलेसम्म मेरो घरबाट कोही विदेश गएका छैनन्, यो रुद्रकलीलाई उतै छाडेर आउनुपरेको छ । मलाई लाग्दै छ परिवारको सदस्य नै विदेश छाडेर आउने छु’ बुद्धिलालले खिन्नता प्रकट गरे ।
नौ वर्षअघि चितवन आएका पर्साका पाँचु पनि चार वर्षदेखि खगेन्द्रप्रसादको माहुते छन् । ‘खगेन्द्रप्रसाद त माहुतेले भनेको धेरै कुरा मान्ने हात्ती हो । यसले खोरसोरमा डुल्न आउनेहरूलाई हामीले भनेअनुसार गलामा फूलमाला लगाउने गर्दथ्यो । अलि चकचक गर्न लागे त्यसो नगर (माहुत भाषामा छि) भनेपछि गर्दैनथ्यो’ पाँचुले भने, ‘तर आफैंले चलाउँदै आएको हात्ती आफैंले विदेश पुर्याएर फर्कने छु । मैले
छोडेर आए पनि उसले मलाई बिर्सन गाह्रो छ ।’ यी दुई हात्तीलाई कतारको वातानुकूलित ‘अलखोर जु’ मा राखिनेछ । खोरसोर र अलखोरको भूगोल र हावापानी फरक भए पनि हात्तीका लागि अनुकूल हुने वातावरण तयार गरेर नै कतारले यी हात्ती आफ्नै ढुवानी खर्चमा लान लागेको हो । ‘हाम्रा प्राविधिकहरू कतार अलखोर जुमा नै पुगेर अध्ययन गरेपछि सरकारले गत वर्ष २ कात्तिकमा कतारलाई हात्ती दिन सकिने औपचारिक निर्णय गरेको हो’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले भने । त्यहाँ हात्तीको स्याहारसुसार कसरी गर्ने भन्नेबारेमा स्थानीय कर्मचारीहरूलाई सिकाउनका लागि बुद्धिलाल र पाँचु जान लागेका हुन् ।
कतार लैजाँदै गर्दा बाटोमा केही समस्या आउन सक्ने या नयाँ वातावरणमा केही अप्ठ्यारा देखिएमा उपचार गर्न चितवनबाटै पशु स्वास्थ्य प्राविधिक पनि जान लागेका हुन् । ‘कतारमा र नेपालमा प्रयोग गरिने औषधि खासै फरक रहेनछ । यी हात्ती स्वस्थ छन् । नियमित औषधि दिनुपर्ने त्यस्तो केही छैन । केही आकस्मिक समस्या देखा पर्न पनि सक्ला भनेर जान लागेको हो’ चितवन निकुञ्जका पशु स्वास्थ्य प्राविधिक दिनेश ढकालले भने । उनी पनि एक महिनाका लागि त्यता जाँदै छन् ।
हात्ती पोथी भएमा नामका पछाडि कली या माला र भाले भएमा गज या प्रसाद जोड्ने चलन छ । त्यसैले खगेन्द्रप्रसाद भाले र रुद्रकली पोथी हात्ती हुन् । हात्ती ओसारपसार गर्दा दुर्लभ तथा संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियन्त्रण र व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) को प्रावधान र प्रक्रिया आकर्षित भए पनि यी दुई हात्ती घरपालुवा हात्ती हुन् । हात्ती साइटिसको अनुसूची १ मा सूचीकृत प्रजाति हो । लोप हुने अवस्थामा पुगेका प्रजातिहरू यसमा समावेश छन् । यस सूचीमा रहेका जीव/जनावर, वनस्पतिको व्यापार नियन्त्रण गरिएको छ । तर अनुसन्धान, शैक्षिक प्रयोजन वा चिडियाखानामा राख्ने प्रयोजनका लागि ओसारपसार गर्न सकिन्छ । तर सम्बन्धित देशका व्यवस्थापन र वैज्ञानिक निकायको सिफारिसमा मात्र यो काम गर्न पाइने व्यवस्था छ ।
अनुसूची एकका प्रजातिको निकासी र पैठारी इजाजतपत्र दिनुभन्दा अगाडि दनै सम्बन्धित वैज्ञानिक निकायहरूले सो कार्यबाट उक्त प्रजातिको अस्तित्वमा हानि पुग्दैन साथै पैठारीकर्ता त्यसको हेरचाह गर्न सक्षम छ भन्ने कुरामा सन्तुष्ट भएको हुनुपर्ने साइटिसको प्रावधान छ । पछिल्ला पाँच/सात वर्ष साइटिसका यिनै प्रवधानहरू पूरा गर्न र अन्य व्यवस्थापकीय तयारीमा बितेका हुन् ।
रुद्रकली ९ अक्टोबर २०१८ मा जन्मेकी हो भने खगेन्द्रप्रसाद २५ सेप्टेम्बर २०१९ मा । हात्ती जन्मेको साढे दुई या तीन वर्षपछि खोरसोरको प्रजनन केन्द्रमा नै तालिम दिन सुरु हुन्छ । त्यसैले यी दुवै हात्ती तालिम प्राप्त हुन् । तालिम पूरा भएपछि घरपालुवा हात्तीले माहुतेको इसारा मान्ने र त्यहीअनुसार गतिविधि गर्दछ ।
कतार नेपालका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य हो । रोजगारको गन्तव्य कतारमा नेपालीको उपहार भएर जाने रुद्रकली र खगेन्द्रप्रसादलाई राख्न अलखोर जुलाई विशेष तरिकाले तयार गरिएको छ । खोरसोर र अलखोरको भूगोल र हावापानी फरक भए पनि हात्तीका लागि अनुकूल हुने वातावरण तयार गरेर नै कतारले हात्ती लगेको हो ।
हात्ती ढुवानी गर्ने खोर निर्माण र अन्य खर्च राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको छ । दसैं सुरु भएका बेलामा हात्ती राख्ने खोर बनाउन सुरु भएको थियो । नौ फिट अग्लो, ६ फिट ८ इन्च चौडा र १४ फिट लम्बाइको खोर झन्डै तीन टन वजनको छ । रुद्रकली १५ सय किलो र खगेन्द्रप्रसाद १६ सय किलोका छन् । एउटा खोरको निर्माण लागत पाँच लाख रुपैयाँभन्दा बढी छ । सुरुमा ४ लाख ९७ हजार रुपैयाँमा खोर निर्माण गर्ने योजना बनाए पनि पछि डिजाइन परिवर्तन गर्नुपरेका कारण खर्च थपिएको मेनका इन्जिनियरिङका हरिशरण पाठकले बताए ।
