डेढ घण्टाभित्रै काटिए सामुदायिक वनका डेढ सय रूख

करिब १० हेक्टरमा फैलिएको वनभित्र सिसौ, खयर र कञ्जुका रूख फँडानी गरिएका हुन् । वनमा यति धेरै रूख कसले किन काट्यो भन्ने खुल्न सकेको छैन । 

मंसिर २६, २०८२

चित्रांग थापा, भवानी भट्ट

150 trees from community forest cut down within an hour and a half

What you should know

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरस्थित गौरीघाट सामुदायिक वनमा डेढ घण्टाभित्रै सयौं रूख काटिएका छन् । करिब १० हेक्टरमा फैलिएको वनभित्र सिसौ, खयर र कञ्जुका रूख फँडानी गरिएका हुन् । वनमा यति धेरै रूख कसले किन काट्यो भन्ने खुल्न सकेको छैन । 

चारैतिर ग्राभेल सडकको बीचमा रहेको उक्त सामुदायिक वनमा स्थापनाकालदेखि नै फाट्टफुट्ट रूख काट्ने क्रम चलिरहेको थियो । बेवारिसेजस्तै रहेको सामुदायिक वनबाट विवाह, व्रतबन्धदेखि दाहसंस्कार र वनभोजका लागि दाउरा लैजाने गरिन्थ्यो । ११ मंसिरको दिउँसो भने डेढ घण्टाभित्रै वन सखाप गरिएको हो । कसैले रूख काटेर लगेका छन्, केही वनमै छाडिएको छ । 

यसअघि सामुदायिक वन क्षेत्रमा वडा कार्यालय निर्माण हुँदा होस् वा निर्माणाधीन अवस्थामा रहेको आधारभूत स्वास्थ्य चौकी बनाउँदा उपभोक्ता समितिका पदाधिकारीलाई जानकारी दिइएको थिएन । उपभोक्ता समितिले नै यसबारे चासो राख्ने गरेको पाइँदैन । जनप्रतिनिधिले पनि वास्ता नगरेको स्थानीय बताउँछन् ।

‘यो वन विगतदेखि यस्तै थियो, एक/दुई रूख काटिने गरेकै हो, मर्दापर्दा जतिबेला पनि सबैले यही वनबाट रुख काटेर लैजाने गर्थे,’ गौरीघाट सामुदायिक वन उपभोक्ता समितिका सचिव राजेन्द्र अवस्थीले भने, ‘समिति दुई/तीन वर्षदेखि निष्क्रिय थियो, बैठक पनि बसेको थिएन, वन बेवारिसेजस्तै थियो ।’ उनका अनुसार अहिले रूख कसले काटेर लग्यो भन्ने विषयमा केही जानकारी छैन । 

सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष कुमारी बोहराले पनि रूख फँडानीबारे केही जानकारी नभएको बताइन् । उनले त्यो बिहानै आफू धनगढी गएको र साँझ फर्किंदा वन फँडानी भएको देखेको बताइन् । ‘कसले किन काट्यो, केही थाहा भएन, हामी पनि मान्छे खोजिरहेका छौं,’ बोहराले भनिन्, ‘अहिलेसम्म केही पत्तो लागेको छैन ।’

बस्तीको बीचमा रहेको सामुदायिक वनबाट दिउँसै सयौं रूख काटिँदा वन कार्यालयका कर्मचारी र जनप्रतिनिधि बेखबरजस्तै थिए । वडा नं ७ को कार्यालय सामुदायिक वनकै हाताभित्र छ । आसपास रहेका सबडिभिजन वन कार्यालयका कर्मचारी पनि वन फँडानीबारे सामाजिक सञ्जालमा आएपछि मात्र थाहा पाएको बताउँछन् ।

‘प्रहरीले पनि खबर गरेपछि हामीले फिल्ड अनुगमन गरेका छौं,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डीसीले भने, ‘जनप्रतिनिधिदेखि स्थानीय सबैको मिलेमतोजस्तो देखिन्छ । होइन भने वडा कार्यालय छेउमै भएको वन फँडानीबारे किन जनप्रतिनिधि चुप बसे ?’ सामुदायिक वनको जमिन हत्याउन वन फँडानी गरिएको उनको आरोप छ । 

डिभिजन वन कार्यालयले सबडिभिजन वन कार्यालय वाणीका प्रमुख वन अधिकृत भरत शाहलाई अनुसन्धान अधिकृत तोकेको छ । शाहले कटान भएका रूखको संख्या गणनादेखि काठ बरामद गर्ने र सामुदायिक वनका पदाधिकारीको बयान लिनेलगायतका काम भइरहेको जानकारी दिए । ‘सामुदायिक वनका अध्यक्ष र सचिवको बयान लिइएको छ । अरूको पनि बयान हुँदै छ,’ उनले भने ।

शाहका अनुसार १६ देखि ८४ इन्च मोटाइसम्मका खयरका १ सय ३५, २४ इन्चदेखि ६४ इन्च मोटाइ भएका सिसौका २८ र कञ्जुको १ गरेर १ सय ६४ रूख काटिएका छन् । खयर १ सय १ दशमलव ५५ क्युफिट र सिसौ ८१ दशमलव ०३ क्युफिट बरामद गरिएको छ । अन्य काठ पनि खोजी भइरहेको छ । ‘काठभन्दा पनि सामुदायिक वनको जमिन हत्याउने प्रपञ्चजस्तो देखिन्छ, धेरै कुरा अनुसन्धानबाट खुल्दै जाला,’ शाहले भने, ‘अहिले पनि गाउँमा वन फँडानीबारे कसैले बोल्न मानेका छैनन्, सामुदायिक वनका पदाधिकारी र सदस्यसमेत यसबारे बोलेका छैनन् ।’ 

मोहना नदी किनारको बगरमा २०५५ मा स्थानीयले नै वृक्षरोपण गरेर वन हुर्काएका हुन् । बेलाबेलामा सुकुम्बासी र मुक्त कमैयाका नाममा वन अतिक्रमणको प्रयास हुँदा स्थानीयले नै उनीहरूलाई लखेटेका थिए । २०६२ मा वन दर्ता भएर समुदायलाई हस्तान्तरण गरिएको हो । आर्थिक वर्ष २०७५/०७६ मा सामुदायिक वनको पहिलो कार्ययोजना निर्माण गरिएको थियो । अहिले रहेको समितिले ३ वर्षमा एउटा बैठक वा साधारणसभासमेत गरेको छैन । त्यसअघिको समिति पनि निष्क्रियजस्तै रहेको स्थानीय बताउँछन् । 

पछिल्लो पटक उक्त क्षेत्रमा करिब डेढ अर्ब लगानीमा प्राविधिक कलेज खोल्ने तयारी भइरहेको छ । कृष्णपुर नगरपालिकाले यस विषयमा पटक–पटक अध्ययन र अनुगमनसमेत गरिसकेको छ । प्राविधिक कलेज स्थापना हुने भएपछि जमिनको मूल्य बढ्ने देखेरसमेत भूमाफियाले वन फँडानी गरेर जमिन हत्याउन प्रपञ्च रचेको हुन सक्ने वनकर्मीहरू बताउँछन् । प्रायः राजनीतिक संक्रमणका बेला वन फँडानीका घटना हुने गरेका छन् । गौरीघाटको वन फँडानीमा पनि भूमाफियाले यस्तै मौका छोपेको हुन सक्ने उनीहरू बताउँछन् । 

चित्रांग थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully