तत्कालीन समयमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई २३ गतेको घटनामा किन बल प्रयोग भयोदेखि सुरक्षा निकायले जेन–जीहरुको प्रदर्शनलाई कम बल प्रयोग गर्न किन सकेन सम्मका विषयमा प्रश्न सोधेको छ ।
What you should know
काठमाडौँ — भदौ २३ र २४ गतेको घटनामा जाँचबुझ गर्न गठन भएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीको बयान लिएको छ।
आयोगले शुक्रबार कार्कीसहित चार जनाकै बयान सकेको हो । बिहीबारदेखि बयान जारी रहेका तत्कालीन गृहसचिव गोकर्णमणि दवाडी, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, तत्कालीन काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल र आईजीपी कार्कीसँग बयान लिइएको प्रवक्ता विज्ञानराज शर्माले बताए ।
तत्कालीन समयमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीलाई २३ गतेको घटनामा किन बल प्रयोग भयोदेखि सुरक्षा निकायले जेन–जीहरुको प्रदर्शनलाई कम बल प्रयोग गर्न किन सकेन सम्मका विषयमा प्रश्न सोधेको छ ।
शुक्रबार उनीहरूको बयान सकेर प्रहरी महानिरीक्षकको पनि बयान सकिएको आयोगका प्रवक्ता शर्माले जानकारी दिए । उनको अनुसार अब तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने पालो आएको छ । आयोगले उनीहरूलाई आयोगमा बयान दिन आउनुहोला भनेर पत्र लेख्ने अनि बयान लिने शर्माले बताए ।
शुक्रबार तत्कालीन गृहसचिव, पूर्व आईजीपी र वर्तमान आईजीपीको बयानमा एकै प्रकृतिका जवाफ आएको आयोग स्रोतले जनाएको छ । उनीहरूले २३ गते बाध्यात्मक अवस्थामा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली प्रहार भएको स्वीकार गरेका छन् ।
आयोगको कार्यालय सिंहदरबार पुगेर बिहान ११ बजेदेखि बयान भएको थियो । आयोगले शुक्रबार नै काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई पनि पुन: बयान लिएको थियो । यसअघि लिएको बयानमा केही कुरा नपुगेपछि पुन: बोलाइएको थियो ।
आयोगले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई पनि यही साता बयानका लागि बोलाउने तयारी गरेको छ । आयोगले सुरुमा फिल्डमा रहेका प्रहरीहरूको बयान लिएको थियो । त्यसपछि अधिकृत हुँदै नीतिगत तहमा रहेकाहरुको बयान लिने काम गरेको थियो ।
