ऋण उठाउन गएका बैंक कर्मचारीलाई उपमेयरले नै कुटेको विषय के हो ? पाँच प्रश्नमा बुझ्नुहोस्

ऋणीसँग संवाद गर्न गएका बैंक कर्मचारीमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मंसिर २९, २०८२

विद्यानन्द राम

What is the issue of the deputy mayor beating a bank employee who went to collect a loan? Understand in five questions

What you should know

राजविराज — ऋणीसँग संवाद गर्न सप्तरीको सप्तकोशी नगरपालिका–७ ओद्राहास्थित सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रालि पुगेका ज्योति विकास बैंकका दुई कर्मचारीमाथि अभद्र व्यवहार र कुटपिट भएको घटना सामाजिक सञ्जालमा भाइरल छ । यो घटनाको पृष्ठभूमि के हो ? यो घटना कसरी बाहिरियो ? हामीले पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

यो घटनाको पृष्ठभूमि के हो ?
सप्तकोशी नगरपालिका–७ ओद्राहास्थित सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रालिले ज्योति विकास बैंकबाट २०७८ वैशाख २३ मा ४ करोड ५० लाख रुपैयाँ ऋण लिएको थियो । ऋण लिँदा प्रालिको नाममा रहेको सोही ठाउँको ३ बिघा १४ कठ्ठा र कञ्चनरुप नगरपालिका–१२ मा रहेको १६ कठ्ठा ८ धुर जग्गा धितो राखिएको थियो । तर, प्रालिले २०८१ चैत २८ पछि किस्ता नतिर्दा बैंकले दोस्रो पटक सूचना निकाल्दा सेयरधनी प्रभुनारायण चौधरीले केन्द्रीय कार्यालयमा पुगेर तत्कालै जग्गा लिलाम नगर्न आग्रह गरेका थिए ।

चौधरीका अनुसार आग्रहपछि मंसिर २४ मै केन्द्रीय कार्यालयको कर्जा असुली विभागले चलानी नम्बर ३९३८४३ उल्लेख गरी लिलामी प्रक्रिया स्थगन गरेर पत्र पठाएको थियो । बैंकका प्रादेशिक कार्यालयका उपप्रबन्धक (कर्जा असुली प्रमुख) सुमित श्रेष्ठ र रुपनी शाखाका कर्जा असुली अधिकृत सविन श्रेष्ठसँग सोही दिन लिखित सहमति पनि भएको थियो । चौधरीले अब उपरान्त नियमित रूपमा किस्ता तिर्ने सहमति हुँदाहुँदै पनि कर्मचारी श्रेष्ठद्वयले जग्गा लिलाम गर्न धाकधम्की दिएपछि विवाद बढेको दाबी गर्दै आएका छन् ।

बैंकले धितोमा राखिएको जग्गा लिलाम गर्न मंसिर १९ मा अन्तिम पटक ७ दिने सूचना निकालेको थियो । सूचनाको म्याद नसकिँदै बैंकले ३ बिघा १४ कठ्ठा जग्गा बिक्रीमा रहेको भन्दै विज्ञापन गरेपछि संस्था र सेयरधनीको बदनामी भएको भन्दै सेयरधनीहरू आक्रोशित थिए । यही पृष्ठभूमिमा गत बुधबार प्रादेशिक कार्यालयका उपप्रबन्धक (कर्जा असुली प्रमुख) सुमित र रुपनी शाखाका कर्जा असुली अधिकृत सविन किस्ता कसरी ‘सेटलमेन्ट’ गर्ने विषयमा प्रालिका सञ्चालकसँग संवाद गर्न त्यहाँ पुगेका थिए । त्यही बेला उनीहरू अभद्र व्यवहार र कुटपिटमा परेका थिए । यो घटनाको भिडियो स्थानीयले नै खिचेका थिए । तर, सामाजिक सञ्जालमार्फत सार्वजनिक भने गत आइतबार मात्रै भएको देखिन्छ । जसमा कर्मचारीलाई जुत्ताको मालासमेत लगाएर लट्ठीले हिर्काइरहेको देखिन्छ ।

यो घटनामा को–को संलग्न छन् ?

