सवारी 'लाइसेन्स'मा लिखित फेल भए तीन महिना कुर्नुपर्ने प्रावधानले समस्या

विषयविज्ञहरू यो जटिलता हटाउन ऐनमै सुधार आवश्यक रहेको बताउँछन् ।

मंसिर २९, २०८२

विमल खतिवडा

The provision requiring a three-month wait for a written failure on a driving license is a problem.

What you should know

काठमाडौँ — भक्तपुर बालकोटका सज्जन आचार्यले मंसिर १० गते चारपांग्रे सवारी साधनको सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन आवेदन दिए ।

उनलाई लिखित परीक्षा दिने मिति र समय कार्यालयले प्रवेश-पत्र लिने बेलामा मात्र जानकारी गराएको थियो । अध्ययनकाका लागि फिनल्यान्ड जाने तयारीमा रहेका आचार्य चारपांग्रे सवारी साधनको लाइसेन्स लिन चाहन्थे। तर लिखित परीक्षामा फेल भएपछि अब तीन महिनासम्म पुनः प्रक्रिया सुरु गर्न पाउने छैनन्।

यो प्रावधान सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४९ मा उल्लेख छ। 'विदेश जाने तयारीका लागि लाइसेन्स लिनैपर्ने थियो। फेल भएँ, तर लिखित परीक्षा दिने समय लामो नतोकिएको भए पढेर पास हुन्थेँ। अब तीन महिना कुर्नुपर्ने भयो,' उनले भने ।

विदेशमा गएर लाइसेन्सको प्रक्रिया थाल्दा समय लाग्ने र खर्चिलो हुने उनको भनाइ छ । उनी मात्र होइन लिखित फेल हुने अधिकांश यो समस्या भोगिरहेका छन् ।

यदि लिखित फेल भएको व्यक्तिले एक हप्ताभित्र पढेर पास गर्छु भन्छ भने उसलाई परीक्षा दिन पाउने व्यवस्था गर्नुपर्छ। -डण्डबहादुर बस्नेत पहिलो पटक दुई र चारपांग्रे सवारीसाधनको लाइसेन्स लिने सेवाग्राहीले यसरी नै समस्या झेल्दै आएका छन्। विशेषगरी चारपांग्रे सवारी साधनको लाइसेन्स लिएर विदेश जानेहरूका लागि लिखित परीक्षाले थप कठिनाइ सिर्जना गरेको छ। हाल देशभर दैनिक करिब ५ हजारले नयाँ लाइसेन्सका लागि आवेदन दिने गरेका छन्। तर लिखित फेल हुनेहरूले तीन महिने प्रावधान व्यावहारिक नभएको गुनासो गर्दै आएका छन्।

यातायात व्यवस्था कार्यालय, भक्तपुरका प्रमुख डण्डबहादुर बस्नेत ऐनमै सुधार आवश्यक रहेको बताउँछन् । 'सिस्टम विभागमातहत छ, सिस्टम परिवर्तन गर्न पनि जरुरी छ। यी कुरा विभाग र मन्त्रालयमा छलफलको क्रममा उठाउँदै आएका छौं,' उनले भने । उनका अनुसार लिखितमा औसत ७० प्रतिशत पास हुन्छन् । नयाँ लाइसेन्सका लागि लिखित परीक्षा फेल भएका व्यक्तिहरूले पुनः तीन महिना कुर्नुपर्ने बाध्यता छ ।

'यदि लिखित फेल भएको व्यक्तिले एक हप्ताभित्र पढेर पास गर्छु भन्छ भने उसलाई परीक्षा दिन पाउने व्यवस्था गर्नुपर्छ,' उनले भने, 'यसका लागि यातायात व्यवस्था विभागबाट ऐन संशोधन जरुरी छ ।’ तीन महिनाको अवधि राख्दा सबैभन्दा बढी असर विदेश अध्ययन र रोजगारका लागि जानेमा परेको उनको भनाइ छ।

मोटरसाइकल वा स्कुटरको लाइसेन्स भएका व्यक्तिहरूले चारपांग्रे सवारीको लाइसेन्सका लागि लिखित परीक्षा दिनुपर्दैन, सिधै प्रयोगात्मक (ट्रायल) परीक्षा दिन सक्छन्। विदेश जानेहरूले प्रायः गाडीको लाइसेन्स चाहन्छन्, त्यसैले लिखित परीक्षामा बढी गुनासो यही वर्गबाट आएको बस्नेतले बताए।

प्रयोगात्मक परीक्षा (ट्रायल) तीन पटक दिएर पनि पास नभए फेरि सुरुबाटै प्रक्रिया थाल्नुपर्छ। पहिलो पटक ट्रायलमा फेल भए १८ महिनासम्म दुई पटक ट्रायल दिन पाइन्छ। तीनैपटक फेल भए फेरि फाराम भरेर लिखित पास गरी ट्रायल दिनुपर्छ। मोटरसाइकल/स्कुटरको लाइसेन्स भए चारपांग्रेका लागि लिखित परीक्षा दिनु पर्दैन र सिधै ट्रायल दिन सकिन्छ।

पहिले थोरै कार्यालय हुँदा बनाइएको ऐन अहिले व्यावहारिक नदेखिएको बस्नेतको भनाइ छ। ' त्यो बेला यो ऐन ठिक थियो होला। अहिले बागमती प्रदेशमा धेरै कार्यालय खुलेका छन्। नयाँ कार्यालय खुले पनि सेवाग्राही कम छन्। पहिले सेवाग्राही धेरै भएर तीन महिना समय राखिएको हो, अहिले कम भएकाले लिखित परीक्षा फेल भए एक हप्ताभित्र दिने व्यवस्था गर्न जरुरी छ,' उनले भने ।

हाल यातायात कार्यालयहरू प्रदेश मातहत भए पनि लाइसेन्स सम्बन्धी ऐन र कानुन संघ अन्तर्गतकै छन्। यसले गर्दा समस्या भएको सम्बन्धित प्रदेशका यातायात मन्त्रालयको भनाइ छ ।

बागमती प्रदेशअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी विमल प्रसाद भट्टराईले लिखित परीक्षा फेल भएपछि पुनः दिनका लागि समय लामो तोकिएकामा धेरै गुनासो आउने गरेको बताए। 'सबै प्रदेशमा लाइसेन्सको हकमा यातायात व्यवस्था विभागको ऐनअनुसार नै काम हुन्छ। आवेदन दिने सिस्टम विभागसँग छ, फेल भएपछि ९० दिन नपुग्दा फर्म भर्न मिल्दैन। त्यसैले ऐन संशोधन गरेर सफ्टवेयरमा परिवर्तन आवश्यक छ,' उनले भने।

यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेश राई लाइसेन्ससम्बन्धी काम ऐनअनुसार भइरहेको बताउँछन्। 'ऐनमा समस्या छ, व्यावहारिक नभएको गुनासो धेरै आउँछ,' उनले भने, 'यसमा कर्मचारीले परिवर्तन गर्न सक्दैनन्। संशोधनको काम सरकारले संसदमा लगेर गर्नुपर्छ।'

सम्बन्धित समाचार 

२१ यातायात कार्यालयबाट सुरु भयो सवारी चालक अनुमतिपत्रको सेवा

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully