मंगलबारदेखि नागरिक एपमा पनि लाइसेन्स उपलब्ध हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
काठमाडौँ — गत २४ भदौको प्रदर्शनपछि ठप्प रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणसहितको सेवा सोमबारबाट सुरु भएको छ । आगलागीबाट क्षति भएको झन्डै दुई महिनापछि सेवा सुरु भएको हो । उपत्यकाका तीन कार्यालयबाट भने शुक्रबारै आंशिक सेवा थालिएको थियो । सोमबार दिउँसोसम्म देशभरका ४२ मध्ये २१ कार्यालयबाट सेवा सुरु गरिएको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले जनाए ।
‘अन्य ५ कार्यालय पनि सम्पर्कमा छन्, तिनबाट पनि सेवा सुरु गर्दै छौं,’ उनले भने, ‘तत्काल आंशिक सेवा सुरु गरेका छौं, बिस्तारै पूर्ण सेवा उपलब्ध गर्दै लैजान्छौं ।’ केही कार्यालयमा आगजनीबाट क्षति भएकाले सेवा सुरु हुन समय लाग्ने उनले बताए ।
पोखरा, इटहरी, लहान, बुटवल, धनगढी, दाङ र चितवनमा तत्काल सेवा हुने छैन । ‘यी कार्यालयमा आगजनीबाट ठूलै क्षति भएकाले सेवा सुरु गर्न समस्या भएको छ,’ खतिवडाले भने, ‘सेवा दिन तयार भएपछि हामीलाई प्रणालीमा सम्पर्क गराउन समस्या छैन ।’ यसका लागि विभागबाट ढिलाइ नहुने उनको भनाइ छ । कार्यालय तयार भएपछि सेवा सुरु हुन्छ । अहिले तत्काल नयाँ लाइसेन्सका लागि आवेदन खुला भने हुने छैन ।
अघिपछि सामान्य दिनमा सातै प्रदेशबाट ६ देखि ७ हजार सेवाग्राहीले नयाँ लाइसेन्सका लागि आवेदन दिन्थे । यसअनुसार ४ देखि ५ हजार नयाँ लाइसेन्सका लागि ट्रायल पास हुन्थे । यो सेवा देशभरकै ४२ यातायात व्यवस्था कार्यालयबाट उपलब्ध हुँदै आएको छ । ‘यो सेवा सुरु हुन अझै एक–दुई दिन लाग्छ,’ उनले भने, ‘बाँकी केही यातायात व्यवस्था कार्यालयले सेवा दिन थालेपछि मात्र नयाँ आवेदन खुला गरिनेछ, त्यसका लागि समय निर्धारण गर्नुपर्ने हुन्छ ।’ प्रदेशअनुसार समय तोकेर आवेदन दिन मिल्ने व्यवस्था गर्ने विभागको तयारी छ । प्रणाली जसोतसो गरेर चलाइएकाले पहिला जस्तो ‘स्पिड’ मा नचले मात्र समय तोकिने खतिवडाले बताए ।
सात यातायात कार्यालयबाट सेवा सुरु गर्न समय लागे पनि अन्य कार्यालय सबै सञ्चालनमा आएपछि नयाँ आवेदन खुला गरिने खतिवडाको भनाइ छ । त्यहीअनुसार ट्रायल सेवा पनि सुरु हुनेछ । क्षतिग्रस्त सात कार्यालय व्यवस्थापनदेखि मर्मतसम्भारको काम भइरहेको छ । आगजनीबाट नयाँ बानेश्वरस्थित मीनभवनमा रहेको विभागको भवन जलेर ध्वस्त भएको थियो । अहिले मर्मतसम्भारको काम भइरहे पनि कार्यालय पूर्ण रूपमा सञ्चालनमा आएको छैन ।
यात्रु प्रतीक्षालयमा डेस्क–बेन्च राखेर काम चलाइएको छ । आगलागीबाट विभागको डेटा सेन्टर पनि जलेर नष्ट भएको छ । जसले गर्दा तत्काल सेवा सुरु गर्न समस्या भएको विभागले जनाएको छ । आगलागीबाट विभागको डेटा सेन्टर जलेपछि नागरिक एपबाट लाइसेन्स हटेको थियो । मंगलबारबाट नागरिक एपमा लाइसेन्स उपलब्ध हुने निर्देशक खतिवडाले बताए ।
लामो समयदेखि छाप्न बाँकी २५ लाख लाइसेन्समध्ये १२ लाखको छपाइ सुरु गरिने भएको छ । यसका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । मुद्रण केन्द्रले ६ महिनाभित्र १२ लाख लाइसेन्स छापेर विभागलाई उपलब्ध गराउनेछ । केन्द्रले केही दिनमै यसको छपाइ सुरु गर्ने निर्देशक खतिवडाको भनाइ छ ।
वैदेशिक रोजगारीमा जानेलगायतलाई तत्काल लाइसेन्स चाहिँदा मुद्रण केन्द्रले नै छापेर उपलब्ध गराउनेछ । यसका लागि पहिला जस्तै तत्काल लाइसेन्स चाहिनेले विभागमा निवेदन दिनुपर्नेछ । त्यहीअनुसार छपाइ गरेर उपलब्ध गराइनेछ । विभागले यस्ता लाइसेन्स दैनिक करिब ५ सय छापेर उपलब्ध गराउँदै आएको थियो ।
विभागमा रहेको मेसिन जलेर नष्ट भएपछि छपाइ सेवा बन्द छ । विभागले लाइसेन्स छपाइ गर्ने मेसिन खरिद नगर्दासम्म तत्काल आवश्यक लाइसेन्स मुद्रण केन्द्रबाट छापेर सेवाग्राहीलाई उपलब्ध गराइने खतिवडाको भनाइ छ । आगजनीबाट विभागमा विभिन्न यातायात व्यवस्था कार्यालयमा पठाउन भनेर छापेर राखिएका २२ हजारमध्ये १८ हजार लाइसेन्स जलेको अनुमान छ । यसमध्ये तीन हजार लाइसेन्स मात्र सुरक्षित भेटिएका छन् । विभागको प्रणाली (सिस्टम) पूर्ण चलेपछि कति लाइसेन्स छपाइ भएर बसेका थिए, यकिन नहुने निर्देशक खतिवडा बताउँछन् ।
