आफ्ना जिज्ञासाको जवाफ खोज्दै महाधिवेशनस्थल पुगेकी तेजस्वीले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गरेका प्रश्न सामाजिक सञ्जालमा बहसका विषय बने । भिडियोमा उनले ओलीले लामो समयदेखि पार्टी र सत्तामा गरेको बलमिच्याइँमाथि आलोचनात्मक प्रश्न गरेकी थिइन् ।
What you should know
काठमाडौँ — भक्तपुर सल्लाघारी मैदान शनिबार एमालेको ११ औं महाधिवेशनको उद्घघाटन सत्रले गर्माइरहेको थियो । त्यही महाधिवेशनमा सहभागी एक किशोरीको प्रश्नले नेता-कार्यकर्ता भरिएको मैदान मात्र होइन, राजनीतिक वृत्त र सामाजिक सञ्जालै तरंगित बन्यो ।
न उनी कुनै दलको कार्यकर्ता हुन्, न महाधिवेशन प्रतिनिधि नै । कक्षा ९ मा अध्ययनरत भक्तपुरकी तेजस्वी पौडेल, १५ सामान्य उत्सुकतासहित शनिबार सल्लाघारी पुगिन् । महाधिवेशन नियालिरहेकी तेजस्वीको त्यही उत्सुकता अन्तत: प्रश्नमा फेरियो ।
तेजस्वीले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गरेका प्रश्न सामाजिक सञ्जालमा बहसका विषय बने । धेरै प्रयोगकर्तामाझ पुगेको भिडियोमा ओलीले लामो समयदेखि पार्टी र सत्तामा गरेको बलमिच्याइँमाथि उनले आलोचनात्मक प्रश्न उठाइन् । उनले प्रश्न गर्दैगर्दा मैदानमा कार्यकर्ताहरू भने ओलीको प्रशंसागानमा लीन थिए । दरिलो आत्मविश्वाससहित प्रस्तुत भएकी ती किशोरीका प्रश्न समय सान्दर्भिक र लोकतान्त्रिक चेतसहितका थिए ।
उनको प्रश्न ओलीको नेतृत्व शैलीमाथि मात्रै थिएन । सामाजिक सञ्जाल नियमनका बहस, आलोचना सहने राजनीतिक संस्कार र दलभित्रको लोकतन्त्रबारे पनि थियो । 'आफ्नो विरोधमा कसैले केही भनिदियो भने पोस्ट डिलिट गराउने, आलोचना गर्नै नदिने हो भने त्यो लोकतन्त्र होइन, 'डिक्टेटरसिप' (निरंकुशता) हो,' तेजस्वीको विश्लेषण थियो । प्रधानमन्त्री हुँदा सामाजिक सञ्जाल प्रतिबन्ध गर्न खोजिएको प्रसंग स्मरण गर्दै उनले ओलीलाई उत्तर कोरियाली शैलीको 'सुप्रिम लिडर'को सोचसँग तुलना गर्नसमेत भ्याइन् ।
स्कुलमा समाज, राजनीति र सुशासनका विषयहरू तेजस्वीले पढ्नुपर्थ्यो । पुस्तक पढिरहँदा र समाज नियालिरहँदा उनीभित्र थुप्रै प्रश्न जन्मिरहन्थे । झन् पछिल्लो समयको राजनीतिक अवस्थालाई नियालिरहँदा कति प्रश्नहरूको जवाफ भेट्दिनथिन् । केही दिनयता स्कुल जाँदा-आउँदा, बाटो, घरदेखि युट्युब-टिकटक जताततै उनी एमाले महाधिवेशनको पोस्टर देख्थिन् । 'यति धेरै हाइप भएपछि कस्तो रहेछ हेर्न जाउँ न' उनले मनमनै सोचिन् । महाधिवेशनको दिन तेजस्वीको स्कुल बिदा थियो । आफ्ना जिज्ञासाको जवाफ खोज्न उनी महाधिवेशनस्थल पुगेकी थिइन् । तर नेतृत्वमाथि आलोचनाभन्दा भक्तिगानमा रमाइरहेका कार्यकर्ताहरू देख्दा उनी आजित बनिन् ।
त्यही क्रममा उनको सामुन्ने क्यामेरा र माइक तेर्सियो । 'टिभी टुडे'का पत्रकारले उनलाई केही सामान्य प्रश्न तेर्स्याए । त्यसपछि उनीभित्र गुम्सिइरहेका प्रश्नहरू प्रस्फुटित भए । 'यदि पार्टीभित्र एक जनाको मात्रै निर्णय चल्ने हो भने महाधिवेशन किन ? निर्वाचन किन ?,’ मैदानमा चलिरहेको अलोकतान्त्रिक बतास महसुस गर्दै उनले पटाक्षेप गरिन्, 'संविधान, संसद् र न्यायपालिका नै नचाहिने हो भने दशकौंको आन्दोलन किन?’
