पत्रकार ढुंगानाले सामाजिक विषयवस्तु र जोखिमयुक्त अवस्थामा फोटोहरू कैद गर्दै आएका छन् । गत २३ भदौंमा जेनजी आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि गोली लागेर घाइते भएका थिए ।
What you should know
काठमाडौँ — फोटो पत्रकार दीपेन्द्र ढुंगानाका तस्विरहरु बिहीबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा प्रदर्शनीमा राखिएको छ । 'वी केयर' शीर्षकमा यो प्रदर्शनी आयोजना गरिएको हो ।
नेपाल मानवअधिकार चलचित्र केन्द्रले आयोजना गरेको १३ औं मानवअधिकार चलचित्र महोत्सवका दौरान तस्विरहरु प्रदर्शनीमा राखिएको छ ।
शुक्रबारदेखि २८ गतेसम्म यी तस्विरहरू चलचित्र विकास बोर्डमा प्रदर्शनीमा राखिनेछन् । २९ गते फेरि पर्यटन बोर्डमै समापन कार्यक्रम गरिनेछ ।
ग्रामिण महिलाका दैनिकी र घरायसी कामलाई क्यामेरामा कैद गरिएको छ । काभ्रेको भुम्लु गाउँपालिका–१ बस्ने ३१ वर्षीया राधिका पहरी र उनको परिवारको दैनिकीलाई दीपेन्द्रले क्यामेरामा उतारेका हुन् ।
'ग्रामिण महिलाले बिहानदेखि बेलुकीसम्म गर्ने कामलाई यसमा देखाएको छु । बिहान उठेर दैलो पोत्ने, पशु–चौपायालाई कुडो बनाउने र खुवाउने, बालबालिकालाई स्याहार गर्ने र स्कुल पठाउने र त्यसपछि घाँस दाउरा गर्ने काममा महिला संलग्न हुन्छन्,’ दीपेन्द्रले भने,‘शहरका मानिसहरु कार्यालय जानका लागि तयार हुँदासम्म ग्रामिण महिलाहरुले धेरै काम गरिसकको हुन्छन् । र, बेलुकीसम्म पनि उनीहरुको काम सकिएको हुन्न । तर, घरायसी कामको हिसाब अर्थतन्त्रमा देखिदैंन । समाजले यसको हिसाब राख्न र यसलाई सम्मान र महत्वका साथ हेर्न जरुरी छ । त्यसका लागि दबाब सिर्जना गर्न मैले ग्रामिण महिलाको जीवनलाई प्रदर्शनीको मुख्य विषयवस्तु भएको हुँ ।’
