राजधानीमै पर्यटक बसपार्कको अभाव

राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको ठमेल क्षेत्र वरपर नै बसपार्क निर्माण गर्नुपर्ने व्यवसायीको माग छ ।

मंसिर २८, २०८२

रासस

Lack of tourist bus parks in the capital

What you should know

काठमाडौँ — संघीय राजधानी काठमाडौंमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा त्यस्ता गाडीलाई समस्या भएको छ ।

पर्यटक बसका लागि व्यवस्थित पार्क नहुँदा काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सडकछेउमा पार्क गर्नुपर्ने अवस्था छ ।

तीन दशकदेखि काठमाडौँको कान्तिपथ सडकलाई पर्यटक बसपार्कका रुपमा सञ्चालन गर्दै आए पनि २०७५ असार १६ गतेदेखि सोह्रखुट्टेको सडकमा सारिएको थियो । महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भिडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेको थियो । 

हाल पर्यटक बस काठमाडौँदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी  र जनकपुरलगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि करिब एक सय बस सञ्चालन हुँदै आएका छन् ।ती सवारीसाधनले दैनिक तीन हजारको हाराहारी स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्‍याउँदै आएका छन् ।

सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् । टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिबान) का अध्यक्ष भीष्म न्यौपाने सरकारले पर्यटक बसलाई उपेक्षा गरेको बताउँछन् ।

'सरकारले पर्यटनमार्फत मुलुकको अर्थतन्त्रलाई उकास्ने भनिरहेको छ, तर पर्यटक बसका लागि पार्किङ गर्न छुट्टै पार्क नहुँदा समस्या परेको छ,' उनले भने । राज्यले पर्यटकीय बसपार्कले पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको भए पनि नेपालमा भने विकास नगरेको उनले बताए ।

सरकारले राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्र वरपर नै बसपार्क निर्माण गर्नुपर्ने अध्यक्ष न्यौपानेले माग गरे । 

टिबानका पूर्वध्यक्ष एवं बाबा एड्भेञ्चर प्रालिका सञ्चालक प्रह्लाद लोहनी पर्यटक बसको बसपार्क निर्माणका लागि टिबानले पहिलेदेखि नै सम्बन्धित निकायमा झकझक्याउँदै आए पनि हालसम्म बसपार्क निर्माण हुन नसकेको बताउँछन् । सरकारले पर्यटक बसपार्क निर्माणका लागि आवश्यक चासो नदिएको उनको भनाइ छ ।

व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।

रासस

Link copied successfully