उनका तेजस्वी जिज्ञासाहरूले इतिहास सम्झाइरहेका थिए । विगतमा भएका शासकका तानाशाही प्रवृत्ति सम्झाउँदै तेजस्वीले तुलना गरिन्, ‘हामीलाई एक जना सुप्रिम लिडर नै चाहिएको भए राजा महेन्द्रको पञ्चायत नै ठिक थियो ।' तेजस्वीका विचारहरू सुन्दा उनको अध्ययन पाठ्यक्रमका पन्नाहरुमा मात्र सीमित छैन । उनी इतिहास र समाज केलाउने आख्यान र गैर-आख्यानमा पनि रुचि राख्छिन् । त्यसकारण उनको आलोचनात्मक चेतले भन्छ, 'यति धेरै दुःख गरेर ल्याइएको प्रजातन्त्रको के अर्थ भयो यदि यसले तानाशाह जन्माउँछ भने ?' उनी नेतृत्वमा एउटै अनुहार दोहोरिरहने कुरामा सन्तुष्ट छैनन् । व्यंग्यात्मक प्रहारसहित भन्छिन्, ‘यदि केपी बा यति सुप्रिम हुनुहुन्छ र उहाँले कुनै गल्ती गर्न सक्नुहुन्न भने महाधिवेशनमा सबैजना आउनुको के काम भयो । केपी बालाई अध्यक्ष बनाइदिऊँ, उहाँले जसलाई भन्नुहुन्छ त्यसलाई सदस्य बनाइदिऊँ, उहाँले जसलाई भन्नुहुन्छ त्यसलाई नै लिडर बनाइदिऊँ ।' संविधान र न्याय प्रणालीको भूमिकाबारे पनि उनले व्यंग्य गरिन् ।
भिडियोले बहस सिर्जना गरेपछि हामीले तेजस्वीसँग टेलिफोन सम्पर्क गर्यौं । उनले हामीसँग थप धारणा साटिन् । उनसँग ओलीमाथि अझै प्रश्न र गुनासा थिए । भदौ २३ को जेन-जी आन्दोलनमा स्कुल ड्रेसमै रहेका विद्यार्थीसमेत राज्यको गोलीले मारिँदा तत्कालीन प्रधानमन्त्रीले एकपटक पनि माफी नमागेको कुराले उनलाई बिझाएको थियो । ‘उहाँको निर्दयी व्यवहारले नै कस्तो स्वभावको हो भन्ने पुष्टि गर्छ,' उनले आक्रोशसहित भनिन् । तेजस्वी पनि २३ गतेको जेन-जी आन्दोलनमा सडकमा उत्रिएकी थिइन् । उनकै आखाँअगाडि गोली चल्यो, आफ्नै उमेरका साथी ढले । ती दृश्यहरूले बेस्सरी गलिन् । अहिले पनि उनका आँखामा ती त्रासदीपूर्ण क्षण दगुरिरहन्छन् । आफू त त्यो कोलाहलबाट सकुशल घर फर्किइन् तर कहिल्यै नफर्किनेहरूको सम्झनाले तेजस्वीलाई अहिले पनि पिरोलिरहन्छ ।
आन्दोलनयता नयाँ पुस्ताका चेतबारे पनि उनले गहिरो अवलोकन गरिन् । उनलाई लाग्यो-‘कतै हामीमा अध्ययनको पो कमी भयो कि !’ तेजस्वीलाई के लाग्छ भने- ‘नयाँ पुस्ताको जोसले उर्लिएको जनआक्रोशको अवमूल्यन भयो ।’ उनी बेलाबेलामा सोच्छिन्,‘कतै आन्दोलन हाईज्याक पो भयो कि !’ त्यसयता राजनीतिक, कूटनीतिक विषयमा उनी थप घोत्लिन थालिन् । ‘हामीले किताबमा सुशासन पढ्छौं, तर देशमा के भइरहेको छ, नेताहरू के गरिरहेका छन्, हाम्रो भविष्य कस्तो बन्दैछ भन्नेबारे अपडेट हुनैपर्छ,’ उनी थप्छिन् ।
देश र नयाँ पुस्ताको भविष्यलाई लिएर उनीभित्र गहिरो मनन छ । ‘यो हाम्रो देश हो, हामी नै भविष्य हौं,’ उनी आशालाग्दो लवजमा आत्मसमीक्षा गर्छिन्,‘प्रोटेस्ट मात्रै गरेर हुँदैन, बुझेर बोल्नुपर्छ । वरिपरि के भइरहेको छ थाहा पाउनुपर्छ । गलत देखे बोल्ने साहस राख्नुपर्छ, किनकि हामीले नगरे कसले गर्छ ?’
पुनश्च: तेजस्वी नाबालिग भएका कारण उनकी आमासँगको सहमतिमा गरिएको कुराकानीको आधारमा हामीले यो सामग्री तयार पारेका हौँ ।