बैंकका प्रादेशिक कार्यालयका उप–प्रबन्धक (कर्जा असुली प्रमुख) सुमित श्रेष्ठ र रुपनी शाखाका कर्जा असुली अधिकृत सविन श्रेष्ठमाथि अभद्र व्यवहार र कुटपिट भएको घटना सप्तकोशी नगरपालिकाका न्यायिक समितिकी संयोजकसमेत रहेकी उपमेयर रिताकुमारी चौधरीकै प्रत्यक्ष संलग्नतामा भएको पुष्टि भएको छ । उनी प्रालिका सेयरधनी सञ्जीवकुमार चौधरीकी श्रीमती हुन् । त्यो दिन बैंक कर्मचारी श्रेष्ठद्वय पुग्दा उनले नै गालीगलौज गर्दै लट्ठीले कुटेको भिडियोमा देखिन्छ ।

सुरुमा उपमेयर चौधरीले नै बैंकका कर्मचारीलाई जुत्ताको माला लगाएर मोसो दल्न पनि अन्य सेयरधनीलाई उक्सारहेकी थिइन् । त्यस विषयमा बुझ्न खोज्दा उनको फोन उठेन । पछि त्यहाँ पुगेका मेयर कृष्णप्रसाद ढकालले घटना सामसुम पारेका थिए । उनले पनि सो विषयमा बोल्न चाहेनन् । बैंकका कर्मचारीलाई उपमेयर चौधरीले कुटपिट गरेको घटना के हो ? भनेर प्रश्न गर्दा मेयर ढकालले ‘म अहिले मिटिङमा छु, पछि कुरा गर्छु’ भन्दै फोन काटे । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी माधवप्रसाद काफ्लेले उपमेयर चौधरीले बैंकका कर्मचारीलाई कुटपिट गरेको भिडियोमा देखिएको पुष्टि गरे ।

उपमेयरका श्रीमान् सञ्जीव र छोरा सिरज तथा सेयरधनीहरू प्रभुनारायण चौधरी र पञ्चदेव, ऋणी तथा सेयरधनी उमाकान्त चौधरी तथा रवीन्द्र स्वर्णकार कुटपिट घटनामा संलग्न रहेको भन्दै बैंकले दिएको जाहेरीमा छ ।

यो घटना सार्वजनिक भएपछि के भयो ?
घटनापछि बैंकले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा ७ जनामाथि अपहरण, शरीर बन्धक, कुटपिट तथा लुटपाट मुद्दामा जाहेरी दिएको छ । उपमेयर चौधरीसहितकाविरुद्ध परेको जाहेरी भने अझै दर्ता भइसकेको छैन । पीडितसँग समन्वय भइरहेको डीएसपी काफ्लेको भनाइ छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले घटनामा संलग्न जोसुकैमाथि कानुनअनुसार कारबाही हुने बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

घटनाबारे सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रालि के भन्छ ?
प्रालिका सेयरधनी चौधरीले लिखित सहमतिअनुसार नै लिलामीको सूचना स्थगन भइसकेकामा पनि कर्मचारीले धाकधम्की दिइरहेका कारण विवाद भएको बताए । सहमतिअनुसार बैंकले जग्गा बिक्री गर्न गरेको भिडियो विज्ञापन पनि टिकटकबाट हटाइसके पनि जग्गा लिलाम गर्न धाकधम्की दिइरहँदा सेयरधनीको आक्रोश बढेको उनले बताए । तर, उनले देखाइरहेको सहमति कहाँ र कुन समयमा भएको विषयमा बोल्न चाहेनन् । उनका अनुसार घटनाको बेला उनी राजविराजमै थिए ।

यो घटनामा बैंकको भनाइ के छ ? 
बैंकका सूचना अधिकारी प्रकाश बरालले अभद्र व्यवहार र कुटपिटपछि कर्मचारीलाई बन्धक बनाउँदा बाध्य भएर लिलामी स्थगनको पत्र पठाएको बताए । उनले भने, ‘पत्र पठाएपछि मात्रै कर्मचारीलाई छाड्ने धम्की दिइरहेको थियो । अनि हामीले कर्मचारीको सुरक्षाका लागि यहाँबाट लिलामी स्थगनको पत्र पठायौं ।’ किस्ता कसरी नियमित गर्न सकिन्छ भन्ने विषयमा संवाद गर्न पुगेका कर्मचारीमाथि सुनियोजित ढंगले कुटपिट भएको उनको भनाइ छ । यो घटनाले कर्मचारीको मनोबल कमजोर पार्ने काम भएकोले संलग्नलाई कानुनी कारबाही हुनुपर्ने उनको माग छ ।

याे पनि पढ्नुहाेस्  :

ऋणीसँग संवाद गर्न जाँदा बैंकका कर्मचारीलाई मोसो दली कुटियो

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully