ज्योति विकास बैंकका प्रादेशिक कार्यालय उप–प्रबन्धक सुमित श्रेष्ठ र रूपनी शाखाका कर्मचारी सविन श्रेष्ठ संवादका लागि त्यहाँ पुगेकामा प्रालिका सेयरधनीलगायतले मोसो दलेर गालीगलौज र कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
What you should know
राजविराज — सप्तरीको सप्तकोशी नगरपालिका–७ ओद्राहास्थित सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालिमा ऋणीसँग संवाद गर्न पुगेका ज्योति विकास बैंकका दुई जना कर्मचारीमाथि मोसो दलेर गालीगलौज र कुटपिट भएको घटना बाहिरिएको छ ।
गत बुधबार बैंकका प्रादेशिक कार्यालय उप–प्रबन्धक सुमित श्रेष्ठ र रूपनी शाखाका कर्मचारी सविन श्रेष्ठ संवादका लागि त्यहाँ पुगेका थिए । दुवै जनामाथि प्रालिका सेयरधनीलगायतले मोसो दलेर गालीगलौज र कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यहाँ पुग्दा उनीहरूलाई मोसो दलेर जुत्ताको मालासमेत लगाएर लट्ठीले हिर्काइरहेको भिडियोमा देखिन्छ ।
बैंकका सूचना अधिकारी प्रकाश बरालले किस्ता कसरी नियमित गर्न सकिन्छ भन्ने विषयमा संवाद गर्न पुगेका कर्मचारीमाथि सुनियोजित ढंगले कुटपिट गरिएको बताए । ‘प्रालिका सेयरधनी र उनका आफन्तहरूले कर्मचारीमाथि मोसो दल्नुका साथै गालीगलौज र कुटपिट गरेर मनोबल कमजोर पार्ने काम गरेका छन्,’ उनले भने, ‘त्यसविरुद्ध हामी कानुनी प्रक्रियामा छौं ।’
प्रालिले २०७८ वैशाख २३ मा बैंकबाट ४ करोड ५० लाख रुपैयाँ ऋण लिएको थियो । ऋण लिँदा प्रालिका नाममा रहेको सोही ठाउँको ३ बिघा १४ कठ्ठा र कञ्चनरूप नगरपालिका–१२ मा रहेको १६ कठ्ठा ८ धुर जग्गा धितो राखिएको थियो । तर, प्रालिले २०८१ चैत २८ पछि किस्ता नतिर्दा बैंकले अघिल्लो शुक्रबार जग्गा लिलामी गर्न सूचना निकालेको थियो ।
सूचनाको म्याद नसकिँदै बैंकले जग्गा बिक्री गर्नका लागि टिकटकमा विज्ञापन गरेपछि प्रालिका सेयरधनी आक्रोशित बनेका थिए । सोही बेला गत बुधबार पुगेका बैंकका कर्मचारीमाथि उनीहरूले मोसो दलेर गालीगलौज र कुटपिट गरेका हुन् ।
‘हामीले अन्तिम समयसम्म त ऋण चुक्ता गर्न सक्थ्यौं नि ! तर सूचनाको म्याद नसकिँदै जग्गा बिक्री गर्न विज्ञापन नै गर्न थालेपछि सेयरधनी र संस्था आबद्ध स्थानीय आक्रोशित भएर त्यो घटना भएको रहेछ,’ प्रालिका सेयरधनी प्रभुनारायण चौधरीले भने, ‘म राजविराजमै थिएँ, त्यहाँ पुग्दासम्म घटना भइसकेको थियो, कर्मचारीमाथि कुटपिट हुनु गलत हो ।’
घटनापछि बैंकले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा ७ जनामाथि अपहरण, शरीर बन्धक, कुटपिट तथा लुटपाट मुद्दाको जाहेरी दिएको छ । सेयरधनीहरू प्रभुनारायण चौधरी, संजीवकुमार चौधरी, उनकी श्रीमती रीताकुमारी चौधरी, छोरा सिरज चौधरी र पञ्चदेव चौधरी, प्रालिका ऋणी तथा सेयरधनी उमाकान्त चौधरी र रवीन्द्र स्वर्णकारविरुद्ध जाहेरी परेको हो ।
‘हामीले घाउजाँचका लागि लेखेर दिइसकेका छौं,’ डीएसपी माधवप्रसाद काफ्लेले भने, ‘घाउजाँचको रिपोर्ट प्राप्त भइसकेको छैन ।’ घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताए ।
