लुम्बिनीमा सकियो तीनदिने ‘विश्व शान्ति कार्यक्रम’

अध्यात्मदेखि एआईको प्रयोग, कार्बन उत्सर्जनका चुनौती तथा विश्व शान्ति-समृद्धि लगायतका विषयमा बहस भएको थियो ।

मंसिर २७, २०८२

कान्तिपुर संवाददाता

Three-day 'World Peace Program' concludes in Lumbini

What you should know

लुम्बिनी — ‘विश्व शान्ति कार्यक्रम’ लुम्बिनीमा शनिबार सम्पन्न भएको छ।

तीन दिनसम्म चलेको कार्यक्रममा शान्ति र समृद्धि, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय लगायतका विषयमा बहस भएको थियो। लुम्बिनीमा बौद्ध संस्कृतिको विकास, संस्थान र विश्वविद्यालयहरूको आरोह-अवरोह, कार्बन उत्सर्जनका चुनौती र न्यूनीकरणका उपायबारे पनि विभिन्न सत्रमा छलफल चल्यो। अध्यात्मदेखि एआईको प्रयोग र यसको चुनौतीका विषयमा पनि वक्ताहरूले आफ्ना अनुभव सुनाए ।

उद्घाटनको पहिलो दिन अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स हलमा संयुक्त राष्ट्रसंघकी शान्ति राजदूत वुलुओ हाईका आध्यात्मिक,प्रकृतिपरक र चिनियाँ परम्परागत गीत–संगीतले हल गुञ्जायमान भएको थियो। नेपालकी लोकप्रिय सितारवादक सीता मैया राजचलसहितको ब्यान्डले नेपाली मौलिक धुन पस्किँदा दर्शकहरू मन्त्रमुग्ध बने । साथमा परम्परागत वाद्ययन्त्रका अध्येता तथा गायक लोचन रिजालले आफ्नो प्रस्तुति दिएका थिए।

Three-day 'World Peace Program' concludes in Lumbini

कार्यक्रममा सहभागी अभिनेता राजेश हमालले 'कि नोट स्पिच' मा निराशामा पनि खुसीलाई आत्मसाथ गर्ने क्षमता नेपालीहरूमा भएको बताए । 

प्राकृतिक स्रोतहरूको सदुपयोग गरी दिगो विकासलाई प्रवर्द्धन गर्दै विश्वव्यापी कार्बन उत्सर्जनमा कसरी लाग्ने विषयमा पनि बहस भएको थियो । 

Three-day 'World Peace Program' concludes in Lumbini

विश्व शान्ति कार्यक्रममा भाग लिन आएका इथियोपिया पूर्वप्रधानमन्त्री ताम्रत लेइनले लुम्बिनी विकास गुरुयोजना, लुम्बिनीमा भएको उत्खनन, संरक्षण प्रयास, लुम्बिनीको पुरातात्त्विक ऐतिहासिक महत्वबारे चासो राख्नुका साथै मायादेवी मन्दिर भ्रमण गरेका थिए। 

पहिलो दिनको सत्रमा ताम्रतले आध्यात्मिक रूपान्तरण, नेतृत्व, विश्व शान्तिको सिकाइ तथा समुदाय सशक्तीकरणसम्बन्धी संवाद गरे। दोस्रो दिन लुम्बिनी बौद्ध विश्वविद्यालयको हलमा उनले विश्वविद्यालयमा हुने राजनीतिकरण र सुधारका उपाय, संस्थानहरूको निर्माण, न्याय र शान्तिका विषयमा चर्चा गरेका थिए।

Three-day 'World Peace Program' concludes in Lumbini

कार्यक्रमकै दौरान रामग्राममा विश्व शान्तिको कामना गर्दै विभिन्न देशबाट आएका बुद्धिस्ट र अतिथिहरुको सहभागितामा दीप प्रज्वलन गरिएको थियो ।

कार्यक्रममा इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेइन, ट्रेजर कार्बन ग्रुपकी सीईओ सुसन झु, अन्तर्राष्ट्रिय पर्यटन विज्ञ मार्टिन हाङ, लुम्बिनीका अध्येता वसन्त विडारी, पर्यटन बोर्डका सुनिल शर्मा, सागर भन्ते, काठमाडौं विश्वविद्यालयका उद्धव पौडेल, मनोज शाक्य, दोभान राई, बालकृष्ण बल, एलपी भानु शर्मालगायतका विषयविज्ञले विभिन्न सत्रमा आफ्नो प्रस्तुति र विचार राखेका थिए । चीन, भारत, भियतनाम, इन्डोनेसियालगायतका देशका उद्योगी, व्यवसायीको पनि कार्यक्रममा सहभागिता थियो । 

आयोजक द प्रमिस ल्यान्डका अध्यक्ष निकेश अधिकारीले विश्वमा शान्ति सद्भाव र लुम्बिनीको पर्यटन प्रचारका लागि कार्यक्रमको आयोजना गरिएको बताए । यस्ता कार्यक्रमले वैदेशिक लगानी भित्र्याउन पनि सहयोग पुग्ने उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully